खोलाछेउका सुकुमबासी बस्तीमा बाढीको त्रास : २२ करोड खर्चेर बनाइएका गरिबका आवास भने ६ वर्षदेखि अलपत्र

प्रकाश धौलाकोटी

 

उपत्यकाका खोलानदीमा पानीको सतह बढ्नासाथ किनाराका सुकुमबासी बस्ती डुबानमा पर्छन् । सहरी गरिबलाई लक्षित गरेर काठमाडौं इचंगुनारायणमा बनाइएका साँघुरा अपार्टमेन्ट भने पाँच वर्षदेखि अलपत्र छन् ।

खोलाकिनारका बस्ती व्यवस्थापनमा ठोस काम नहुँदा र त्यहाँका बासिन्दालाई अपार्टमेन्टमा सार्न नसक्दा यी बस्तीमा बर्सेनि बाढीले ताण्डव मच्चाउँछ । काठमाडौं महानगरपालिका–११ वंशीघाटस्थित सुकुमबासी बस्ती त्यसको उदाहरण हो, जहाँ ५ साउनमा पसेको भेलले २९ परिवारलाई विस्थापित बनायो । अन्य एक सय ९० परिवारका छाप्रामा दुई फुटसम्म पानी जम्यो । ‘वर्षायाम कुर्नै पर्दैन, अलि ठूलो पानी पर्नासाथ बस्तीमा भागदौड मच्चिन्छ,’ स्थानीय उमा महत भन्छिन् ।

बागमती किनारको बस्तीमा सधैँ बागमतीकै पानी पस्ने भने होइन । नदीकिनारमा निर्मित ढल फुट्दा पनि बाढीको रूप लिन्छ र बस्ती डुबाउँछ । ‘पानी परेपछि ढलमा सडकको भेल पनि थपिन्छ,’ वंशीघाट टोल विकास समितिकी सचिव बिना बुद्धाचार्य भन्छिन् । उनका अनुसार बाढीले उठीबास लगाएका परिवारसामु फेरि त्यही छाप्रो मर्मत गरेर बस्नुको विकल्प छैन । ‘यहाँका अधिकांश मानिस सुन्धारामा फुटपाथ व्यापारी, ज्यामी, मजदुर र घरेलु कामदार छन्,’ उनी भन्छिन्, ‘अहिले कोरोनाले रोजगारीसँगै गाँस पनि खोसिएको छ, यही बेला बाढीले पनि उठीबास लगायो ।’

प्रकाशित मिति: : 2020-08-23 07:40:37

प्रतिकृया दिनुहोस्