राष्ट्रकवि माधवप्रसाद घिमिरे हरेक वर्ष कुसे औंसीको बिहानै जुरुक्क उठ्नासाथ श्रीमती महाकालीलाई भन्थे, ‘ल तिमीलाई उपहार के चाहिन्छ ? ’ अनि, आँगनमा फुलेका फूल सुम्सुम्याउन पुग्थे। मन परेको फूल टिप्थे र भन्थे, ‘ल लेऊ जन्मदिनको उपहार !’
तर यो जन्मदिनमा सधैंझैं फूल दिने उही प्रियलाई महाकाली अन्तिमपटक फूलका गुच्छाले श्रद्धाञ्जली दिन बाध्य भइन्। फूलसँग अन्तरंग कुराकानी गर्ने राष्ट्रकविले लेखेकै छन्, ‘फूलको थुँगा बहेर गयो गंगाको पानीमा..।’ उनलाई श्रद्धाञ्जली दिन पुगेकाहरूले अन्तिम विदाई गरेका फूलहरू पनि बागमती नदीमा बगिरहेका थिए, कहिल्यै नफर्कने गरी जसरी गए राष्ट्रकवि सदाका लागि।
नहाँसुँ भने सखीलाई पीर मै हाँसुँ कसरी
रोउँला राति भनेर आँसु मै साँचूँ कसरी...।