बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको फोक्सोको क्यान्सरको उपचार देशभित्रै हुने भएको छ।
उनको श्रीमती मान्यता दत्तले मंगलबार राती एउटा विज्ञप्ती सार्वजनिक गर्दै सञ्जयको प्रारम्भिक उपचार मुम्बईमै हुने जानकारी दिइन।
यसअघि सञ्जय आफ्नो बहिनी तथा श्रीमतीसँगै मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारका लागि गएका थिए। मान्यताले सञ्जयलाई मन पराउने उनका शुभचिन्तकहरूलाई धन्यबाद भनेकी छिन्।
उनले शुभचिन्तककै कारण सञ्जय यति ठूलो स्टार भएको र रोगबाट लड्न पनि शुभचिन्तकको प्रार्थना महत्वपूर्ण हुने बताएकी छिन्।
सञ्जयकी बहिनी प्रिया परिवारद्धारा सञ्चालित क्यान्सर फाउन्डेसनसँग दुई दशकदेखि संलग्न छिन्। यसैले सञ्जयको उपचारमा उनको भूमिका महत्वपूर्ण हुने मान्यताले बताएकी छिन्।
सञ्जयकी आमा नरगिसको पनि क्यान्सरकै कारण निधन भएको थियो। मान्यताले कारोना भाइरसको संक्रमण नियन्त्रणमा आएपछि अर्को निर्णयमा पुग्ने बताएकी छिन्।
सञ्जयलाई तेस्रो चरणको क्यान्सर भएको दावी गरिएको छ। उनी स्वास फेर्न गाह्रो भएपछि ८ अगस्टमा पहिलो पल्ट अस्पताल भर्ना भएका थिए।
उनलाई सुरुमा कोरोनाको आशंका गरिएको थियो। तर, रिपोर्ट नेगेटिभ आएपछि एकाएक फोक्सोको क्यान्सरको समाचार बाहिरियो।