अमेरिकामा एकथरी मान्छे सधै हतारमा हुन्छन्। यस्तै हतारिने मध्येकी एउटी साथी हुन्, बेली। उनी सधैं पसलमा दगुरेर आउँछिन्। हस्याङ्फस्याङ् गर्दै चाहिएको सामान किन्छिन्। र, जुन रफ्तारमा आएकी हुन्, उही रफ्तारमा फर्किने गर्छिन्।
उनी आफैंमा फरासिली छिन्। तर, फूर्तिली बेलीको बोली भने तोते छ। ट्याटु खोप्न सौखिन भएर होला उनको बक्षस्थलमा समेत फूली छ। प्रायः मसँग आफ्ना भोगाई निःसंकोच सुनाउँछिन्। मौका जुरेसम्म म उनलाई जिस्काउने गर्छु, विशेष उनको श्रृङ्गारलाई लिएर। उनी श्रृङगार गर्नुको कारण निर्धक्क बताउँछिन् ‘श्रीमानलाई खुशी बनाउँन।’ राम्रो–नराम्रो मान्छेको बुझाईमा फरक पर्ने विषय हो, सायद उनलाई यसको हेक्का छैन।
कोभिड–१९ अमेरिकामा पसिसकेको थिएन। जनवरी हुनुपर्छ, एकदिन उनी हतारिएर मेरो स्टोरमा आइपुगिन्। त्यो दिन उनी अन्य दिनजस्तो हँसिली थिइनन्। केही नभनी समान किनेर सरासर बाहिरिइन्। अर्को दिन पनि उनको अनुहारमा उस्तै निरासा थियो। उनको.अनुहारमा चिन्ताका रेखा सजिलै पढ्न सकिन्थ्यो।
‘तिमीलाई सन्चो छैन कि क्याहो?’ मैले सोधें, ‘के भयो? म केही सहयोग गर्न सक्छु कि?’
मेरो प्रश्न सुनेपछि उनी टक्क उभिइन् र यताउता हेर्दै भन्न थालिन्, ‘खै के भनु, आमालाई डाक्टरले बचाउन अब कठिन छ भनिरहेका छन्। यता श्रीमान् रिसाईरहन्छन्। समयमा घर आइरहेका छैनन्। बानी अलि फरक भएजस्तो लाग्दैछ। जीवनमा आउने घटना थाहा पाउनै नसकिने। रातभरी सुतेकी छैन। हिजो साँझ घर आउदा श्रीमानले यो घरमा तिमीलाई ठाउँ छैन भनेर घरभित्र पस्न दिएनन्।’
उनको यो कुरा सुनेपछि मेरो दिमाग नै रन्थनियो। सोचेँ– जहाँ भए नि नारीको अस्तित्वको अवमूल्यन हुने रहेछ कि क्या हो! उनको कुरा सुनेपछि मलाई रिस मात्र उठेन, भित्रभित्रै मन नराम्ररी कुँडियो। र मनमनै आफैंलाई प्रश्न गर्न थाले, ‘नारी चाहिएका बेला खेलाउने खेलौनाका रुपमा कहिलेसम्म उपयोग भइरहनुपर्ने होला?’
फेरि सम्झिएँ समयलाई। प्रेम, सद्भाव, माया, ममता, इमान अहिले सबै पैसामा जोखिएका छन्। बेलीको भोगाई पनि त्यसैको प्रभाव होला भन्ने लाग्यो। विश्व समाज ‘भाले नियन्त्रित परिस्थिति’ ले जकेडिएको चित्रले मलाई फेरि घोतल्यो।
बेलीले विवाह गरेको दश वर्ष भइसकेको रहेछ। आफ्ना भोगाई सुनाउँदै गर्दा उनका आँशु रोकिएनन्। आँखाबाट बगेको आँशु चिउँडो हुँदै बक्षस्थलमा थोप्लिए। उनको गला अवरुद्ध भयो। मैले बेली र उसको श्रीमानलाई चिनेको एक–डेढ वर्ष भयो। उनीहरु आफ्ना कुरा ढुक्कसँग बिसाउँछन्। मलाई बेली कुनै बेला लतमा फसेकी महिला होलिन् भन्ने लागिरहन्थ्यो र सोधेकी थिएँ।
उनलाई परेको चोटसँगै उनको विगत मेरो मस्तिष्कमा ‘सिनेमाको रिल’ जस्तै फनफनी घुमेँ। सौतेलो बाउबाट बलाकृत बेलीले अठार वर्ष हुँदा घर छोडेकी रहेछिन्।
अविभावक नै नरभंक्षी बनेपछि जीवनप्रतिको वितृष्णाले सडकलाई नै घर बनाउन बाध्य भएकी थिइन्, उनी। सडक सबैको साझा हो। जहाँ जस्ता मान्छेले पनि शरण पाउ“छन्। भोक मेटाउन उनले फोहरमा अरुले फालेको खाना पनि टिपेर खाइन्। अनगिन्ती रात भोकै आकाश मुनी सुतिन्।
सडकमा बस्नेको संगतले उनलाई दश वर्ष लागू औषधको दूर्व्यसनी बनायो। उनी त्यसैमा अभ्यस्त बनिन्।
दुःख र सुख सधै रहँदैन भनेजस्तै दूर्व्यसन सुधार कार्यक्रममा टोनी भेटिए। टोनी पनि कुलतमा फसेका व्यक्ति थिए। उनी भने छिटै सम्हालिए। बेली समय र परिस्थितिको परीक्षा दिँदै नरकीय जीवनमा रुमलिएर बाहिर निस्केकी रहिछन्। टोनीले विहेअघि बेलीसँग बाचा गरेका रहेछन्– आउँदा दिनमा सुख–दुःखसँगै बाडौंला, सहौंला।
तर, विहे भएको दश वर्षपछि अस्पतालमा आमालाई भेटेर फर्किँदा बेलीले घरभित्र पस्न पाइनन्।
तीन दिनपछि बेलीका श्रीमान् टोनी पसलमा टुप्लुक्क आइपुगे। टोनीले पछिल्तिर उभिएकी महिलालाई देखाउँदै भने, ‘यी मेरी बालसखा। तपाईँलाई थाहा छ, बेली अब मसँग बस्दिनन्।’
मैले सोधेँ–‘के भयो र त्यस्तो ?’
उनले बेलीको पहिलादेखि लागेको बानी नसुध्रिएको गुनासो गरें। थपें ‘बेलीका व्यवहारका कारण मैले उनलाई स्वीकार्न सकिन। मैले उनलाई धेरै सम्झाएँ तर बानी सुध्रिएन। हुँदाहुँदा आफूजस्ता मान्छेलाई मेरो घरसम्म ल्याउन थालिन्। त्यो मैले सहन सकिनँ।’
उनले सँगै आएकी महिलातिर देखाउँदै भने, ‘यिनी मेरी बालसखा हुन्। स्कुलमा सँगै पढ्थ्यौं।’
गोरो वर्णकी उनी दुई छोरीकी आमा रहिछन्। हाँस्दै भनिन्, ‘म टोनीलाई मन पराउथेँ। तर केही समय हामीसँगै हुन पाएका थिएनौं।’ टोनीले सामान लिएर निस्कदै गर्दा मलाई सोधें, ‘के बेली यहाँ आएकी थिइन्? उनीसँग अब छोडपत्र गर्नुछ।’
टोनीको जीवन अब तमिकासँग शुरु भयो। बेलीसँग जस्तै तमिका र टोनी दुवै पसलमा किनमेल गर्न आइरहन्थे। करीब सात हप्तापछि परिस्थिति फेरि बदिलियो। उनीहरु एकदिन समान किन्दाकिन्दै वादविवाद गर्न थालें। ‘सम्झौता र सहनशीलता कमै जान्ने’ यहाँका मान्छे जस्तै उनीहरुबीच भनाभन भयो।
दुई दिनपछि स्टोरमा आउँदा टोनीले भने, ‘तमिकालाई धपाइदिएँ। बेलीलाई फिर्ता बोलाएँ।’
उनको कुरा सुनेपछि मैल टोनीलाई भने, ‘दुई महिनाअघि बेलीलाई दोष लगायौं। बल्ल चिन्यौं।’ मनमनै मैले उनलाई श्रीमतीको महत्व बुझेंकोमा धन्यवाद भने। टोनीले पनि स्वीकार गरें, ‘उनी मेरी श्रीमती हुन्।’
कुराको सिलसिला टुँगिएकै थिएन। टोनीले बेलीलाई फोन लगाए। फोनबाटै बेलीलाई घर आइपुग्ने समय सोधें। आफू पर्खि बसेको र छिटो आउन आग्रह गरे।
बेली एक हप्तापछि स्टोरमा आइन्। मैले सन्चोविसन्चो सोधेँ। उनले निको भएको बताइन्। तर, पहिला जस्तो हँसिली थिइनन्। उनकोे अनुहारको सुन्दरता हराएको थियो। आत्मविश्वास हल्लिएको थियो। उनी टोनीप्रति निर्धक्क हुन सकिरहेकी थिइनन्। उनी मानसिक रुपमा नराम्ररी गलेको देखिन्थिन्।
विगतलाई सम्झदै गहँभरी आशु पारेर भनिन्, ‘जीवनमा आउने मोडले कहाँ कसरी कोल्टे फेर्छ। के थाहा? हैन र?’
मसँग उनको प्रश्नको उत्तर थिएन। मुन्टो हल्लाएँ र उनलाई एक टकले हेरिरहेँ।