चिरञ्जीवी पौडेल
तपाईंलाई थाहै होला, नेपालको घोषित राष्ट्रिय खेल ‘भलिबल’ हो । तर, अघोषित राष्ट्रिय खेलचाहिँ ‘लुडो’ लाई मान्दा हुने भयो । गाउँघरमा चार–जना टुक्रुक्क बसेर कागजको बोर्डमा खेलिने गरेको यो रमाइलो खेल अहिले स्मार्टफोनमार्फत शहरमा सलहसरी व्याप्त भएको छ ।
नहोस् पनि किन, कुनै खेल सामग्री नचाहिने । खेलाडीको निश्चित संख्या पनि आवश्यक नपर्ने । जहाँ बसेर पनि खेल्न सकिने । खेलाडीहरु एकै ठाउँमा जुट्नु पनि आवश्यक हुँदैन । विदेशमा भएका साथीभाई आफन्तसँग पनि रमाउँदै खेल्न सकिन्छ । त्यसैले त सरकारले कुनै प्रोत्साहन कार्यक्रम नल्याउँदा पनि लुडोको लोकप्रियता उत्कर्षमा पुगेको छ ।
केटाकेटी हुन् वा बुढाबुढी । युवा हुन् वा युवती । सबैलाई भुलाएको छ लुडोले । प्रेममा परेका युवा–युवतीहरु फोनमा कुरा गर्दा–गर्दा थाकेपछि लुडो खेल्न थाल्छन् । बिहान शौचालयको कमोडमा बस्दा नै दुई–तीन राउन्ड लुडो खेल्न भ्याउँछन् कोही । हारेको झाेंकमा कहिलेकाहीँ ट्वाइलेट फ्लस गर्न बिर्सिँदा खप्की खानुपरेको अनुभव सुनाउनेहरु पनि छन् ।
भरपुर मनोरञ्जनको ग्यारेन्टी । उत्साह, निराशा, आक्रोश, चिडचिडाहट, सनसनी… के छैन लुडोमा ? लुडो खेल्दै गर्दा तपाईंलाई परिवारकै सदस्य पनि ‘दुश्मन’ जस्तो लाग्न थाल्छ ।