पढाई केका लागि?

पढेको मान्छे, शिक्षित मान्छे भनेपछि अलग महत्व छ, हाम्रो समाजमा। बुढापाकाहरू आफ्नो पालामा स्कुल जान नपाएर पनि होला, पढेको मान्छेहरु बौद्धिक हुन्छ भन्ने सोच्छन्। फेरि उ बेलामा पढेको मान्छेको कदर पनि हुन्थ्यो! शिक्षा व्यहावारिक पनि हुन्थ्यो रे। थोरै मान्छेले मात्रै पढ्ने अवसर पाउँथे। अवसर पाउनेहरुले राम्रै सदुपयोग गर्थे। हाम्रा ठूलाबुबा काकाहरूलाई नै हेरौं न! पहिले–पहिले स्कुल गका बुढाहरु टुटेफुटेका अंग्रेजी छाट्छन्। अहिले एम.ए पढ्नेहरूले कुरा गर्न सक्दैनन्।

अहिले हामी अधुनिकताको भुमरिमा फसेको छौं। हामी के को लागि पढ्दैछौं? आखिर जागिर गर्नलाई मात्रै हो? कि सबै स्कुल जाने भएर देखाउनलाई पढेको? जीवनको परिभाषा जती फरक हुन्छ, उति नै फरक हुन्छ होला यो प्रश्नको उत्तर मान्छे अनुसार!

०००

पढेको छोरा घर आउँदा गाउँमा हजुरबा, हजुरमा, बा, आमा खुसी हुनु स्वभाविक नै थियो। सधैं घर गएको बेला बेलुकाको खाना खाएपछि परिवार नै बसेर कुरा गर्ने बानी यो पाली पनि जारी रह्यो। पहिले ‘के गर्दै छस् बाबु’ भन्दा पढ्दै छु हजुरबा भन्ने उसले अहिलेको चोटि ‘पढाई सक्यो अब के गर्ने?’ भन्दा हजुरबाले कान ठाडो बनाएको उसले चाल पाइसकेको थियो।

‘कती पास गरिस् नाति? गाउँमा तैंले जती अरूले पढेको छ कि छैन? यात्रो पढिस् है? तलाई पढाउने सरले पनि यति पढेको छैन? अहो! अब जागिर त भनेको पाउँछ होला, मेरो नातिले! मर्ने बेलामा राम्रै कुरा देखेर, सुनेर मर्न पाउने भएँ। धन्य, नाति तैंले परिवारको इज्जत धानेको छस्।’ यस्तै भन्दैथे हजुरबा। अब हजुरबा अगाडि के भन्नु? कसरी सम्झाउने, बुझाउने? भन्ने पिरले उसलाई त्यहीँ पिरले सताएको थियो। अब घरमा सबैको अगाडि बुझाउन सकिएन भने के भन्लान्? के बुझ्लान् भन्ने पिर पनि परेको छ।

उसले आफैंलाई सोध्यो-मैले किन पढिरको छु? पढ्ने र नपढ्ने मान्छेमा के फरक छ? माथिल्लो घरको भाइले नपढी कोरिया गएर पैसा कमाइरको छ। आफूले अहिलेसम्म एक सुको कमाउन सकेको छैन। हजुरबा मनले त सोच्दो हो नि। धन्न मलाई सुनाएनन् भनेर मन बुझाउँदै थियो। मनमा यसरी कुरा खेलाउदै गर्दा हजुरआमाले पनि थप्नुभयो, ‘अब त नातिको बिहे गर्नुपर्छ।’

‘मेरो नातिले यत्रो पढेको छ केटी त जस्तो भन्यो त्यस्तै पाइन्छ। अली धनी, राम्रो घरको, आफ्नै जातको केटी बिहे गर्नु पर्छ है। हाम्रो रहर यती हो,’ हजुरआमाले पनि थप्नु भयो।

हजुरबा हजुरमासँग रिसाउनु भयो। ‘तँलाई प्याच्च बोल्नुपर्छ बिचैमा कुरा काटेर! मैले नातिसँग कुरा गरिरहँदा त सुनिरहेकी छ्स् नि। यत्रो पढेको नातिको अगाडि अलिकति पनि आदर छैन।’

उसलाई झन् असझिलो महसुश भयो। अब त बोल्नै पर्‍यो। ‘खै हजुरबा भर्खर त पढाई सकियो। अब फेरि पढ्ने हो की जागिर गर्ने हो थाहा छैन?’

 ‘के भन्छ यो? अझै के पढ्ने? जागिर चाँही कहिले गर्छस्? कहिले बिहे गर्छस्? कहिले बच्चा जन्माउँछस्?’ हेर बाबु, हाम्रो पालामा ७–८ वर्षमा बिहे गरिन्थ्यो। तेरो बाउले पनि १६ वर्षको उमेरमै बिहे गरेको। तेरी आमा भर्खरकि थिई। तँ जन्मदाँ तेरी आमा १६–१७ वर्ष पनि भएकी थिइन। अहिले तिमीहरु अझै पढ्नुछ भन्छौ। अझै बिहे गर्दिनँ भन्छौ। त्यहिँ भएर भनेको रहेछ मान्छे बाँची राख्नुपर्छ के के देख्न पाइन्छ पाइन्छ।’

यसरी गरी भलाकुसारी गर्दैमा १० बजिसकेछ। सुत्ने तर्खर हुन लाग्यो। सबैलाई शुभ रात्री भनेर त्यो रात कुनै उत्तर बिनै सुत्न गयो ऊ। सुत्न त गयो। तर ऊ निदाउन सकेन। उसको मनमा प्रश्न उठिरह्यो। किन पढिरको छु म? पढेर मैले के सिकेको छु? जुन कुरा नपढ्नेले सिकेको छैन?

‘धन्य! काठमाडौंमा बसेर चुरोट खाने लत लागेको कुरा हजुरबाहरुलाई थाहा छैन, नत्र मलाई के भन्छन् होला। बुढाले भनेको कुरा त ठिकै होनी, एकै पुस्तामा यति धेरै परिवर्तन आएको छ अनी कसरी बुझुन् त!’ सोच्दै जाँदा कुरा अन्तै पुग्छ फेरि त्यही प्रश्न, अब के गर्ने? पढाई त सक्यो! आदि इत्यादि कुरा सोच्दा सोच्दै रात ढल्कदै थियो।

यो पालिको घर बसाइँ फरक भयो, उसको लागि। एक हप्ता बस्दा धेरै नै मान्छे भेट्यो। सबैले पढाईको बारेमा सोध्ने। ‘बाबु कहिले आउनुभएको? कति धेरै पढ्नु भयो? अब जागिर कहिले खाने? पैसा टन्नै कमाउनुभयो होला है?’ अब घरमा पनि सरसहयोग गर्नुपर्छ बाबु भनेर सम्झाउनेहरु पनि थिए। कतिले त माथिल्लो घरको भाइसँग तुलना गरे, सोधे पनि, ‘त्यो बाबुले भन्दा कति धेरै कमाउँछौ?’

कसैले पनि सोचेनन्, कसैले पनि बुझ्न चाहेनन्। तिमी गाउँमा आएर केही गर्नुपर्छ भनेर, कसैले पनि पनि भनेनन्। सबैलाई जागिर र पैसाको चिन्ता थियो। सायद सर्वसाधणरको बुझाई त्यहिँ भएर होला, ‘मान्छे पैसा र जागिरको लागि अध्ययन गर्छ।’

काठमाडौं फर्केपछि पनि त्यही कुरा मनमा खेल्न लाग्यो। अब अर्को चोटि जाँदा के भन्ने हजुरबालाई? के भन्ने गाउँलेहरुलाई? साँच्चिकै मेरो पढाइको काम नै छैन? के कुराको ज्ञान छ म सँग? के कुरा सिके मैले? आफैंमा अनुत्तरित प्रश्नहरुको चाङ लाग्न थाल्यो। यसैगरी हप्ता दिन बित्यो। जागिरको रहर थिएन उसलाई पहिलेदेखि। फरक यति थियो कि पहिले जीवनको बारेमा यति धेरै सोच्दैन थियो, अहिले अलिक बढी सोच्न थाल्यो। जीवन त के भन्नु भविश्यको बारेमा।

एक हप्तामा उसले विभिन्न साथीलाई भेट्यो। कोही वकिल, कोही इन्स्पेक्टर, कोही सरकारी हाकिम, कोही विदेशमा गएर पढेर, पैसा कमाएर आएका। त्यो माहोलमा कोही पनि खुशी देखेको थिएन उसले। के पुगेन उनी हरूलाई? पैसा? सन्तुष्टि नै छैन, कसैमा! जागिर भएकाहरु त यसरी सोच्छन् म जागिर नभएकोलाई पिर पर्नु स्वभाविक नै हो। मन बुझाउछ। यति मात्र कहाँ हो र? कोही साथीलाई केटीसँग झगडा पर्‍यो भन्ने चिन्ता छ। कोही फेल भए भनेर चिन्तित छन्। कोही पढेर के गर्नु भनेर चिन्तित त कोही जागिर खान पाएन भनेर। काठमाडौंको हुलमा यस्ता पनि मान्छेहरु छन् कि घरबाट काठमाडौं पढ्नलाई पैसा बाले पठाउँछन्, साथी संगत त्यस्तै हुन्छ अनी अरूले झैं बाइक चढ्न पाइन, बार जान पाइन, डिस्को जान पाइन, मेरो घरमा यस्तो टि.भी छैन यस्तो समान छैन उस्तो समान छैन न नाना भारिका पिर चिन्ता लिने हरु धेरै नै छन् र यी सबै पढेका नै छन्, कोही स्नातक, कोही स्नातकोत्तर!

एउटा केटो केटीसँग भेट्न जाँदा साथीसँग पैसा मागेर खर्च गर्छ तर आफूलाई पढ्ने किताब किन्ने पैसा हुन्न। सैद्धान्तिक ज्ञान हुन्छ उसँग, सिकेको हुन्छ तर उल्टै यस्तो कुरा पढेर के गर्ने काम लाग्दैन भनेर वास्ता गर्दैन। यहिँ जमातमा उसले पनि आफूलाई एउटा केटोको रूपमा पायो। यी सबै वास्तविकतालाई केलाउदै जान लाग्यो। सबैको पिर देख्दा, चिन्ता देख्दा उसलाई मनमा नयाँ कुरा आएको झैं हुन थाल्यो। बुद्धका वाँणीहरु सम्झिन लाग्यो। पहिले पढेका कुराहरु दिमागमा आए झैं लाग्न थाल्यो। नैतिक शिक्षा सम्झन लाग्यो।

फेरि चिन्तन गर्छ, के साँच्चिकै मान्छे चुरोट खाएर बिग्रिन्छ? जाँड खाएर बिग्रिन्छ? केको आधारमा मान्छे राम्रो हुन्छ? के के आधारले नराम्रो? धेरै नै यस्ता प्रश्नहरु उसका मनमा उब्जदै थियो कि, सामाजिक रूपमा अरु भन्दा तुलनात्मक गम्भीर र जटिल प्रकृतिका कुराहरु उसको मनमा खेलिरहेका थिए।

यसैगरी दिन बिते, महिना बिते। उसको चेत खुल्यो सायद। अरुलाई सम्झाउन लाग्यो। जीवनलाई अर्थाउने भन्दा पनि जीवनको महत्व बुझाउन तिर लाग्न लाग्यो। पहिले ऊ आफूलाई मानसिक रूपमा सबल बनाउँदै जान लाग्यो। किनकि उसले त्यो कुरा बिर्सेन, मेरो पढाईले म आँफैलाई बुझाउन सक्दैन भने यो पढाईले अरुलाई के बुझाउला र? आखिर बुझ्दै जाँदा जीवन केही हैन, जागिर, धन सम्पत्ति, सुख सुविधा केही होइनन्। यो मान्छेको आवश्यकता हुँदै हैन। गरेर खान मान्छेले सक्छ तर उसले अरुको देखासिकी गर्दैन भने। आखिर पैसा कमाउनेहरु पनि सुखी भएका त कहाँ छन र? काठमाडौंमा घर हुनेहरुलाई घर भाडामा बस्नेहरुले बेमान गर्लान्कि भन्ने पिर छ। भाडामा बस्नेहरुलाई सुबिधा पुगेन भन्ने पिर छ! पिर नभएको को छ र? देश विदेशमा बस्ने सबैलाई एउटै पिर आफूले पाएन। आफूले गर्न सकेन। आफूले कमाएन। उसले यस्तो गर्‍यो। यति कमायो। अनी आफूलाई अरुसँग तुलनामात्रै गर्‍यो!!

यहाँ हाम्रो ठाउँमा स्नाकोत्तर पास गर्नेले पत्रिका बेच्छु भनेर लाग्यो भने ऊ पागल हुन्छ काम नगरि बस्यो भने ऊ सबल हुन्छ।

यहाँ पढ्ने मान्छेहरु नै अबुझ भएका छन्। ठूला ठूला नपुग्ने र नचाहिने इश्र्यालु सोच लिएर हिँड्छन् तर माखो मार्न सक्ने हैनन्। किनकि, सबैलाई ठूलै चाहिएको छ। आखिर किन? किनकि उसलाई पढाईको घमन्ड छ। यति पढ्ने मान्छेले एकचोटी अनपढ भएर सोचोस् त ऊ कहाँ हुन्थ्यो होला? कसरी जिविकोपार्जन गथ्र्यो होला? त्यो बेलामा अष्ट्रेलिया र अमेरिकाको सपना बोक्थ्यो होला? त्यो कता तिर छ नै थाहा पाउदैनथ्यो हो। अहिले सिक्यो तर अपुरो सिक्यो, अल्पज्ञान भयो।

उसलाई अस्ति भर्खर एउटा फुच्चेले भनेको याद छ, पढेर मान्छे हात्ती हुन्छ र? हात्ति पढेर ठूलो भएको हो र? बिल गेट्स्ले पढाई छाड्यो, थोमस अल्बा एडिसन फेल भयो। अरु ठूला व्यक्तिलाई अगाडि ल्याएर पढाईको महत्व बिर्सिन्छन् किन? किनकि उनीहरुले यहाँ बिर्सिए, व्यहावारिक रूपमा सबल हुने मान्छेहरुलाई सैद्धान्तिक ज्ञान चाहिँदैन। आखिर मान्छेले पढ्ने भनेको व्यहावारिक हुन हो। आफूले आर्जेको ज्ञान आफ्नो मात्रै नभै समाजमा अरुलाई बाँढ्नको लागि पनि हो।

अहिलेसम्म पढ्नेहरुले आफूलाई सम्झाउन सकेका छैनन्। परिवारलाई कसरी सम्झाउँछन्? आफ्नो मन नै खुसी छैन, यो संसार कसरी खुसी हुनसक्छ? पहिले आफ्नो जीवनलाई एउटा अवसरको रूपमा लिग्ने हो भने हरेक कुरामा सफलताले कुरिरको हुन्छ भन्ने कुरा बिर्सिन्छ मान्छे।

बाटोमा च्यातिएको पाइन्ट लगाएर हिँड्ने मान्छेले चुरोट खाँदा बिग्रेको हुन्छ, हाई प्रोफाइलको मान्छेले चुरोट खाँदा स्ट्रेस कम गरेको हुन्छ। के यो सहि छ? पढ्नेहरुले कहिले पनि यसरी सोच्दैनन्। पढ्नेहरुले कहिले पनि ठूलो र सानो देख्दैनन्। पढ्नेहरुले आफूले आर्जेको ज्ञानमा भर पर्छन् र भर पर्न सक्दैनन भने यी मान्छेहरुले पढेर अझै पनि बुझ्न सकेका हुँदैनन्।

सुरूमा, अफूलाई परिवर्तन गर्नुपर्‍यो, त्यसपछि आफ्नो परिवारमा आफ्नो स्थान बनाउन सक्नुपर्‍यो। एक पछि अर्को हुँदै बन्दै जान्छ। यसरी सोच्ने मान्छे तल्लोस्तरको जीवन भन्ने होइन, ऊ बिस्तारै सबैको आँखाको नानी हुन्छ। सबैले भन्छ मान्छे भनेको यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ। आखिर मान्छेलाई जीवनमा जती भए पनि पुग्दैन। चप्पल लगाउनेलाई जुत्ता चाहिन्छ। साइकल चालाउनेलाई बाईक चाहिन्छ। बाईक चढ्नेलाई गाडी चाहिन्छ। गाडी चाड्नेहरुलाई उड्ने रहर गर्छन्। उड्नेहरुलाई चन्द्रमा जाने रहर होला। विदेश नजानेलाई विदेशको रहर हुन्छ। विदेशमा हुनेलाई आफ्नै देशमा भएको भए राम्रो हुन्थ्यो भन्ने लाग्ला। पैसा नकमाउन्जेल कमाएन भन्ने पिर। कमाएपछि बढी भएन भन्ने पिर, आखिर मान्छेलाई कहिले पुग्छ?

प्रकाशित मिति: : 2020-08-17 09:27:00

प्रतिकृया दिनुहोस्