धर्म, परम्परा र संस्कृतिबारे नयाँ बहसको आवश्यकता  

जनक बराल

पोर्तुगल

दुर्गेश थापाको ‘बेसार..’ र सोफिया थापाको ‘नो ब्रत प्लीज...’ भन्ने तीज गीतले यतिबेला नेपालमा एक खालको तरङ्ग, बहस र विवादको माहोल सिर्जना गरेका छ।

सामाजिक सञ्जालमा गीतका पक्ष र विपक्षमा आम नागरिक र सरोकारवाला निकायले आ-आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्।

हाम्रो धर्म अनुसार तीजमा मात्र होइन, एकादशी, मङ्गल चौथी, सोमबार र मङ्गलबारसहित अन्य बार (ब्रत लिएकाले मात्र) भोकै बस्ने चलन छ। लोग्नेको लागि मात्रै होइन पञ्च कन्याको गोडाको जल पनि खाने चलन छ। विवाहमा बर तथा बधुको पनि गोडा धोएर जल खाने चलन छ।

एउटा केटा मान्छेले आफ्ना बाबु, आमालगायत मान्यजन सबैको गोडामा ढोग्नुपर्छ भने केटीलाई बिहे अगाडि सबैले ढोग्छन्। बुहारीले सासुलाई ढोग गर्नुपर्छ भने, देउरानीले जेठानीलाई। भाउजु, बुहारीले नन्द, आमजुलाई। कोही कसैको जेठानी होलान्, कसैका बुहारी। यो कुप्रथा हुनसक्ला तर नियम त सबैलाई बराबर हो।

अहिलेको विज्ञान र प्रविधिको युगमा हामीले सदियौँदेखि अँगाल्दै र मान्दै आएका केही चालचलन र रीतिरिबाजमाथि समयसापेक्ष सुधार गर्नुपर्ने माग जायज पनि हुन सक्छन्। केही कुरीति छन्, बिसङ्गती छन् भने त्यसलाई पुनरावलोकन पनि गर्न सकिएला तर आधुनिक र ब्यक्तिगत स्वतन्त्रताको नाममा सिङ्गो सामाजिक परिवेश नै खलल पुर्‍याउने खालका सीर्जना र अभिब्यक्ती कति जायज हुन्, सबैले बेलैमा सोच्नु आवश्यक देखिन्छ।

अहिलेका पुस्ता गुरूकुलमा अध्ययन नगरेका, संस्कृतको आधारभूत अध्ययन र  ज्ञानसमेत नभएकाले पर्व विशेषको गरिमा, महत्व र उक्त पर्व मान्नुका धार्मिक कारण, प्रचलित किम्बदन्ती, तिथि, मिति आदिका बारेमा अनभिज्ञ हुनु स्वाभाविक हो।

चौतर्फी रूपमा सनातन धर्म, संस्कृतिमाथि आक्रमण भइरहेको वर्तमान परिप्रेक्षमा आफूलाई आधुनिक र प्रगतिशिल साबित गर्न खोज्नेले आज तीजमा ब्रत नबसौं भने भोलि रक्षाबन्धनमा जनै नबाधौं भन्लान्, तिहारमा चिसो बियर पिउँ  भन्नेले पछि दसैँ बहिस्कार गरौं भन्लान्।

ज- जसले जेजे भन्दै जान्छन् फाईदाको लागि तिनै विषयलाई मुलधारका मिडियाले मुख्य प्राथमिकता दिनु कती उचित छ, सोच्नुपर्ने बेला आएको छ।

जन्म, मृत्‍यु, विवाहमा हाम्रा जुन परम्परा र मान्यता छन् ती माथि पनि आक्रमण बढ्दो छ। किन न्वारन गर्ने, किन बिहेमा चिना जुधाएर, सात फेरो घुमेर, सिन्दुर हालेर बिहे गर्ने, किन काजक्रिया गर्ने यी अनि यस्ता प्रश्न बढ्दो छन्।

मेरा केही जिज्ञासा,

-सेप्टेम्बर पहिलो साता हाम्रो छोरी जन्मिदैछन्, छोरीको जन्म पूर्व नै अस्पताललाई छोरीको नाम के राख्ने हो भनेर लिखित रूपमा दिनुपर्ने छ। कोरोनाको असर नपरेमा अस्पतालमा नै फोटो खिच्ने छ र त्यसको केही दिनमा हुलाक मार्फत घर मै नागरिकता आउनेछ।

अब छोरीको नाम जन्मेकै दिनमा दिनुपर्ने र त्यहीँ अनुसार नागरिकता बन्ने भएपछि छोरीको चिना, टिपन बनाउनु पर्ला कि नपर्ला? एघार दिनको दिनमा पण्डित बोलाएर न्वारन गर्नुपर्ला कि नपर्ला? छोरीलाई ६ महिनामा अन्न प्राशन गर्नुपर्ला कि नपर्ला?

- युरोपमा जन्मे हुर्केकी ४ वर्षकी मेरी भान्जी दसैँ  मनाउने गरी नेपाल जान्छिन्। नेपालमा गाई, गोरू, बाख्रा सबै देख्छिन। दसैंमा टीका लगाउँछिन्। सबैले टीका लगाएर पैसा दिन्छन्, प्रसाद दिन्छन् अनि गोडामा ढोग्छन्। टीका लगाउँदा आशीर्बादका साथमा पैसा दिएर गोडामा ढोग्नुपर्दो रहेछ अनि टीका लगाइदिँदा दुई हात थाप्नुपर्ने कुरा उनले बुझेर आएकी छन्।

केही दिन अगाडि म उनको घर जाँदा उनले भगवानको थानमा २ वटा अंखोरामा तातो पानी राखिदिइन्। मैले किन तातो पानी राखेको भनेर सोध्दा उनले भनिन,‘आज जाडो छ, भगवानलाई तातो पानी दिनुपर्छ।’ हरेक दिन बिहान राति भगवानले कति पानी पिउनुभयो भनेर हेर्ने गर्छिन्। अनि म हिँड्ने बेला ममीसँग ‘मामा जान लाग्नु भयो, छिट्टै टीका बनाउनुस् अनि टीका लगाएर पैसा दिनुपर्छ’ भन्दै थिइन्।

मेरी जन्मिदै गरेकी छोरी र भान्जी त प्रतिनिधि पात्र मात्रै हुन्। यी अनी यस्तै प्रवासमा जन्मिएका हरेक बालबालिकालाई हामी को हौँ र हाम्रो पुर्खाको संस्कार के हो बुझाउन अति आवश्यक छ। नत्र प्रवासमा दोस्रो पुस्तामै हाम्रो चिनारी मेटिनेछ। अब त नेपालमै जन्मिएका बालबालिकालाई पनि हाम्रो धर्म, संस्कृति र परम्पराको बारेमा सानैबाट बुझाउन अपरिहार्य देखिन्छ।

जन्म, विवाह, मृत्‍युजस्ता संस्कार सम्भब भएसम्म समयानुकुल् बनाउने हो। चाडबाड्लाई कम भड्किलो र विकृति मुक्त गराउने हो। तर यो गर त्यो नगर, यो म मान्दिनँ अरू पनि नमान भन्नु किमार्थ उचित छैन। धर्मका नाममा संसारभर मै विकृति हुन्छन्। कतिपय हेर्दा असहज लाग्ने परम्परा संसार भर नै मौजुद छन्।

हामीलाई बाबु आमाले जन्म दिए, हजुर बुवा आमाले हुर्काए, छिमेकीले समेत हेरविचार गरे। बाबुआमा साक्षात् भगवान मान्ने संस्कारमा हामी हुर्कियौँ। आफू मेलापात जाँदा हाम्रा बाबु आमा हामीलाई छिमेकीको जिम्मामा छोड्नुहुन्थ्यो। एक जना बिरामी हुँदा सारा गाँउले अस्पतालमा पालो गरेर रात कुर्न बस्ने समुदायका उत्पादन हौँ हामी। घरमा खर्च नहुँदा छिमेकीबाट १ माना पिठो पैंचो मागेर ढिँडो खाएर हुर्केका हौँ हामी।

यो लेखकलाई युरोपको जीवनशैलीसँग अभ्यस्त हुन खोज्दा पनि लाग्ने गर्छ संसारमै नेपालका जस्ता सहयोगी र सभ्य जनता कहाँ होलान्? नेपालको जस्तो उदार र खुल्ला हृदय भएका, अर्काको दु:ख पनि आफ्नो देख्ने जन यो ब्रहमाण्डमा कहाँ पाइएलान्? हाम्रो जस्तो विश्व बुझ्नसक्ने चेतना अरूसँग कहाँ होला ?

यो सब हामी हुर्केको समाज, हामीले अंगालेको वैदिक संस्कृति, सभ्यता र संस्कारले गर्दा सम्भब भएको हो। बरू परमाणु बमले ध्वस्त भएको जमिनमा बिरूवा उमार्न सकिएला तर एकपटक धर्म, संस्कार र सभ्यता मासियो भने हामी कहिल्यै ती कुरा फिर्ता गर्न सक्ने छैनौं।

आजका दिनसम्म नेपाल विकास नभएको विकृत राजनीतिले गर्दा हो। धर्म र संस्कारले गर्दा होइन। पूर्वीय संस्कार र सभ्यता धेरै प्राचिन र वैज्ञानीक तथ्य छन् जुन बिस्तारै सबैले स्वीकार गर्दैछन्।

आधुनिक बन्ने नाउँमा यसरी नै आफ्ना धर्म, संस्कारलाई सनकका भरमा छोड्दै जाने हो भने भोलि हाम्रो पहिचान के हुने र हामीले आफ्ना सन्ततीलाई आफ्नो परिचय के दिने, यो विषयमा सबैले बेलैमा सोच्न जरूरी छ।

प्रकाशित मिति: : 2020-08-15 15:00:30

प्रतिकृया दिनुहोस्