डाक्टरको पूर्जा देखाउँदा पनि प्रहरीले बिरामीलाई अस्पताल जान रोक्यो (भिडियो)

डाक्टरको पूर्जि लिएर अस्पताल जान लागेका बिरामीलाईसमेत प्रहरीले अवरोध गरेको छ।

जोर्नी सम्बन्धी समस्याबाट पीडित छोरा प्रकाश साह कानुलाई डाक्टरको समय लिएर जचाउन अस्पताल जान लागेका बाराको रामपुर टोकनीका भैरव प्रसाद साहलाई प्रहरीले बिचबाटै फर्काइदियो।

‘छोरालाई  गेठिया (हाड जोर्नी) को समस्या छ। पाँच वर्षदेखि वीरगन्जकै एक निजी अस्पतालमा उपचार गराउँदै आएको छु। शुक्रबार डा रोशन अलीको क्लिनिकमा छोरालाई देखाउने फोनबाटै पूर्जा कटाइसकेछो थिएँ, उनले बिएल नेपाली सेवासँग भने, ‘डाक्टरले बिहान ११ बजेको समय दिएको थियो। हतार हतार डाक्टरले दिएको समयमै पुग्न जाँदै थियौं प्रहरीले जानै दिएन।

उनका १२ वर्षिय छोरा प्रकाशलाई जोर्नी सम्बन्धी रोग (गठिया)ले दुःख दिएपछि केही दिनदेखि उठ्न बस्नमा समस्या भएको छ। उनको नियमित औषधिसमेत सकिएकाले थप कठिनाइ भएको छ।

शुक्रबार बिहान डाक्टरको पूर्जासहित उपचारका लागि वीरगन्ज आउन लाग्दा प्रहरीले गाली गलौज गर्दै आउन नदिएको उनले गुनासो गरे।

 ‘बारामा पनि निषेधाज्ञा छ तर पूर्जि देखाएपछि प्रहरीले कतै रोकेन। यता पर्सामा भने गण्डक, पावरहाउस र मुर्ली चोकमा खटिएका प्रहरीले डाक्टरको पूर्जि देखाउँदा पनि अस्पताल जान रोके,’ उनले भने।

बिरामीलाईसमेत अस्पतालमा उपचार गराउन नपाउने हो भने हामी के गर्ने भन्दै उनले आक्रोश पोखे। ‘डाक्टरले दिएको पूर्जि देखाउँदा पनि पिट्ने र फोहोर फोहोर शब्दले गाली गर्दै धम्की दिन्छन्, रहरले को बाहिर निस्कन्छ र उपचार गरेर बाँच्न पनि नपाउने?,’ उनले गुनासो गरे।

छोरालाई समस्याले थप पीडा दिएपछि उनी गण्डकदेखि गल्लीको बाटोहुँदैं पावरहाउस पुगे तर  त्यहाँ पनि उनलाई प्रहरीले फोहोरफोहोर गाली गर्दै हप्काए।

पावरहाउसबाट फर्किएर फेरि भित्रको गल्लीहुँदै मुर्ली चोक पुगेका उनलाई त्यहाँ पनि प्रहरीले रोकेको बताए।

‘आफू बाराको मान्छे भएकाले सधैं मेनरोड हुँदै आवतजावत गर्ने गरेको थिएँ, गल्लीको बाटो त्यति थाहा नभएर धेरै कठिनाइ भयो,’ उनले भने।

जसोतसो बाटोमा सोधपुछ गर्दै गल्लीको बाटो भएर डाक्टरको क्लिनिकमा पुगेका उनलाई अब घर कसरी फर्कने भन्ने चिन्ता छ। ‘डाक्टरले उपचारको लागि समय दिएर बोलाउँदा पनि प्रहरीले रोक्छ, यस्तो अवस्थमा उपचार नपाएर के बिरामीले घरमै मर्नुपर्ने?’ उनले आक्रोश पोखे।

निषेधाज्ञाभर अत्यावश्यक सेवाका लागि र अस्पताल हिँडेका बिरामीलाई नरोकिने भनिए पनि प्रहरीले भने अस्पताल जान समेत नदिँदा बिरामीहरू समस्यामा परेका छन्।

प्रकाशित मिति: : 2020-08-14 16:34:59

प्रतिकृया दिनुहोस्