कालिकोटमा पहिरोको वितण्डा: महाँवै गाउँपालिका नकुमा ६ जनाको मृत्यु, नरहरिनाथमा पनि क्षति

कालिकोटको महाँवै गाँउपालिका ३ नकुमा पहिरो जाँदा दुई दाजुभाइका परिवारका ६ सदस्यको मृत्यु भएको छ। 

तीजको अवसरमा नाजगान गर्न भेला भएर नाचगान गरिरहेको बेलामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको हो।

पहिरामा परि  वडा सदस्यसमेत रहेका रजबहादुर विष्टका दुई छोरा, दुई छोरी र उनका दाइ डिलबहादुरका दुई छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोशीले जानकारी दिए। 

उनका अनुसार मृत्यु हुनेमा रजबहादुर बिष्टका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट तथा छोरीहरु १८ वर्षीया सबिना विष्ट र १५ वर्षीया आशा विष्टको छन् भने उनका दाइ डिलबहादुरकि छोरीहरु १९ वर्षीया कान्ती विष्ट र १० वर्षीया रेखा विष्ट रहेका छन्। 

उनीहरुको शुक्रबार  बिहान मात्रै शव निकालिएको हो। 

‘पाद्मघाट प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा शुक्रबार बिहान शव निकाली सनाखत गरिएको छ,’ कालिकोटका डिएसपी श्यामबाबु ओलीयाले भने,‘महाबै गाउँपालिकामा संचार सेवा उपलब्ध नभएकाले पछिल्लो अवस्थाको पूरा विवरण आउन सकेको छैन।’

यस्तै कालिकोटकै नरहरीनाथ गाउँपालिका १ कोटबाडाको धारीमा पहिरो खस्दा दुई जना घाइते भएका छन् भने पहिरोले ७० वर्षका नरबहादुर विष्टको घर पुरिएको छ। विष्ट र उनका नाती रतन विष्ट घाइते भएको हुन्। 

घाइतेमध्ये नरबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरु दुवैको स्थानीय कोटबाडा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-08-14 13:21:43

प्रतिकृया दिनुहोस्