'खेत डुबेर टनाटन भइगया। ताँई मुनिपट्टी बालुवा छ। भदौ लाग्न्या बेला अरु बाली लगाया पनि हुन्या नाई। मार्सीकाे आश छैन। याे साल आपतमाथि आपत पर्न आँट्याे। अब भाेकमरी हुन्या भैगाे जहान कहरी पाल्न्या?' तिलाकाे किनारतिर टाेलाएका आँखा एकछिन नझिम्काई गाला हात लगाएर स्थानीय किसान लोकबहादुर दमाईले दुखेसो पाेखे।
'मेरा ३ रोपनी खेत डुबानमा पड्याका छन्। मार्सीधान पसाएर बाला झुलेपछि मन चंगाजस्ताे हुन्याबेला खेतभरी बालु बस्याे,' अर्का किसान धन बुढाले भने, 'याे वर्ष जताकताबाट दुख पाउन्या भयाैं। काँकाे बीउ, काँकाे पानी, काँका हली बल्ला, काँकी राेप्नेरी गरि राेप्याका खेतबाट केही नआयापछि क्यागरी खान्या हाेला?'
खेतमा बगर पसेपछि चिन्तित बनेका अघिकांश किसानकाे दुखेसो उस्तै छ।
बुढाका अनुसार तातोपानी गाउँपालिका २ जर्मीगाउँका रवि बुढाका ५ रोपनी, झरसिंह बुढाका ५ रोपनी, नरेन्द्र बुढाका ३ रोपनी, पशु खड्काका ३ रोपनी गरी जर्मीगाउँका ४० जनाको करीब ७० रोपनी धान उत्पादन हुने खेत डुवानमा परेका छन्।
जेठमा रोपेर गोडमेल गरि फल लाग्ने बेलाको मार्सी धान बाढीले नष्ट गरेपछि कृषक किसानहरु मारमा परेका छन्। बर्खाले मार्सी धान रोपेका खेत हिलाे र बालुवा पुरेपछि किसान चिन्तित भएका छन् भने याे वर्ष धान उत्पादन समेत घट्ने किसानहरुकाे अनुमान छ।
निरन्तरताको बर्खाले तिला नदीको बहाव बढेर तिला किनारका जिउलामा पसेपछि झण्डै एक हजार बढी खेत बगरमा परिणत भएका छन्।
चन्दननाथ नगरपालिका, तातोपानी र तिला गाउँपालिकाका खेतमा क्षति भएको छ। चन्दननाथ नगरपालिकाको खल्लाचौर ज्युलोदेखि कुडारी त्रिवेणी जिउलोसम्मका खेत बालुवा र ढुंगाले भरिएका छन्।
तिला गाउँपालिकाको त्रिबेणी जिउलोका ५० रोपनी, लुम्सेरा जिउलोका ५०, तातोपानी गाउँपालिका १ मा पर्ने चारवटा जिउलोका दुई सय ५०, तातोपानीकै लाछु जिउलोका तीन सय, ताँ जिउलोका ६०, टापुका ३०, बाबिराका २० र हाँकु तलिजिउलोका २० रोपनी खेत डुबानमा परेका हुन्।
यस्तै चन्दननाथ नगरपालिकाको उम्मगाड जिउलोका ४०, श्रीढुस्का जिउलोका ५० र रानी जिउलोका ७० रोपनी खेत डुबानमा पर्दा मार्सी धान नष्ट भएको त्यस क्षेत्रका किसानहरुकाे भनाइ छ।
बाढीले मार्सी धान नष्ट भएका किसानहरु भोकमारी हुनसक्ने भन्दै चिन्तित बनेका छन्।
तातोपानी-३ का वडाध्यक्ष डिल्ली रावलले वर्षेनि नदी कटान क्षेत्रमा तटबन्ध निर्माण गर्दागर्दै पनि खेतीयोग्य जमिन कटान तथा डुबानमा पर्ने समस्या नरोकिएको बताए। 'खेत डुबानमा परेकाले मार्सी धान उत्पादनमा स्वतह कमी आउँछ,' उनले भने, 'पीडित किसानलाई राहतका लागि पहल गरिनेछ।'
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने किसानलाई नआत्तिन आग्रह गरेका छन्। 'कतिपय डुबानमा परेका खेतमा धान उत्पादन सम्भव नभएपनि सबै खेतमा उत्पादन नहुने भन्ने हुँदैन। के कति क्षति भएको छ स्थिति हेरिनेछ,' उनले भने, 'हामी अवस्था बुझेर किसानलाई जानकारी गराउँछौ।'
उनका अनुसार कृषि विज्ञसहितको टोलीले डुबानमा परेका मार्सी फाँटको अनुगमन गरेर समस्या समाधानका लागि पहल गर्नेछ।