धोनीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनको बुधबार नमुना परीक्षण गरिएको थियो।

राँचीको गुरु नानक अस्पतालस्थित माइक्रो प्रैक्सिस प्रयोगशालाका प्राविधिक टोलीले चेन्नई सुपर किंग्सका कप्तान धोनीको फार्म हाउस गएर नमुना संकलन गरेको थियो।

योसँगै अब धोनीको आइपीएल खेल्न बाटो खुला भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल)को मिति तय भएपछि ३८ वर्षीय  कप्तान धोनीले प्रशिक्षण थालिसकेका छन्।

धोनीले राँचीमा रहेको झारखण्ड स्टेट क्रिकेट एसोसियसनको मैदानमा प्रशिक्षण सुरु गरेका थिए।

गएको हप्तामात्रै धोनीले एसोसियसनको मैदान भ्रमण गरेका थिए। उनले इनडाेर सुविधासहित अभ्यास गरिरहेका छन्। उनी सम्भवतः १४ अगष्टमा चेन्नई जानेछन्। त्यहाँ अभ्यास सत्रपछि चेन्नईको पूरै टिम युएई जानेछ।

टिम प्रबन्धकहरुले अरु सबै खेलाडीहरुलाई चेन्नाई बोलाउनका लागि चार्टर्ड फ्लाइटको व्यवस्था मिलाएको छ। 

सन् २०१९ को विश्वकपपछि धोनीले अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन्। तर, आईपीएलबाट उनी राष्ट्रिय टिममा फर्कने तयारीमा छन्।

प्रकाशित मिति: : 2020-08-14 08:14:08

प्रतिकृया दिनुहोस्