चार्टर्ड उडानको अनियमितता छानविन समितिको प्रतिवेदन पर्यटनमन्त्रीले लुकाए

काठमाडौं, साउन २९ : पर्यटन मन्त्रालयले लकडाउनका बेला भएका चार्टर्ड फ्लाइटले चर्को शुल्क लिएको भन्दै छानविन गर्न बनाएको समितिको प्रतिवेदन एक महिनादेखि लुकाएर राखेको छ।

विदेशमा भएका नेपाली ल्याउन र विदेश लैजान भएका चार्टर्ड फ्लाइटमा केही ट्राभल एजेन्सीहरुले तीन गुणा महँगो शुल्क लिएको समाचार आएपछि मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो।

उक्त समितिले प्रतिवेदन बुझाएको एक महिनासम्म पनि न त प्रतिवेदन नै सार्वजनिक गरिएको छ न त बदमासी गर्नेलाई कारबाही नै भएको छ। मन्त्रालय स्रोतका अनुसार पर्यटनमन्त्री योगेश भट्टराईले नै उक्त प्रतिवेदन अध्ययन गरेपछि आफ्नो घर्रामा थन्काएका छन्। चार्टर्ड उडानमा ट्राभल एजेन्सीहरुले महँगो शुल्क लिएको विषयमा मन्त्री भट्टराईको नाम समेत जोडिएको थियो।

स्वतन्त्र छानविनको माग भएपनि मन्त्रीले आफू फस्ने डरले मन्त्रालयकै सहसचिवको संयोजकत्वमा गत जेठ २८ गते छानविन समिति गठन गरेका थिए। छानविन समितिले चार्टर्ड उडान गरेका ट्राभल एजेन्सीका प्रतिनिधिलाई सोधपुछ गर्र्दै बयान समेत लिएको थियो।

प्रकाशित मिति: : 2020-08-13 19:21:32

प्रतिकृया दिनुहोस्