‘हरेक खेलाडीका लागि पदक जित्नु सुखद क्षण हुने गर्दछ। तर, त्यो दिन पदक जितेको केही क्षणपछि निकै दुःखी भएँ। खेलजीवनकै उत्कृष्ट सफलता पाएको क्षणलाई उत्सव बनाउन नपाउँदा मेरो मन कँुडियो। त्यस दिनबारे अझै पनि मेरो मानसपटल ताजै छ।’
नेपाल राष्ट्रिय तेक्वान्दो टोलीकी सदस्य निमा गुरुङले ओलम्पिक छनोट चरण स्मरण गर्दै भनिन्। कुरा थियो, सन् २०१६ को अप्रिल १७ मा सम्पन्न रियो ओलम्पिकका लागि भएको एसियन तेक्वान्दो ओलम्पिक छनोट चरण। छनोट चरण पार गरेर रियो ओलम्पिक खेल्ने लक्ष्यसहित नेपालबाट चार खेलाडी निमासहित रञ्जन श्रेष्ठ, वीरबहादुर महरा र निशा रावल फिलिपिन्सको राजधानी मनिला गएका थिए। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने बाटो त्यति भने सहज थिएन।
त्यसअघि छनोट चरण पार गरेर नेपालबाट तेक्वान्दोकै दुई खेलाडी संगीना वैद्य र दीपक विष्टले मात्र विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। हालसम्म पनि यी दुईले भन्दा अन्यले त्यसलाई दोहो-याउन सकेका छैनन्। निमा पनि दीपक र संगीनाको बाटो नजिक पुगेर चुकिन् र अवसरबाट वञ्चित भइन्। निमासहित थप तीन खेलाडीले पनि सोही किसिमको लक्ष्य राखेर मनिला प्रस्थान गरेका थिए। तर, आशाअनुरूपको प्रदर्शन हुन सकेन। छनोट खेलको पहिलो दिन नै तीन खेलाडी रञ्जन, निशा र वीरबहादुर पराजित भए। तीनै जनाले पहिलो चरण पार गर्न सकेनन्।
यता, पहिलो चरणमा बाई पाएकी निमाले क्वार्टरफाइनलमा भने ओमानकी साब्रा अल साल्टीलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाइन्। त्यससँगै नेपाली टोलीका कोरियाली प्रशिक्षक ली जाई हो र व्यवस्थापक हेमन्त डाँगीसँगै तीन खेलाडी निकै खुसी भए। नहुन् पनि किन ? ओलम्पिक छनोट चरणमा निमा नेपाललाई ऐतिहासिक सफलता दिलाउन एक पाइला मात्र पछाडि थिइन्। सेमिफाइनलमा निमाको प्रतिद्वन्द्वी थिइन्, सन् २०१४ को युथ ओलम्पिककी स्वर्ण र विश्व च्याम्पियनसिपकी कांस्य विजेता इरानकी किमिया अलिजादे।