सामान्यतया वन भन्नाले रूखले ओगटेको क्षेत्र वा जमिनलाई जनाउँछ। वन ऐन २०७६ ले वनलाई पूर्ण वा आंशिक रूपमा रूख वा बुट्यानले ढाकिएको क्षेत्रलाई परिभाषित गरेको छ।
वनको पारिस्थितिकीय प्रणालीअनुसार वनको संरक्षण एवम् सम्वर्द्धन गर्ने हेतुले राष्ट्रिय वनलाई विभिन्न तहमा विभाजन गरिएको छ। राष्ट्रिय वन भन्नाले सरकारद्वारा व्यवस्थित वन, वन संरक्षण क्षेत्र, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन, कबुलियति वन, प्रदेश भित्रको राष्ट्रिय वन वा अन्तप्रादेशिक वनलाई जनाउँछ।
वन सम्बन्धि अध्ययन गर्ने विज्ञानलाई नै सामान्यतया वन विज्ञान भनिन्छ। नर्सरीमा उत्पादन गर्ने बिरुवादेखि लिएर वन जङ्गलको संरक्षण, हेरचाह, उपयोगितालगायत वनसम्बन्धि सम्पूर्ण अध्ययनलाई नै वास्तवमा वन विज्ञान भनिन्छ। हाम्रो देश नेपाल जैविक विविधतामा धनी भएको अवस्थामा वन विज्ञान निकै महत्त्वपूर्ण छ। ‘हरियो वन नेपालको धन’ पहिचानलाई यथावत राख्न पनि वर्तमान समयमा यसको महत्त्व खड्किरहेको आभाष भइरहेको छ। झट्ट सुन्दा सामान्य लाग्ने वन विज्ञानको महत्त्व आज विश्वभरि नै अपरिहार्य बनेको छ।
कैयौं आवश्यकताका स्रोतहरु जस्तै: खाना, दाउरा, घाँस, घर बनाउनका लागि सामग्री, औषधि आदिको परिपूर्ति वनजङगलले गरेको छ। रुख र वन दुबैले वातावरण जोगाउन एवम् वातावरणीय सन्तुलन नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्। रुख र वनले हावापानीलाई स्वच्छ बनाउने, पहिरो तथा बाढीबाट बचाउने, माटोको उर्वराशक्ति बढाउने, चराचुरुङ्गी एवम् जनावरहरुलाई बासस्थान दिनुका साथै हामी बस्ने समुदायलाई सुन्दर बनाउँछ। वनजङगल नै जीविकोपार्जनको एउटा महत्त्वपूर्ण स्रोत हो। तसर्थ वनजङगलको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
हाल नेपालको कुल भू-भागको ४४.७५ प्रतिशत जमिन वन क्षेत्रले ओगटेको छ। बढ्दो सहरीकरण र आधुनिकिकरणले गर्दा आज वनजङगल तथा जीवजन्तुहरु नाश हुने अवस्थामा पुगेका छन्। भू-क्षय, बाढीपहिरो, वन डढेलो, अवैध चोरीपैठारी जस्ता विविध कारणहरुले गर्दा वनविनाश भइरहेको तथ्य हामी सबैको सामु छर्लङ्ग छ। वनविनाशले वातावरणीय असन्तुलन गराउनुका साथै मौसममा परिवर्तन गराई अतिविष्टि, अल्पविष्टि, खण्डविष्टि जस्ता समस्याहरूको सामना गर्नुपरेको छ। मानव समुदायमा त यसले प्रतक्ष्य असर गर्छ नै त्यसमा पनि वन उत्पादनमा कमी हुन गई देशको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने कुरा सुनिश्चित छ।
यसर्थ लामो समयसम्म वनबाट आवश्यकता पूरा गर्न र वातावरण पनि जोगाइ विभिन्न समस्याहरुबाट उन्मुक्ति पाउन वनको उचित संरक्षण र बद्दिमत्तापूर्ण प्रयोग हुनु जरूरी छ। यसका लागि सरकारको एक्लो प्रयासबाट मात्र सम्भव देखिँदैन। ‘यदि कुनै पनि कुरामा परिवर्तन ल्याउन छ भने क्रान्ति आफैबाट सुरु गर्नुपर्छ,’ भनेझैं हामी सबै आ-आफ्नो तर्फबाट क्रियाशील रहनुपर्छ।
त्यसमा पनि देशको मेरूदण्डको रुपमा रहेका हामी युवावर्गले यस कार्यका लागि महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। नसामा जोसिलो रगत बग्ने युवावर्गले गाउँगाउँ र बस्तीबस्तीबाट नवीन सिर्जनाको मुल फुटाउँछ। अतुलनीय जोस र जाँगर रहने युवाले देश विकासमा आईपर्ने बाधा र चुनौतिहरुलाई पार गरेर सधैं क्रियाशील रहनसक्छ। तसर्थ वन संरक्षण तथा वन विकास गरी देशलाई समृद्धिको बाटोतर्फ डोऱ्याउने काम हामी युवावर्गले नै गर्नुपर्ने हुन्छ।
यसका लागि सर्वप्रथम त जनमानसमा वनको महत्त्वको बारेमा जनचेतना जगाउनुपर्दछ। वन संरक्षणका लागि युवावर्गले गर्नुपर्ने दायित्वहरु निम्नानुसार रहेका छन्:
• इन्धनको वैकल्पिक व्यवस्था गर्न प्रोत्साहन गर्ने,
• वृक्षारोपण कार्यलाई नियमित र प्रभावकारी बनाउने,
• निजी वन कार्यलाई प्रोत्साहन गर्ने,
• वनजङ्गलको विनाशबाट निम्तिने प्राकतिक प्रकोपप्रति जनसाधारणमा चेतना ल्याई उनीहरूलाई वृक्षारोपण लगायतका कार्यक्रममा सहभागी गराउने,
• वनजङ्गल संरक्षणबाट पुग्ने फाइदाप्रति जनतालाई सचेत तुल्याउने,
• वन र वनस्पतिजन्य वन औषधिहरूको प्रशोधन गरी व्यवसायिक रूपमा खेतीको व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने,
• वनविनाश, चोरीनिकासी गर्ने जो कोहीलाई हदैसम्मको दण्ड सजाय दिनका लागि सरकारलाई दबाब दिने,
• वैज्ञानिक वन व्यवस्थापनबाट वनलाई व्यवस्थित बनाउन सरकारी तथा गैरसरकारी सघंसस्थासँग समन्वय गर्ने।
यी र यस्ता विविध उपायबाट हामी दिर्घकालिन रूपमा वनजङ्गललाई जोगाइराख्न सक्छौं। केवल ऐन कानुनमा मात्र वन व्यवस्थापन तथा संरक्षणका उपायहरू कागजी रूपमा उतार्ने तर व्यवहारिक तवरमा भने छेउ लगाइदिनाले नै आज वनविनाश भइरहेको तथ्यलाई नकार्न सकिँदैन। ‘वन रहे पानी:पानी रहे हामी’ भन्ने सत्यतालाई आत्मसाथ गर्दै वनको संरक्षण, संर्वदन एवम् विकास गरी देशको अर्थतन्त्रमा टेवा पुर्याई देशलाई समृद्धिको पथतर्फ लम्काउने काममा ढिला नगरौं।