बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणले पछिल्लो समय राजनीतिक बृत्तसमेत तातिएको छ।
सुशान्त प्रकरण अनुसन्धानलाई लिएर मुम्बई प्रहरी र बिहार प्रहरीबीच मनमुटाब पनि देखिएको छ।
सुशान्तको मृत्यु यतिबेला महाराष्ट्र राजनीतिको महत्वपूर्ण मुद्दा बन्न थालेको छ। यसैबीचमा, शिवसेना नेता तथा सांसद सन्जय राउतले मृत्यु प्रकरणमा धेरै प्रश्नहरु उठाएका छन्।
शिव सेनाको मुखपत्र सामना पत्रिको सम्पादकीय सांसद राउतले बिहार प्रहरी र केन्द्र सरकारले महाराष्ट्र सरकारविरुद्ध षड्यन्त्र रचेको आरोप लगाएका छन्। उनले बिहारका डीजीपीलाई भाजपा कार्यकर्ता जस्तै देखिएको बताएका छन्।
सांसद राउतले सुशान्त बारे नयाँ खुलासा समेत गरेका छन्। उनले सुशान्तका बुबाको दोस्रो विवाहपछि बुबा–छोराको सम्बन्ध राम्रो नभएको उल्लेख गरेका छन्।
‘सुशान्तको परिवार बिहार राज्यको पटनामा बस्छन्। सुशान्तको बुबासँग राम्रो सम्बन्ध थिएन। बुबाको विवाहले सुशान्तको मन दुःखेको थियो,’ राउतले भने।
शिव सेना नेता राउतका अनुसार अभिनेता सुशान्तले बुबाको दोस्रो विवाह स्वीकारेका थिएनन्।
केन्द्र सरकारले राज्यको स्वायत्ततामा हमला गरेको उनको आरोप छ। ‘यदि सुशान्तको मामला मुम्बई पुलिसको हातमा भएको भए आकाश नै टुक्रिने थिएन। तर यहाँ राजनीति गरियो,’ राउतले भने।