जिन्दगीका घुम्तीमा तमाम चिजबस्तुहरु देखिन्छन्। कयौं नयाँ मान्छेसँग भेटघाट चिनाजानी भइदिन्छ। कतिपय नयाँ थरी कुरा सुनिन्छन्। कतिपय ठाउँ, घटना, चिजबस्तु र मान्छेसँगका कुराकानीका क्षण अविष्मरणीय बनिदिन्छन्। त्यसैले त जिन्दगीले बाटिरहेकै हुन्छ जन्मदेखि मृत्युसम्म अनुभवको डोरी।
कोरोना संक्रमणबाट बच्न राज्यले गरेको थियो बन्दाबन्दी। डोटीको गोपघाट बजारमा लौरो टेक्दै हिँडिरहेकी थिइन् धनादेवी। यसो त उनी मात्रै हिँडिरहेकी थिइनन् अरु मान्छेहरु पनि आवतजावत गरिरहेकै देखिन्थे। गाउँघरतिर खासै पालना गरेका देखिदैन थिए बन्दाबन्दीको। दिउँसोको चर्को गर्मीका कारण हुनसक्छ एकछिन थकाइ मार्ने हेतुले पुगेकी थिइन् नजिकै रहेको वडा कार्यालयको परिसरमा।
तल सेती नदी सुसाइरहेकी थिइन्। सेतीको वारिपरि दुबै पट्टि घना बस्तीसहितको बजार छ। सेतीको एकापट्टि शिखर नगरपालिकाको ८ न. वडा कार्यालय छ अर्कोपट्टि छ ११ नम्बर वडा कार्यालय। त्यहाँबाट करीव पाँच किमी पार गरेपछि पुगिन्छ नगरपालिकाको कार्यालय।
कपाल फुलेर सेताम्मे भएकी धनादेवी थचक्क बसिन् त्यहिँ ११ नम्बर वडा कार्यालयको वरण्डामा। मुखको माक्स नखोलिकनै लामो सास फेरिरहेकी थिइन्। चर्को घाम र थकाइबाट एक छिनलाई भए पनि थोरै राहत महसुस गर्न उनी त्यहाँ बसेकी हुनुपर्छ। उनीसँग चिनाजान गरी बिस्तारै कुरा गर्ने क्रममा मागेकी थिइन् पाँच रुपैया।
चिनेको मान्छेसँग जम्मा पाँच रुपैया माग्छिन् उनी। उनले माग्ने भनेकै पाँच रुपैया हो। त्यो भन्दा बढी माग्दिनन् कसैसँग पनि। गाउँघरतिर माग्दिनन्। गोपघाट बजारतिर आएको दिन बजारमा भेटिएका चिनजानकासँग र पसलेसँग माग्छिन्। गोपघाट बजारबाट आधा घण्टा हिँड्नुपर्छ उनको बासस्थान पुग्न।
गरिब, अवला, अनाथ, दलितका नयाँ नयाँ नाम राखिन्छन् समाजमा। बेलाबखत मजाक उडाइन्छ तिनको। ती हेपिन्छन् समाजका सुकिला मुकिलाका दृष्टिमा र राज्यको नजरमा समेत। धनादेवीलाई पनि भनिदिन्छन्– ‘किथ्थी कानी’। जिस्क्याउँछन् ठूला बडाको अनुकरण गर्ने केटाकेटीहरुले समेत किथ्थी कानी भनेर। डोटेली भाषामा किथ्थोको अर्थ हुन्छ सानो घिनलाग्दो एक प्रकारको कीरो। जसको स्त्रीलिङ्गी शब्द हो किथ्थी। उनी दुबै आँखाले राम्ररी देख्छिन्। अझै चश्मा समेत प्रयोग गर्नु परेको छैन्। हेराई अलिकति टेढो छ शायद त्यही भएर होला कानी शब्द पनि झुण्ड्याइ दिए। समाजमा उनी किथ्थी कानीकै नामबाट परिचित छन्। सबैले किथ्थी नै भनिदिन्छन् बोलाउदा पनि।
उनका नातिका उमेरका केटाहरु आइपुगेका थिए भारतबाट, गाउँमा जो लाहुरेको नामले चिनिन्छन्। उनी एकोहोरो हेरिरहन्थिन् टाढाका डाँडाकाँडातिर। शायद उर्लिदो हो मनमा वह। उठ्दो हो छातिमा भक्कानो। सुदूरपश्चिममा एउटा उखान छ ‘लोग्ने हुँदाहुँदैकी विधवा’। त्यस्तै घरबार हुँदाहुँदैकी एक्ली र बेसाहारा जस्ति बनेकी उनलाई माइति पक्षले अलिकति ठाउँ दिएको छ बस्नलाई र टाउको लुकाउन पाएकी छन्।
विगतमा गाउँघरतिर सात आठ वर्षकै उमेरमा छोरीको बिहे गरिसक्ने चलन थियो। त्यही चलन अनुसार धनादेवीको पनि भएको थियो सानैमा बिहे। बिहे हुँदाको उमेर ठ्याक्कै थाहा नभए पनि उनी सुनाउँछिन् – ‘नौ दस वर्षकी हुना हुँ ब्या अद्दे बखत।’ शिखर नगरपालिका अन्तर्गत पर्ने भाडिपातल भन्ने गाउँमा भएको थियो पहिलो बिहे। बिहेको बेलाको धेरै कुरा याद छैन उनलाई। मात्रै याद छ बिहेको दिन डुङ्गा चढेर सेती नदी पार गरेको। यसबाट सजिलै अनुमान गर्न सकिन्छ त्यतिबेला गोपघाटस्थित सेतीमा पुल थिएन भन्ने कुरा।
बिहे भएपछि करीव तीन वर्षसम्म माइतमै बसिन् उनी। ’नमाइ (अलिकति) ठूली भएपछि सम्झाइबुभाइबर घर खान पठाया हुन् माइतिले। घर गएका दुई वर्ष पछि लोग्ने मरे,’ ती दिन सम्झिदै विगत बताइन् उनले।
तीन चार वर्षको उमेरमा आमा गुमाएकी धनादेवीले विहे भएको एक दुई वर्ष पछि बुवा पनि गुमाइन्। बुवा गुमाउनुपर्दाको पीडाको ज्वाला राम्ररी सेलाउन नपाउँदै थपियो दुःखको अर्को अध्याय। बिदा लिए लोग्नेले पनि धर्तीबाट।
दुःखका आँसु बगाउँदै गर्दा भेट भयो सोही नगरपालिकास्थित देउकार भन्ने गाउँका रावत थरका एक युवासँग। उनैसँग आँखा जुधे। उनकै अंगालोमा बेरिन पुगिन्। जुन उनको दोस्रो बिहे थियो। जहाँ एक छोरा एक छोरी जन्मे। छोराछोरी हुर्किन नपाउँदै गुमाइन् श्रीमानलाई सदाका लागि।
फेरि पनि दुःख लुकाउँदै दिन गुजारिरहिन्। छोराछोरीको बिहे गरिन्। छोराबाट दुई नाती एक नातिनी जन्मिसकेका थिए। धनादेवीका अनुसार भारतमा काम गरिरहेका छोरालाई खै कसले मारिदिएछ उतै। उनले खबर पाइन् छोरा मरेको। धेरै दिन ओभाना हुन सकेनन् उनका आँखा। जिन्दगीका घुम्तीभित्र डाँडामा इन्द्रेणी झुल्केझै निकै कम समयमा झुल्क्यो घाम। प्रायः जसो लागि नै रह्यो बादल। झरिरह्यो दुःखको झरी। छोरा बितेको केही महिनापछि बुहारीले निकालिदिइछन् घरबाट।
त्यसपछि उनी माइति गाउँको पारिपट्टि बानेडुग्रीसैन भन्ने गाउँमा गएर अरुको काम गर्न थालिछन्। करीब दश वर्ष जति त्यतै अरुको काम गरेर दिन बिताइछन्। ‘आफ्ना दाइभाइ थिएनन्,काका पट्टिका मात्र थिए। बा पिचास धेकिएपछि बोलाए माइतिले। उइपछि माइतमी भाइहरु (काकाका छोरा) ले बस्ने व्यवस्था अरिदिए,’–गहभरी आँसु बनाएर सुनाइन् उनले।
आमा बुवा नभए पछि आधा हुन्छ रे माइति। दाजुभाइ गुमाएपछि भदाहरुको पालामा त पूर्णरुपेण टाढा भैदिन्छ रे माइति गाउँ। बोलाउन छोडि हाल्छन् त्यस पछि त। यस्तै कुरा सुनिन्छन् गाउँघरतिर। अनि बिलौना पोख्छिन् छोरी चेलीहरु।
माइति गाउँमै बसेर धनादेवी सम्झिन्छिन् विगतका दिनहरु। बाआमाको प्यार अनि त्यो समय। ती दिन गैसके कहिल्यै नफर्किने गरेर। धनादेवीको सम्झना ताजै छ। त्यसैले त आँसु पुछ्दै सुनाउछिन् उनी,‘बा-आमाकी याद आउन्छ। सुइना (सपना) लगै नैआउना। रुनारुना आँखाका आँसु सकिए। माइति गेडोमुठी दिन्नाछन् रे खान्नाछु।’
विगतको गाउँघरको चालचलन सम्झिँदा उनले एक्लो ज्यान पाल्न गाउँघरबाट धेरै सहयोग पाउनु पर्ने हो। सुदूरपश्चिममा उहिलेका गाउँलेहरु सुरुमै छुट्ट्याउँथे विधवा र टुहुराको भाग। त्यो छुट्ट्याइएको भाग टनकपुरबाट ल्याइएको नूनगुडदेखि चाडपर्वमा पाकेको कोसेली र गोरससम्म हुन्थ्यो। वर्तमान समयलाई मनन् गर्दा बिभिन्न अधिकारका कुरा गर्ने अधिकारवादीले देख्नुपर्ने हो उनलाई। व्यवस्थाका हिसाबले भन्नु पर्दा गाउँगाउँमा पुगेको भनिएको सिंहदरबारले बुझ्नु पर्ने हो- यो देशकी नगरिक हुँ भन्नलाई नागरिता नामको कागजी खोस्टोसम्म नपाउने बृद्ध एकल महिलाको पीडा।
कुर्सी पाउने बित्तिक्कै आफूलाई शानशाह नै ठानेर दुनिया भुल्नेहरुको लापरवाही र अहंमताले गर्दा परिवर्तनको कुनै आभास पाउन सकेका छैनन् कतिपय असहायहरुले। जुन गणतन्त्रको दुर्भाग्य नै भन्नुपर्ने हुन्छ। जुन कार्यलयले नागरिकता बनाउन सिफरिस गरिदिनुपर्ने थियो त्यही कार्यालयको प्राङ्गणमा सुस्ताइरहेकी थिइन् उनी। त्यो कार्यालय थियो शिखर नगरपालिका डोटीको ११ नम्बर वडाको।
वडा कार्यालयका प्रमुख भिष्म बहादुर बलायरसँग धनादेवीको नागरिकता बनाइदिन दुई पल्ट कुरा राखेको थिएँ म स्वयमले पनि। ‘उनका मान्छेहरु कोही आउँदैनन्। बनाउनु त पर्ने हो, अब हेरौंला,’ दुबैचोटी यस्तै भनेर टारिदिए उनले।
शिखर नगरपालिकाका मेयर उपमेयरसँग कुरा गर्दा आफूहरुलाई अहिलेसम्म थाहा नभएको र अब बनाउन पहल गर्ने बताए। यता धनादेवीले आँसु झार्दै सुनाइन्, ‘जति भने लै वडाले वास्ता गरेइन। मेरा आफ्ना भनिएकाहरुले वास्ता गरिदिएनन्।’
उनको उमेरका कयौ. महिला पुरुष बृद्ध भत्ता पाउँछन् राज्यबाट। तर उनी त्यो सुविधाबाट बञ्चित छन्। सोझा निर्धा गरिबका कोही बनिदिदैनन् आफ्ना। यो देशमा हुनेखानेहरुकै त चलिरहेको छ बोलबाला। हुँदा खानेहरुको पीडा कसले बुझिदिन्थ्यो र। त्यसैमा सुदूरपश्चिमकी एकल महिला जो रित्याउँछिन आँखाका आँसु एकान्तमा कहिल्यै विगतका दिन सम्झेर त कहिल्यै वर्तमानको अवस्थाले दुखाइरहँदा।
कहिलेकाहिँ डोटी गोपघाटको स्थानीय बजारमा लौरी टेक्दै पुग्छिन् उनी र चिनेका हुन् वा भरखर चिनजान भएका हुन् तिनीसँग तोकेरै पाँच रुपैया भन्छिन्। त्यो भन्दा बढी माग्दिनन् कसैसँग। चाउचाउ खान निकै मन पराउने यी बृद्धा कुन्नि केके सम्झेर बसिरहेकी थिइन, केके कल्पिरहेकी थिइन् मुखमा माक्स लगाएर। नगरपालिकाले वितरण गरेको माक्स मुखमा लगाउछिन् र हिँडिरहन्छिन् आफ्नै सुरमा। कोरोनाबाट बच्न माक्स लगाउनु पर्छ भन्ने सुनेकी छन् उनले। तर त्यो माक्स फोहर हुँदा साबुन लगाएर सफा गर्नुपर्ने कुरा बताइदिएनछन् कसैले पनि। एनजिओ आइएनजिओका कार्यक्रमझैं केवल औपचारिकता निभाउने कार्यक्रम भइदिँदा थाहा पाउँदैनन् समाजमा धनादेवीहरु।
कसैले नागरिकता बनाइदेला र सरकारले उपलब्ध गराइरहेको बृद्धभत्ता खान पाइला भन्ने आश मारिसकिन् उनले। सबैसँग भन्दाभन्दा कसैले वास्ता नगरिदिएपछि छोडिसकिन् अचेल नागरिकताको प्रसङ्ग उठाउन। त्यसैले त उनले कुराकानीका अन्त्यमा तेर्स्याइन भावपूर्ण प्रश्न, ‘मरेपछि नागरिकता नभएकालाई पोल्ल नमिल्ले त नै होलो नि?’