नोटः ‘म किङ्स ल्याण्ड जाँदैछु। सिँजा हिजो जो हिमबत खण्डको राजधानी थियो। राजाको राजधानी थियो। म त्यही जाँदै छु।’
ए म त भुसुक्क निदाएछु।
लौ म फ्रेस भएर आएँ।
तपाईँहरू अगाडि बढ्नुस्।
Pure good morning
यो घिनलाग्दो क्षण। आफू भित्रको फोहर निस्किने क्षण। यो गन्धमा कसरी सोचौं, म भित्र भगवान छ? जैरे अंगहरूको हैसियत पनि, फाल्ने मात्रै। मुखले पाउने स्वाद, के मलद्वारले पाएको छ?
वर्गीय अंग छन्, आफैं भित्र। यहाँ भित्र कसरी ईश्वर बस्दो हो?
के धनीले पाउने अन्नको स्वाद गरिबले पाएको छ?
के मैले पाएको स्वतन्त्रताको स्वाद, बहिनीले पाएकी छ?
के पूजारी पाएको भक्तिको स्वाद मन्दिर बाहिर मागिरहेको भिखारीले पाएको छ?
के भगवान भनेको दलाल हो? जो वर्गीय संरचना निर्माण गर्छ? वर्गीय संमरचनाले मान्छेको व्यापारसम्म गराउँछ। मान्छेलाई वस्तु बनाउँछ। के मान्छे वस्तु हो?
के यस कारण ऊ म/ तपाई भित्र व्यापार गरि बस्छ? के तपाई भित्रैकै भगवानले भनेको हो?
देशको झण्डा शीरमा राख्न पाउँछ, पैतलामा पाउन्न। निधार दहि अक्षताले सिगारिन पाउँछ, अनि पैताला? यात्रा गर्ने पैताला, दौड जित्ने पैताला। जैरे पैतालाको भाग्य थकाइ मात्र?
देब्रे हस्त घण्टै पिच्छे गुप्ताङ हरूमा हाजिर लगाउन पुग्छ। अपवाद बाहेक दाहिने हात मलद्वार धुन जान मान्दैन। के यी र यस्ता हर्कत म/तपाई भित्रको भगवानले गराइरहेको छ?
यदि भगवान छ भने ऊ म भित्र बास गर्दैन। ऊ यस्तो भिन्नता बीच बस्दैन।
थकाइ लागे जस्तो भयो बसौं? छाता भुइँमा राख्दै बस्छु।
म एक छिन चुरोट तान्छु। तपाई अगाडि बड्नुस्।
हाय यी जिउला आमाका पुटुका जस्ता।
बीच बीचमा घर।
उदो बग्दी हिमा।
स्वाउका बोट। ओखरका बोट।
देवी स्तन आकारे पहाड।
त्यसै त किङ्स ल्याण्ड हुन्न नि?
जुम्लाले भोकमरी कहिलै खेपेन होला।
कर्णाली भोको मर्न लाग्यो भनी आफ्ना भुडी भर्नेले जुम्लालाई त्यसमा मिसाएका मात्र रैछन्। सिमी, मार्सी, स्वाउ, ओखरसँगै हुर्किरहेका क्या गज्जब! मानौ कि स्वाउ नौनी, ओखर ढुङ्गा। नौनी र पत्थर सँगै हुर्किरहेका। अनि कसरी भोकमरी?
यहाँ त हावापानी पनि पूर्ण अनुशासन आउँछन् होला।
सूर्य पनि हिउँमा पाइला चोबलेर यो धर्तिमा टेक्छ जस्तो।
बादल गएर थुम्का माथि पगरी बाँधे जसरी बसिरहेको छ।
बाटोको बच्चालाई सोधैँ?
अहिले कुनै फलफूल पाइन्छ भनेर?
-‘क्या पाइन्या छिया आजगाल, अक्का महीना पाइन्छन्।’
घरको पाल्किमा एउटा बुढी आमा हुनुहुन्छ। उहाँको अगाडि एउटा डालोमा आरुका दाना थिए। हामीले मागे जति आरूका दाना, दाइने हात हामी तिर बढाउँदै र बायाँ हातमा अर्को एक दाना आरु दिन खोज्नु भो। हामीलाई मागेको भन्दा एक दाना बढी थियो बायाँ हातको आरुको दाना।
म -‘पर्दैन आमा त्यो?’
उहाँ भन्नू हुन्छ।
-‘दिए पै ऐय नभन्नु।’
ऐय भनेको नाइ।
‘नाइँ न भन्नू ल।’
आमाले आशिर्वाद दिउन् या आरू। त्यस्मा हुने भनेकै प्रेम हो।
-‘आमा कोरोनाको डर लाग्दैन?’
-‘लाग्या लैजाला त, भोको मर्नु नाइँ?’
-‘मास्क लाउँदा अप्ठ्यारो हुँदैन?’
-‘मुगालो लगाए जसो भयाको छ?’
हाँस्नु हो, आमा हास्नु। प्रकृति हासे झैं गरि। आमा हाँस्दा पनि त सुन्दर देखिन्छ। आमाको हाँसो सँगै हाँस्छ। हाय म आजसम्म प्रेमिकाकै हाँसोलाई उपमा दिई बसेँ।
हिँडिरहँदा आँखामा आउँछन्, स्वाउका बगैंचा, ओखरका बैगैचा। अण्डकोष जत्रा स्वाउका दाना, ओखरका दाना।
ए! हेर्नु न मेरो दिमागमा आइहाल्यो।
उहिँ नेपालीको औसत उचाई भएको, मीठो बोल्ने तीखो लेख्ने मान्छे। उहिले सत्र अठार वर्ष अगाडि बालाजुमा कम्प्युटर सेन्टर खोलिबसेको, एक मालिक।
'हिजो क्या गर्या? आज क्या गद्दोछु र भोलि क्या गर्न्या हुँ? आफैंलाई थाहा छैन भनी हिड्ने एक लेखक।
उहिले बीस बाईस वर्षभन्दा अगाडि खच्चडमा मालसामान हाली हिड्ने एक हटारु/एक खच्चड धनी। त्यो भन्दा पहिला काँधमा गलैँचा, राडीपाखी हाल्दै नेपालका जिल्ला जिल्ला हिड्ने एक जुम्ली। अचेल स्वाउ खेती गर्छु भनी अयोध्या फर्के झैं गरि सिंजा फर्केको राम सिङ रावल। दुई वर्ष पहिलासम्म म उस्को पाठक थिएँ। ऊ लेखक थियो, मेरो। कर्णालीतिर हेर भन्दै।
काठमाडौंतिर कमल र आवाज बोकेर हिडिरहन्थ्यो ऊ। अचेल स्याउ किसान भएको छ। छापावाला सुन झैं एक नम्बरी किसान भैसकेको छ। पुरस्कार लिन हिँडिरहेको हुन्छ, जुम्ला बजारका गल्लीहरुमा। यसरी हिँड्छ मानौ कि, ऊ आफ्नो स्वाउ बगैचामा हिँडिरहेको छ। स्याउका दाना गन्दै। मस्त मुस्कान सहित। जिउमा स्वतन्त्रताको लचक सहित। उस्को स्याउ यात्रालाई शुभकामना देउ।
ऊ भन्छ यो चन्दननाथ र पैकालको भूमि हो। हात चलाउनेले निराश हुनु पर्दैन। यो कुरा उसको अनुहार र व्यवहारले देखाउँछ? फेरि फर्केर आउनु होला उस्को स्याउ बगैचा रिसोर्टमा परिवर्तन हुँदैछ। हिमाको किनारमा बसेर अर्गानिक स्याउ खाउँला, ओखर खाउँला। उसको राज्यप्रतिको उपहास र गुनासो सुनैला। ऊ नन फिक्सन लेख्छ तर ऊ कुनै फिक्सनको पात्र जस्तो लाग्छ मलाई । डियर राइटर, यसपाली तपाईको बुक, ‘सिडिकेट लोकतन्त्र र राजनीति’ मेरो बुइ चडेर तपाईंको सिंजा घुम्न निस्केको छ।’
आज किङ्स ल्याण्ड पुग्न सकिएला?
खेत छालिरहेका बालाई सोधौं?
-‘बा किङ्स ल्याण्ड आज पुग्न सकिन्छ?’
-‘स्योर, Why not?’ नै भनेका छन् बाले। तर यताकै स्थानीय भाषामा। सुन्ने भए तपाईं पनि हिड्नुस् किङ्स ल्याण्ड जाने बाटो। सोध्नुस् एक पटक बालाई -‘बा किङ्स ल्याण्ड आज पुग्न सकिन्छ?’
बाको उमेर चार बीस पुग्नै आटेको रैछ। त्यसैले त मैले सोधे -‘बा यो उमेरमा किन काम गरिरहनु भाको?’
-‘पापी पेट पाल्नलाई।’
हो त बाको पेट पापी छ। मेरो पेट पापी छ। तपाईँको पेट पापी छ। मेरो/तपाईंको त पेट मात्र कहाँ पापी हो र? बाजेको जमानामा पो पेट मात्र पापी हुन्थ्यो। अहिले त आँखा पापी - सबै हेर्न पर्या छ।
नाक पापी - कुकुर भन्दा बढी सुघ्न थाल्छ।
कान पापी - दुनियाँलाई सुन्नु पर्या छ।
मुख पापी- मान्ठदेखि मसुरसम्म सब भक्षण गर्न पर्या छ।
छाला पापी- बस्तु पिच्छे स्पर्श फरक चाहिएको छ।
प्रजनन अंग पापी - फरक फरक स्वाद चाहिएको छ।
पेट पापी - विचरो गाली मात्र खाइरहन्छ।
यतिका पापी बीचमा के भगवान बस्छ लाग्छ, तपाईँलाई?
यिनका लोभ किन मार्न सकेन भगवानले? रावण मार्ने भगवानले? सैतान मार्ने भगवानले? आफ्ना सत्रु मार्ने भगवानले। किन मार्न सकेन? हेलो डियर शिव, किल अल दिज सिनफुल।
यतिका पापी अंगहरुले मान्छेलाई भ्रष्टाचारी बनायो।
अनुशासनहिन बनायो।
यति निर्मम बनायो।
असंवेदनशील बनायो।
अराजक बनायो।
पापी अङहरु। पापी मान्छेहरु। आफू भित्र भगवान छ, भन्ने घमण्ड गरिहिन्छ।
आँखा अगाडि रोडमा दुई छाँया देख्छु। सायद छायाको उमेर त्यस्तै १२/१३ हुनुपर्छ।
-‘के छ खबर?’- मैले सोधेँ
-‘ठिक छ,’ उनीहरुले भने
-‘के गरिरा?’
-‘बार्खा हेरिरा, काँ जान्या होउ?’
-‘किङ्स ल्याण्ड।’
उनीहरुको धर्को हाँसो लिएर म बिदा भएँ।
विपरीत दिशाबाट, एउटा विपरीत लिङ्ग आउँदैछ। लिङ्गको आयु लगभग मेरो जतिकै छ। ऊ प्रायः हात नलागी फुत्किएका अवसरहरु जसरी मेरो छेउबाट पछाडि गइ। फर्केर हेरे। लामो कपाल छ। कपाल नितम्बलाई बिस्तारै हिर्काइरहेका छन्। ऊ भित्रको भगवान स्त्री कि पुरुष?