१.
‘सन्ध्या एण्ड श्रृष्टी’ क्याफेमा प्राय हाम्रो भेट भैराख्थो। भेट हुनुको खास कारण थियो-चियाको लत। अँ चियाको लत योसम्म थियो, आँखा मिच्दै कलेज गएदेखि कलेज सकिएर पनि साँझ परिसक्दासम्म हामी त्यहिँ क्याफेमा हुँन्थ्यौं। क्याफे विश्वविद्यालय परिसरबाट करीव एक मिनेट जति टाढा थियो।
महीनाको सुरूको दिन,
चिया खान क्याफे छिरेको सुरुको दिन म एक्लै थिएँ। इन्जिनियरिङ पढ्न विश्वविद्यालय छिरेको पनि सुरूकै दिन थियो। त्यसैले साथीहरु चिनिसकेको थिएन। चियासँगै चाउमिन अर्डर गरेँ। एक्लै खाएँ। एक्लै घर फिरेँ। त्यसपछि सिधैँ अन्तिम दिन गएँ। कारण पढाई रफ्तारमा बढिसकेको थियो।
महिनाको अन्तिम दिन,
म आएको छु क्याफेमा। जो टम्म छ। एक्लै छु। कारण पुरानै। साथीको विषयमा म के मान्यता राख्छु भने, साथी मन जस्तै नहोस्। किनकि मन कतिखेर बदलिन्छ थाहा हुँदैन। तर यो थाहा छ– पृथ्वीमा रहेका हरेक चिजमा मन छ। जो जतिखेर पनि बदलिन सक्छ। हो एक दिन ऊ पनि बदलिन्छ। पक्का बदलिन्छ। यो स्वभाविक प्रकिया हो। त्यसैले यसमा आपत्ति भएन तर चाँहन्छु बदलिनु अघि वा बदिलिने बेलामा कमसेकम केहि छनक दिएर बदलियोस्। जसले गर्दा सम्भावित घटनाबाट म केहि रुपमा बँच्न सकुँ। जसले गर्दा सम्भावित दुर्घटनाबाट म केही रुपमा बाँच्न सकुँ।
कुना तिरको एउटा कुर्सि खाली देखेँ। बसे। चिया भनि सकेको छु। वरपर निहाल्न लागेको छु। देखिरहेको छु, कोही सम्रग देशको चियोचर्चो गरि रहेका (विद्यार्थी नेताहरुको कल्पना गर्नुहोस्), कोहि कुनै मुद्दालाई लिएर चर्को बहसमा होमिएका (बहस गरिरहनेहरु कल्पना गर्नुहोस्), कोही एक अर्कामा झुम्मिएका (प्रेम जोडीहरुको कल्पना गर्नुहोस्), कोही क्याजुयल्ली बसिरहेका (एक्लै रुचाउनेहरु कल्पना गर्नुहोस्) र अर्को तिरको कुनामा (कल्पना गर्नुहोस् ठिक्कको दारी पालेको केटो सायद गजल हो वा मुक्तक हो वा कविता खै के के हो? बडो भावुक जस्तो देखिएर भनि रहेको र वरिपरि झुमी रहेका अरु)।
रूममा खाना बनाउदै गर्दा ...
सोच्छु, पढ्ने उमेरमा किन महाकवि बन्न तम्सिएको होला? वास्तवमा भन्नु पर्दा मलाई (तपाई कल्पना गर्नुहोस् इन्ट्रान्स एक्जाम रिजल्टको पहिलो नाम) वाइयात जस्तो लाग्छ, पढाई भन्दा अरु कुराहरु। खुरुखुरु पढ्नु नि!
बिस्तारै ममा चियाको लत बस्दै गयो।
बिस्तारै चियामा मेरो लत बस्दै गयो।
केही हप्ताअघि हप्ताको अन्तरालमा छिर्थेँ। केही दिन अघि दिनको अल्तरालमा छिर्थे। पछिपछि कलेज छिर्नु अघि र कलेज सक्नु पछि। अलि पछि कलास छिर्नु अघि र कलास सक्नु पछि। आजाभोली बिदाको दिन पनि छिर्छु। मोड अफ भयो कि छिरिहाल्छु। मोड अन भयो कि छिरिहाल्छु। जतिखेर पनि छिरिदिन सक्छु। जतिखेर पनि नछिरिदिन सक्छु।
खासमा क्याफेमा मेरो लत बस्दै गएको रहेछ।
यसो हुनाले संयोग के भैदियो भने, उसको र मेरो दिनौँ नयनालाप हुन थाल्यो। दिनौँ उसका गजल, कविता, खै के हुन? ति सँग कानालाप हुन थाल्यो। खासमा मलाई साहित्यमा कुनै रुचि थिएन। म पढ्न, सुन्न समेत चाहन्नथे। पाठयक्रममा समावेश बाहेक अरु पढेको, सुनेको थिएन पनि। सत्य यो हो, उसको र मेरो नयानालाप हुन्थ्यो तर नचाहेर। सत्य यहि हो, उसले सुनाइरहेका र मेरो बीच कानालाप हुँन्थ्यो तर नचाहेर।
रुममा खाना बनाउदै गर्दा....
सोच्छु, नचाहेर नयनालाप भैरहेको छ भने, ऊ त्यो क्याफेमा नियमित आउछ भन्ने थाँहा हुँदाहुँदै म किन अर्को क्याफेमा नगएर त्यही क्याफेमा जान्छु?
नचाहेरै कानालाप भैरहेको छ भने, ऊ सधै झैं सुनाउँछ भन्ने थाँहा पाउदापाउदै म किन अर्को क्याफेमा नछिरेर त्यही क्याफेमा छिर्छु?
आखीर किन?
किन? को उत्तरमा
दिउँसोहरु रातहरु भएर गए, रातहरु बिहानहरु भए र बिहानहरु फेरि दिउसोहरु भएर आए..........
र एक दिउसो ऊ साथी बनेर आयो।
जिन्दगी जाली नहुनुपर्छ यहीनेर।
यहिनेर जिन्दगी जिन्दगी हुनुपर्छ।
२.
एकदिन मैले सोधेको थिएँ, “पढाई इन्जिनियरिङ्गको छ। कलेज छिर्दैनौ? कलास छिर्दैनौ? किन छिर्दैनौ?”
उसले जवाफ दिएको थियो, “मानौं तपाईलाई त्यही चिज खानको निम्ति दिइयो जुन चिज प्रति तपाईको चरम विकर्षण छ। देख्दै, सुघ्दै, सोच्दै तपाई हलाहल छादि हाल्नु हुन्छ, जो रोकिदै रोकिदैन। बस आइरहन्छ। आइरहन्छ। के तपाई धृष्टता गर्न सक्नु हुन्छ जीवन भर त्यहि चिज खाइरहन? लगातार छादिरहन?”
अर्को दिन सोधेको थिएँ, “मन परेको चिज खान्छु भनेर घरमा भनेनौ त? नभनेको भए भन्नु पर्छ अब।”
गम्भीर भएर भनेको थियो, “जसको आँखामा सदाबाहर अँध्यारो लेखिएको छ, उसले उज्यालो पढला र?”
रुममा खाना बनाउदै गर्दा....
सोच्दैन, यो पटक सम्झछु, उसको परिवारले नमानेको हुनु पर्छ सायद।
३.
“मैले आज राति एउटा गीत लेखेर सके, सुन्नुहोस है त!” क्याफे पुग्दा पुग्दै उसले भनेको थियो। मैले “हुन्छ”को इशारा दिए पछि उसले सुरु गर्यो।
मरि सकेको छु
तर नमरेको खबर घर पुगेको छ।
जलि सकेको छु
तर नजलेको खबर घर पुगेको छ।
हाँस्न मन नभएको होइन साथी,
हाँसो अपहरण गरेको छ कसैलेπ
बोल्न मन नभएको होइन साथी
जिब्रो तानी दिएको छ कसैलेπ
हारि सकेको छु
तर नहारेको खबर घर पुगेको छ।
गलि सकेको छु
तर नगलेको खबर घर पुगेको छ।
यो गीत सुनाएर छुटिएको दिनबाट ऊ फेरि कहिल्यै क्याफे आएन। र मेरो ऊ सँग भेट भएन। ऊ कँहा गयो? किन गयो?
जिन्दगी जाली हुँनुपर्छ यहीनेर।
यहिनेर जिन्दगी जिन्दगी नहुनुपर्छ।
थाँहा पाई हाल्नु भयो नि, ऊ बदलियो वा बदलिएन? भनेकै थिए –मन भएका जो कोही बदलिन्छन् भनेर। तर आश छनकको थियो। नदिएरै बदलियो। गलत। उसले दिएर बदलीयो। ध्यान दिए, खासमा गीत नै छनक थियो। तर त्यतिखेर धैरै ढिला भैसकेको थियो।
केहि दिन पछि विश्वविद्यालयमा हल्ला चल्यो, उसले पढाई छोडेछ।
यसरी ऊ हरायो। यसरी नै तपाईका कति साथीहरु हराएका होलान्, तपाईको छेउछाउबाट। ती ती साथीहरुलाई सम्झनुहोस्। अनि समझनुहोस्, ती हराए आफूलाई खोज्न। ती हराए आफ्नो मनपसन्द चिज खान। ती हराउनुमै सही निर्णय हो। ती नहराए के बन्थे? के हुन्थे?
गीतसँगै हराएको मेरो साथी एकदिन गीतसँगै भेटिने छ।
यो विश्वासको साथ,
यो हिम्मतको साथ,
म ‘सन्ध्या एण्ड श्रृष्टि’ क्याफेमा छिरे...
शुभ दिन !