शंकर अर्याल
स्थानीय तहले पूर्वाधार तयार गर्न समय लाग्ने भएपछि भू–सेवा केन्द्रको काम भदौदेखि मात्रै सुरु हुने भएको छ । सेवाकेन्द्र सञ्चालनका लागि अनुमति लिएका नगरपालिकाहरुले त्यस्तो सेवा दिने ठाउँ र आवश्यक अन्य पूर्वाधार तयार गर्नुपर्दा समय लाग्ने देखिएको हो ।
हालसम्म उपत्यकाका ४ नगरपालिकाले भू–सेवा केन्द्रको अनुमति पाएका छन् । कलंकी मालपोत कार्यालय अन्तर्गत काम हुँदै आएका चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र नागार्जुन नगरपालिकाले भू–सेवा केन्द्रको अनुमति पाए लिएका छन् ।
कलंकी मालपोत कार्यालयले यसका लागि सबै नगरपालिकालाई यसको युजरनेम र पासवर्ड उपलब्ध गराइसकेको छ । यसअघि भूमि अभिलेख विभागले ती स्थानीय तहका कर्मचारीलाई भू–सेवा केन्द्रमार्फत् दिने सेवाको बारेमा अभिमूखिकरण समेत गरिसकेको छ । अब आवश्यक भौतिक पूर्वाधार तयार गर्ने बित्तिकै त्यस्तो सेवा सम्बन्धित स्थानीय तहले सुरु गर्नसक्ने कलंकी मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत टेकराज अर्यालले जानकारी दिए ।