सीमा रक्षाको भूमिका निर्वाह गर्दै आएका बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित नयाँगाउँवासी दोहोरो असुरक्षा झेल्न बाध्य छन्।
प्रदेशसभा सदस्य आइपी खरेलको नेतृत्वमा नयाँगाउँको पछिल्लो अवस्था अध्ययनको लागि नेपालगञ्जबाट पुगेको टोलीसँग भारतीय पक्षबाट हुने गरेको सीमा अतिक्रमण र वन तथा नदीजन्य पदार्थ तस्करबाट दिनहुँ असुरक्षित बन्दै गएको स्थानीयले बताएका हुन्।
भारतीय सीमासँग जोडिएको नयाँगाउँ पुग्न राप्तीसोनारी–४ वडा कार्यालयबाट मोटरसाइकलमा चारदेखि पाँच घण्टाको समय लाग्ने गर्दछ। करिब एक दशक अघि अस्तित्वमा आएको सो गाउँमा प्रहरी प्रशासन र सरकारी निकायको नियमित उपस्थिति हुन नसकेका कारण आफूहरु असुरक्षित हुँदै गएको नयाँगाउँ खयरभट्टीका बलबहादुर बुढाथोकीले बताए।
‘भारतीयले सीमा मिच्दै आउन थालेका छन्। सीमा कहाँ छ थाह छैन। दसगजामा नै जोतेर खेत रोप्दै आएका छन्। केही बोलौँ हाम्रो नै बासको ठेगान हुँदैन, बुढाथोकीले नयाँगाउँको अवस्थाबारे भने, ‘कसैले हेरेन हामीलाई, सुरक्षा छैन, जसोतसो बाँच्ने काम भएको छ।’ एक दशक अघि राज्यको नजरमा परेको नयाँगाउँलाई साविक बैजापुर गाविस हुँदै अहिले राप्तीसोनारी गाउँपालिका–४ मा गाभ्ने काम भए पनि न्यूनतम आधारभूत सेवा सुविधा राज्यले पु¥याउन नसकेको बुढाथोकीले बताए।
‘शिक्षा, स्वास्थ्य र खानेपानी केहीको पनि व्यवस्था छैन। सुरक्षाको त कुरै नगरौँ मौका पाउनासाथ भारतीय नागरिक र सीमामा रहेको अर्धसैनिक बल एसएसबीले गाउँमा आएर धम्काउने गर्दछन्, महिला दिदीबहिनी एक्लै हिँडडुल गर्ने अवस्था छैन’ बुढाथोकीले भने, ‘नेपाली भूमिमा आएर उनीहरुले जथाभावी गर्दा पनि हामी सहेर बस्न बाध्य भएका छौँ।’
नयाँगाउँको गुदनगौडीमा सरकारले स्वास्थ्यचौकी स्थापना गरे पनि नियमितरुपमा स्वास्थ्य सेवा र औषधि पाउन नसकेको स्थानीयको गुनासो छ। नयाँगाउँमा नेपाल प्रहरीको चौकी स्थापना गर्नुपर्ने र सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बलको टोली खटाइनुपर्ने स्थानीयवासीको माग रहेको छ।
वडाध्यक्ष कान्छा थारुले भारतसँग जोडिएको पहाडी इलाकामा छरिएको बस्ती भएकाले नयाँगाउँमा असुरक्षा र असुविधा रहेको बताए। उनले नयाँगाउँका कतिपय वडा नं १ र कतिपय नरैनापुर गाउँपालिकाका समेत बासिन्दा रहेको उल्लेख गर्दै सबै वडा नं ४ का नागरिक नभएको जानकारी दिए।
‘वडा नं ४ अन्तर्गत १३० जनाको अभिलेख रहेको छ, लकडाउनको बेला राहत बाँड्दा १२६ जनाको तथ्याङ्क सङ्कलन भए पनि १३० जनालाई वितरण गरी अभिलेख राखिएको छ’ वडाध्यक्ष थारुले भने, ‘नयाँगाउँवासीे कुन वडाको भन्नेनै निश्चित नभएको अवस्था रहेको छ।’ उनले नयाँगाउँ आवतजावतको लागि गत आर्थिक वर्षमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत घोरेटोबाटो निर्माण गरिए पनि यो वर्ष त्यहाँ विकासको योजना नरहेको बताउए।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले नयाँगाउँवासी भारतीय पक्षबाट हुने गरेको सीमा अतिक्रमण र वन तथा नदीजन्य पदार्थ तस्करी गर्नेबाट दिनहुँ असुरक्षित बन्दै गएको बताए। ‘म अस्ति मात्रै त्यहाँ पुगेर अवस्थाबारे बुझेर आएको थिएँ, जङ्गलको बीचमा रहेको बस्तीका कारण अवैध तस्करी गर्ने कार्यमा अवरोध पुगेकाले धम्काउने तर्साउने गरेको पाइएको छ’ अध्यक्ष थारुले भने, ‘नयाँगाउँवासीले सुरक्षाको माग गरेका छन् तर तत्कालै त्यहाँ सुरक्षा निकायको उपस्थिति हुने सम्भावना देखिँदैन।’
उनले नयाँगाउँमा गाउँपालिकाबाट खानेपानी, स्वास्थ्यचौकी र विद्यालयमा लगानी भएको जानकारी दिए। बाँकेको अतिविकट मानिने उक्त ठाउँ नयाँगाउँका रुपमा परिचित छ। यहाँ झोरहवा, बाँसखोली, चुनभट्टी, खयरभट्टी, कुण्टेपानी, चिउरीहवा, गुदनगौडी, मुरकट्टा (महेशपुर) र आमवासालगायत गाउँ रहेका छन्।
नयाँगाउँको झोरहवामा वन अतिक्रमण भएको भन्दै डिभिजन वन कार्यालयले १३ घरमा आगजनी गरेपछि स्थलगत अवलोकनमा पुग्नुभएका प्रदेशसभा सदस्य एवं नेकपा बाँकेका अध्यक्ष खरेलले नयाँगाउँवासीले नेपाली सीमा रक्षकको काम गरिरहेको बताए।
‘भारतीय पक्षले सीमा मिचिरहेको छ, दशगजा निश्चित छैन, प्रत्येक वर्ष सीमास्तम्भ सार्ने गरेको पाइएको छ’ उनले भने, ‘भारतले सीमा मिच्दा प्रतिवाद गरिरहेका नयाँगाउँवासीले त्यहाँबाट अवैधरुपमा हुने गरेको वन तथा नदीजन्य पदार्थको तस्करीको समेत बाँधक बनेका छन्, त्यसैले उनीहरु दुवैतर्फबाट असुरक्षित छन्।’