लगानी बोर्डका नवनियुक्त सीईओ सुशील भट्टले कार्यभार सम्हालेका छन्। बुधबार एक कार्यक्रमका बीच बोर्ड सीईओको कार्यभार भट्टले सम्हालेका हुन्।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई सीईओमा नियुक्ति गरेको हो। बोर्डका सिइओ महाप्रसाद अधिकारी गभर्नर भएपछि यो पद खाली थियो।
भट्ट यसअघि राष्ट्रिय योजना आयोगका सदस्य थिए। उनी योजना आयोगमा रहँदा भौतिक र पूर्वाधार क्षेत्र हेर्ने गर्थे। योजना आयोग छाडेर सीईओमा आउन उनले आवेदन दिएका थिए।
पछिल्लो समयमा लगानी सम्मेलनका कारण उच्च प्रशासकको समेत यो पदमा आकर्षण रहने गरेको छ। बोर्डको सीईओका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको समितिले भट्ट, डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम सिफारिस गरेर पठाएको थियो।
यो सिफारिसका आधारमा भट्ट नियुक्त भएका हुन्। भट्टको नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो राखेका थिए।
भट्टसँग योजना आयोग वाहेक बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र तथा विकास आयोजनामा १५ बर्ष भन्दा बढी कामको अनुभव छ।
भट्ट नेपालको व्यवस्थापन संघका पुर्व अध्यक्ष हुन्। काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनीयरिङ गरेका भट्ट व्यवस्थापन क्षेत्रको विज्ञको रुपमा नेपाल सरकारबाट प्रदान गरिने प्रवल जनसेवा श्री तथा भारतको टाइम्स एसेन्ट वोर्ल्ड मानव स्रोत विकास कांग्रेस द्वारा उत्कृष्ट मानव स्रोत साधन व्यवस्थापक अवार्ड पाएका छन्।