अमेरिकामा अनुहारको पहिलो प्रत्यारोपण गर्ने महिला कोनी कल्पको ५७ वर्षको उमेरमा निधन भएको छ।
सन् २००८ मा पहिलो पल्ट उनको अर्ध अनुहारको प्रत्यारोपण भएको थियो।
ओहियोस्थित दि क्लेभल्याण्ड क्लिनिकका अनुसार बुधबार इन्फेक्सन बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो, जहाँ शनिबार उनको निधन भयो।
क्लेभल्याण्ड अस्पतालका प्रमुख डाक्टर फ्राङ्क पापेले यसको पुष्टी गर्दै कोनीलाई असाधारण महिला भएको बताए।
‘उनको शक्ति यसबाट पनि पुष्टी हुन्छ, उनी अनुहार प्रत्यारोपण गरेर सबैभन्दा लामो समय बाच्ने बिरामी हुन्, ’ पापेले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘उनी अनुहार प्रत्यारोपण गर्ने पहिलो हुन् र उनको कारण पुरै मानव समाजले नयाँ वरदान पाएको थियो।’
कल्पको श्रीमानले सन् २००४ मा हत्याको प्रयास गर्दै उनको अनुहारमा गोली प्रहार गरेका थिए।
जसका कारण उनको नाक, घाँटी र आँखाको दृष्टी नस्ट भएको थियो। यो घटनामा उनको श्रीमानलाई सात वर्षको जेल सजाय भएको थियो।
उनको बिग्रिएको अनुहारका कारण केटाकेटीहरू भाग्ने गर्दथे। त्यसैले कल्पले यसबीचमा ३० वटा सल्यक्रिया गरेकी थिइन्।
सन् २००८ को डिसेम्बरमा डाक्टर मारिया सेमिओनोले २२ घण्टा लामो सल्यक्रियामा उनको ८० प्रतिशत अनुहार ठिक पारेका थिए।
सल्यक्रियापछि उनको आवाज बुझ्न गाह्रो भएको थियो। तर, उनको हसाइँ र सुघ्न सक्ने र स्वाद लिने समस्याको निराकरण भएको थियो।
कल्पको सफल सल्यक्रियापछि सन् २०११ मा टेक्सासका एक मान्छेको पुरै अनुहारको सल्यक्रिया भएको थियो।
कल्प थुप्रै टेलिभिजन कार्यक्रममा देखा परेकी थिइन् र उनी मानव अंगदानका लागि आवाज उठाउँदै आइरहेकी थिइन्।