कथा–व्यथा –१
बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित घरमा सिमा शिरिस मगर टोलाइरहेकी छिन्। छेउमै अडेस लागेकी छिन् उनकी आमा कुमारी थापा। आमाछोरी एक मिटरको दुरीमा बसिरहेका छन्।
कुमारीको अनुहारमा देखिएको मलिन भावले गहिरो निराशा प्रकट गरिरहेको छ। सिमाको एकोहोरो हेराईले धेरै अनुत्तरित प्रश्न सोधिरहेको भान हुन्छ। दुःखै–दुःखको जीवन भोगिरहेकी एक पाठेघर क्यान्सरबाट पीडित छोरी र आमाको दृष्य हो यो।
त्यसै भनिएको होइन होला, ‘एउटा तस्बिरले हजार भन्दा बढी शब्द बोल्छ।’
पूर्व–पश्चिम राजमार्गको कोहलपुर–धनगढी खण्ड। मुल सडकबाट सय मिटर भित्र पुगेपछि सिमाको घर भेटिन्छ। कच्ची सडकको दक्षिणतर्फ एक भाडावाला घरमा बस्छ उनको परिवार।
असार अन्तिम साता सिमाको घर पुग्दा, खाटमा हाते पंखा हल्लाउँदै पल्टिरहेकी थिइन्। उनको दिनरात यहिँ खाटमा पल्टिएरै बित्ने गरेको छ। हाते पंखा सितलता दिन्छ त केवल बाहिरी रुपमा। भित्री मनमा भने शितलता छैन सिमाको जीवनमा। छ त केवल अभाव, पीडा र दुःख मात्रै। पिरैपिरले उनको आँखाबाट खसेको आँशु जम्मा भएको भए सागर बन्थ्यो होला। नदि जस्तो लामो, महासागर भन्दा गहिरो छ उनको पीडा।
‘पाठेघरको क्यान्सर भएको छ। मासु पलाएपछि अप्रेसन गरेर फालेको थिए। पछि फेरि यही समस्या बल्झियो,’ उनी भन्छिन्। २०७२ मा पाठेघर क्यान्सर भएको थाहा भएको हो। जतिजति दिन बित्दै जान्छ। उनको घाउ झन बल्झिन्छ। यसरी नै पाँच वर्ष गुजारिन्। झन समस्या हुन थालेपछि चितवनमा गएर उपचार गरेको उनले बताइन्। अहिले महिनामा किमो थेरापी गरिहनुपर्छ।
उनको उपचारको लागि सारा सम्पत्ति सकिसक्यो। अहिले उपचार र पाठेघरको अप्रेसनको लागि आर्थिक अभाव बाधक बनेको छ। घरको आर्थिक अवस्थाले लाखौ खर्च गरेर अप्रेसन गर्न सम्भव पनि छैन। उपचारको लागि कति खर्च भयो एकिन नभएको सीमा बताउँछिन्। मेरै उपचारको लागि घर बेच्न पर्यो कति खर्च भयो भन्नु र? उनी भन्छिन्।
बिरामी हुनु भन्दा पहिला फ्रेस हाउस चलाउँथिन्। त्यही कमाईबाट घर बनाएको थिएँ। क्यान्सरको उपचारको लागिको घरै बेच्नु पर्यो। घर बेचेर आएको रकमले दोस्रो पटक अप्रेसन भयो। पछि अवस्था सामान्य भयो। काम गर्न सम्म सक्ने भइन।
१ वर्षअघि फेरि उही पहिले कै समस्या दोहोरियो। मासु पलाउने। पाठेघरमा मासु पलाउँदा झन् समस्या भएको सिमाले बताइन्।
पाठेघरमा मासु पलाएको शंका गर्ने प्रमुख कारण महिनावारी हुँदा धेरै रगत जानु, अत्याधिक पेट दुख्नु हो। महिनावारी हुँदा सामान्यतः ५/६ दिनमा श्राव बन्द हुनुपर्छ। तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ।
यसको दुखाई कम गर्नको लागि (किमो थेरापी) गर्नुपर्छ। २१ दिनको अन्तरालमा। सिमाले भने आर्थिक अभावका कारण एक महिनामा किमो थेरापी गर्दै आएकी छिन्। यसमा औषधि तथा इन्जेक्सनको माध्यमद्वारा बिरामीको उपचार गरिन्छ। यो निकै महंगो समेत छ।
डाक्टरहरुका अनुसार महिलामा पाठेघर क्यान्सर निकै जटिल अवस्था हो। समयमै उपचार नभए महिलाको मृत्यु समेत हुनसक्छ।
सिमाको पाठेघर क्यान्सर भने अन्तिम चरणमा छ। एकपटकको किमो थेरापीको लागि ३० हजार र औषधिको लागि १० हजार रुपैयाँ गरि महिनामा ४० हजार रुपैयाँ चाहिन्छ। लकडाउन शुरु हुनु पुर्व उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो।
त्यसपछि लकडाउनका कारण घर फर्किएपछि आर्थिक समस्याका कारण नियमित किमो थेरापी हुन सकेको छैन। किमो नगरेपछि उनको घाउ बल्झिए र झनै समस्या भएको छ।
असारमा भने उनले केही सहयोगी दाताहरुको सहयोगमा खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा थेरापी गरिएको थियो। ‘पाठेघर क्यान्सरको अप्रेसन बाहेक अर्को विकल्प छैन। घरको अवस्था निकै जटिल बन्दै गएको छ। ‘मेरो उपचारको लागि सहयोग गरिदिन सबैलाई आग्रह गर्दछु,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भनिन्।
सिमाको १८ वर्षको उमेरमा २०५६ मा मागी विवाह भएको थियो। २० वर्षीय छोरी १२ मा पढ्छिन्। १७ वर्षको छोरा र श्रीमान घरको खर्च धान्न मजदुरी गर्छन्। आम्दानीको स्रोत केही पनि छैन।
छोरा र श्रीमानले गरेको मजदुरीले साँझ विहान खान समेत नपुग्ने उनले बताइन्। आर्थिक सहयोगको लागि सरोकारवाला कहाँ अपिल नगरेको पनि होइन उनको परिवारले। तर कसैबाट सहयोग मिलेन। सिमाका अनुसार वडा र नगरपालिकामा आर्थिक सहयोगको लागि अपिल गर्दा सिफारिस पत्रबाहेक केही पाइएन। ‘अब त जिन्दगीदेखि हार खाइसकेँ। बाँचौ धर्तीको बोझ भएकी छु। मरुँ पापी काल आउँदैन,’ मलिन मुद्रामा उनले भनिन्।