उपर्युक्त सम्बन्धमा त्यस कार्यालयको मिति २०७६ साल भाद्र १८ गतेको पत्र २०७६ साल पौष १० मा प्राप्त भई व्यहोरा अवगत भयो। यस सम्बन्धमा मेरो निम्न बमोजिमको जिकिर प्रस्तुत गरेको छु।
प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको उम्मेदवारको विरुद्ध वागी उम्मेदवार बनेको भनी मेराविरुद्ध उजुरी परेको रहेछ। प्रतिनिधिसभाको गत निर्वाचनमा म उम्मेदवार नै होइन। तनहुँ क्षेत्र नं १ का करिब ८ हजार कार्यकर्ताहरूले नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई सम्बोधन गरी तनहुँ क्षेत्र नं (१) को उम्मेदवार म गोविन्दराज जोशीलाई बनाउनुपर्दछ भनी केन्द्रीय कार्यालयमा दिएको निवेदनका सम्बन्धमा हामीलाई कुनै जानकारी नदिई रामचन्द्र पौडेलले केन्द्रीय संसदीय समितिमा निर्णयसमेत नगराई मेरो जिल्लाको टिकट मनै वितरण गर्दछु भनी खाली टिकट लिई आफ्नै नाम र आफूखुसी अरूको नाम लेखी टिकट बाँडेका रहेछन्। यसरी संसदीय समितिमा निर्णय नगराई लिएको व्यक्तिको टिकट र उम्मेदवारी आधिकारिक हुन सक्दैन भन्ने मेरो जिकिर छ।
(२) अत्यधिक कार्यकर्ताको समर्थनमा मनोनयन दर्ता गर्ने दिन ११ बजे मैले मनोनयन दर्ता गराएको र रामचन्द्र पौडेलले उक्त दिन ३ बजे मात्र मेरो विरुद्ध उम्मेदवार दिएका हुन। मैले वागी उम्मेदवारी दिएको होइन। त्यसमा पनि स्वयं रामचन्द्र पौडेलले मेरो उम्मेदवारीविरुद्ध आफैँले उजुरी गरी जालझेल गरी मेरो उम्मेदवारी नै वदर गराएको र निर्वाचन आयोगले मेरो उम्मेदवारी वदर गरी धरौटी समेत फिर्ता गरेको हुँदा ०७४ सालको निर्वाचनमा म प्रतिनिधिसभाको उम्मेदवार नै होइन।
म उम्मेदवार हुन योग्यता नपुगेको अयोग्य भनी आफैँ उजुरी गर्ने र मेरो उम्मेदवारी खारेज गराउने अनि आफैँ उम्मेदवार हो उम्मेदवारी फिर्ता गरेन भन्ने उजुरी तर्कसङ्गत हुन सक्दैन। त्यसैले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा मैले वागी उम्मेदवारी दिएको र फिर्ता नगरेको भन्ने उजुरी विल्कुलै झुटा हो। म उम्मेदवार बन्न योग्य नभएको मानिस उम्मेदवार बन्न सक्ने कुरा भएन। उम्मेदवारका लागि अयोग्य व्यक्ति उम्मेदवार भयो र वदर भइसकेको नाम फिर्ता गरेन भन्ने उजुरी विल्कुल झुटा हो भन्ने मेरो जिकिर छ।
(३) जहाँसम्म आफनो उम्मेदवारी रद्द भएपछि आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गराई पराजय गराउन भूमिका खेलेको भन्ने कुरा छ त्यो स्पस्ट भएन। कुन–कुन उम्मेदवारलाई हराउन के के भूमिका खेलेको भन्ने कुरा नहुँदा यस्तो अस्पष्ट उजुरीको जवाफ दिन कठिन हुन्छ।
त्यसमा पनि २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन अयोग्य व्यक्ति चुनाव प्रचारमा गएन भन्ने र चुनाव हरायो भन्ने कुरा मिल्दछ र ? यो मिल्ने कुरा भएन। म मेरो उम्मेदवारी वदर भएपछि मलाई कुनै पनि उम्मेदवारले प्रचार गर्न जान पर्दछ पनि भनेनन्। म अयोग्य भएपछि तनहुँका सबै उम्मेदवारहरू खुशी हुँदै हाँस्दै उल्लासमय वातावरणमा अब त चुनाव जितियो भन्दै चुनाव प्रचारमा हिँडेको मैले सुनेको हुँ। म काठमाडौं आएर मतदानको दिनमा मात्र बुथमा गई मतदान गरी सोही दिन दमौली आई भोलिपल्ट काठमाण्डौ आएको हुँ। कसरी पराजय भयो ? मलाई थाहा भएन।
रोजेको ठाउँमा खाली टिकटमा आफैले नाम भरी टिकट लिँदा पनि चुनाव नजित्ने, आफू मनखुसी टिकट बाँडी चुनाव लड्दा पराजय नहुनु पर्ने किन त्यस्तो भयो मलाई थाहा छैन। म निर्वाचनको उम्मेदवारका लागि नै अयोग्य व्यक्तिले त्यस्तो वातावरण सृजना गर्यो भन्ने कुरा विल्कुलै आधारहीन हो। त्यत्रा ठूला–ठूला राष्ट्रिय रूपमै नाम चलेका नेताहरू नेपालभरि जहाँबाट लडे पनि चुनाव जीत्न पर्ने नेताहरूलाई तनहुँका जनताले किन पत्याएनन् पार्टीले त्यो कुरा पत्ता लगाएमा भविष्यका लागि राम्रो हुनेछ।
(४) जहाँसम्म २०७५ माघ ८ गते विशेष जिल्ला अधिवेशन गरी विधान विपरीत २८ सदस्यीय समानान्तर समिति निर्माण गर्न नेत्तृत्वदायी भूमिका खेलको भन्ने उजुरी परेको छ त्यसको सम्बन्धमा जिल्लाका नेपाली कांग्रेसका अत्यधिक कार्यकताहरूको भावना विपरीत स्थानीय निकायको निर्वाचनमै मनपर्दी टिकट वितरण गरी गुटबन्दी सृजना गरी पार्टीलाई गुटबन्दीको शिकार बनाई आफ्नो एकलौटी गुटलाई कसैसँग सल्लाह नगरी टिकट वितरण गरेको परिणाम संसदीय निर्वाचनमा पराजय भएको हो भन्ने मलाई लाग्दछ।
यसमा सुधार गर्न पर्यो भनी जिल्लाका नेता कार्यकर्ताहरूले बारम्बार जिल्ला पार्र्टी नेतृत्वलाई सचेत गराउँदा पनि पार्टीमा अझै गुटबन्दी सृजना गर्ने व्यक्तिहरूबाट जिल्लाका कार्यकर्ताहरू कति थिचोमिचोमा होलान् अनुमान गर्न सकिन्छ। पार्टी दिनप्रतिदिन अधोगतिमा जान थालेकाले जिल्ला कार्यसमितिका सभापति वैकुण्ठनाथ न्यौपानेलाई नेपाली कांग्रेसको विधानको धारा ४२ बमोजिम अविश्वासको प्रस्ताव राख्ने निर्णय गरी जिल्ला अधिवेशन हुने दिन २०७५। १०।०८ को एक महिनाअघि २०७५ साल पौष ८ गते नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूलाई आवश्यक व्यवस्था गरिदिनुहुन र उक्त अधिवेशनको प्रमुख आतिथ्यता गर्न जिल्लाका ५० जना पार्टीका कार्यकर्ताहरूले भेटी आमन्त्रित गरेका थिए। सो भेटघाटमा म पनि उपस्थित थिएँ। त्यहाँ भएको कुरा त्यतिखेरको भिडियोमा प्रसारित भएकै छ। आवश्यक भए म पेश गरौँला।
(५) फेरि अहिले उहाँले केन्द्रीय सभापति र केन्द्रीय समितिको निर्णयका विरुद्ध जुन किसिमको भेला गरी रहनुभएको छ। के तनहुँको भेला त्यो भन्दा पनि बढी थियो र ? आफूले जे गरे पनि पार्टीको विधानअनुकूल हुने, अरुले जे गर्दा पनि विधानविपरीत हुन्छ र ? हामीले अहिले उहाँले र उहाँको नेतृत्वमा भए जति त गरेका थिएनौँ नि त।
(६) हामीले त महामन्त्री शशांक कोइरालासमेतका अन्य पदाधिकारीहरूलाई पनि भेटी जिल्ला अधिवेशनमा आमन्त्रण गरेका र सो भेटधाटमा म पनि उपस्थित थिएँ। त्यहाँ भएको कुरा त्यतिखेरको भिडियोमा प्रसारित भएकै छ। आवश्यक भए म पेस गरौँला।
(७) उक्त प्रतिनिधिमण्डलले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गई मुख्य सचिवलाई भेटी अविश्वासको प्रस्ताव पारित गर्ने जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि खटाइ पठाइदिने व्यवस्था गर्न अनुरोध गरेका थिए। यदि समानान्तर समिति गठन गर्न खोजेको र गरेको भए उहाँहरूलाई आमन्त्रण किन गर्दथे र ? अधिवेशनको दिनसम्म पनि कहींबाट अविश्वासको प्रस्ताव नराख्नुहोस् अथवा उक्त अधिवेशन गर्न मिल्दैन अथवा जिल्लामा समस्या देखिएपछि सो समस्या समाधान गर्न कहीँ कतैबाट प्रयत्न भएको देखिएन। कहिबाट कुनै किसिमको केही जानकारी तथा सूचना प्राप्त भएन।
(८) अधिवेशन तोकिएको दिनमा क्षेत्रीय प्रतिनिधिहरू ७५ प्रतिशतभन्दा बढी उपस्थित भएको अवस्थामा अधिवेशन टार्न सक्ने अवस्था थिएन। ७५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधिहरूले सभापति वैकुण्ठनाथ न्यौपानेलाई अविश्वासको प्रस्ताव पारित गरी भेलाले नेपाली कांग्रेसको विधानबमोजिम निर्वाचन समिति गठन गरी विधान अनुसार पार्टी सभापति तथा अन्य पादाधिकारीको निर्वाचन गरी पदस्थापन गर्न जिल्ला पार्टी कार्यालय दमौलीमा जाँदा ५०० भन्दा बढी सशस्त्र प्रहरी पार्टी कार्यालयमा तैनाथ रहेछन्। हामी भीडन्त नगरी शान्तिपूर्णरूपले बस्यौँ। केन्द्रीय नेतृत्वले सबै कुरा छानबिन गर्नेछ र अविश्वासबाट हटाएको समितिलाई मान्यता दिने छैन भन्ने विश्वासमा थियौं।
(९) यतिका अवधिसम्म पनि केन्द्रबाट समस्या समाधान गर्न कुनै पहल भएन। पार्टीभित्र मत–मतान्तर हुन्छ। सुनुवाइ विना निर्णय नहुनुपर्ने हो। हामीले समानान्तर समिति गठन गरेको होइन। अविश्वासको प्रस्ताव पारित गरी वैधानिक किसिमबाट गठन भएको हाम्रो जिल्ला समिति हो। केन्द्रले हामीलाई मान्यता दिनुपर्दछ भन्ने हो। प्रश्न वैधानिकताको थियो। हामीहरूको कुरै सुनिएन। एकाएक केन्द्रीय समितिको बैठकले पुरानो समितिलाई वैधानिक समिति हो भनी मान्यता दिएको समाचार सुन्यौँ।
यद्यपि सो विषयमा अहिलेसम्म पनि हामीहरूलाई आधिकारिक जानकारी दिइएको छैन। पार्टी केन्द्रीय समितिको उक्त निर्णयपछि हामीले त्यो विषयलाई छोडिदियौं। केन्द्रीय समितिको निर्णयलाई हामीले स्वीकार गर्यौँ। किनभने हाम्रो विवाद केन्द्रीय समितिसँग थिएन।
(१०) नेपाली कांग्रेसका प्रत्येक क्रियाकला ११ पमा हामी सक्रिय छौँ। हामीले पार्टीको विधानअनुसार अविश्वासको प्रस्ताव राख्दा पनि हामी ७५ प्रतिशत क्षेत्रीय प्रतिनिधिहरूको सुनुवाइ हुनुपर्ने हो भन्ने हाम्रो मान्यता हो। नभएको समानान्तर समिति गठन गर्यो भन्ने आरोप विल्कुल झुटा हो।
(११) नेपाली कांग्रेसले नेपालको संविधान र वहाल रहेको कानुन मान्दछ भन्ने कुरामा मलाई पूर्ण विश्वास छ। एउटै व्यक्तिलाई एउटै विषयमा एकै ठाउँमा एकपटक उजुरी दिएपछि त्यो विषयमा कारबाही भएन यो उजुरीबाट कारबाही गरी पाऊँ भनी पटक–पटक उजुरी दिन र त्यसरी दिएको उजुरीमा पटक–पटक कारबाही गर्न मिल्दैन भन्ने सर्वमान्य कानुनी सिद्धान्त हो।
अब विपक्षीले मलाई पहिले वागी उम्मेदवार भयो भनी उजुरी दिई प्रतिनिधिसभाको मेरो उम्मेदवारी रद्द गराई एकपटक सजायको भागी गराएको र फेरि त्यही विषयमा महासमितिको बैठकमा मलाई उपस्थित हुन मिल्दैन भनी रामचन्द्र पौडेलले अडान लिएपछि तपाईं महासमितिको बैठकमा उपस्थित हुँदा रामचन्द्र पौेडेलले बैठक हुन नदिने भयो तपाईं बैठकमा नआइदिनुहोस् म पछि पाँच–सात दिनमा सबै कुरा मिलाउँछु भनी केन्द्रीय सभापतिज्यूले भनेपछि म महासमितिको बैठकमा गइनँ।
मलाई हुँदै नभएको उम्मेदवार हो भनी मेरो उम्मेदवार पनि रद्द गराउने, पार्टीको महासमितिको बैठकमा उपस्थित हुन नदिएपछि मलाई पुनः गठन नै नभएको समानान्तर समिति गठन भएको भनी समानान्तर समिति गठन गर्न नेतृत्वदायी भूमिका खेलेको भनी एकपटक उजुरी दिई त्यो विषयमा मलाई कारबाही गरिसकेपछि त्यो त मिलेनछ भनी पुनः विभिन्न विषय समावेश गरेको, तीनपटकको तीनवटा उजुरीबाट मलाई कारबाही गर्न मिल्दैन भन्ने मेरो जिकिर छ।
(१२) म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु। म जन्मदै कांग्रेस हुँ। मेरो रगतमा कांग्रेस छ। मेरो पिता पद्मराज जोशी २०१८ सालमा कांग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रका लागि लडिरहँदा रामचन्द्र पौडेल पोखरा संस्कृत पाठशालाबाट वामपन्थी विद्यार्थीहरूको प्रतिनिधि बनी काठमाडौंको विद्यार्थी सम्मेलनमा आएको कुरा श्रीभद्र शर्माको १३औँ शोकसभामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा स्वयम् रामचन्द्र पौडेलले व्यक्त गरेका हुन्।
त्यसको रेकर्ड पार्टी कार्यालयमा छँदै छ होला। वामपन्थीहरूको त्यो सम्मेलनले के निर्णय गर्यो होला सहजै अनुमान गर्न सकिन्छ। त्यसैले तनहुँ मा विवाद समानान्तर समितिको होइन, विवाद व्याइते कांग्रेस र ल्याइते कांग्रेसबीचको हो। तनहुँ जिल्लाको हाम्रो झगडा सक्कली र नक्कली कांग्रेसको हो। बीपी कोइरालाको सशस्त्र सङ्घर्षको बेला तनहुँमा रामचन्द्र पौडेलको कुनै भूमिका थिएन। हतियार कहाँ थिए, कोसँग थिए ? सशस्त्र क्रान्तिको के तयारी थियो अहिले पनि उनलाई सोध्दा हुन्छ उनलाई थाहा छैन। बीपी कोइराला नेपाल आएपछि तनहुँमा नेपाली कांग्रेस गठन गर्ने जिम्मेदवारी मैले नै लिएको थिएँ।
मैले नै बुढो मानिस, योगदान पनि भएका कारण गोवर्धन शर्मालाई अध्यक्ष बनाई म सचिव रही १० जनाको जिल्ला कार्यसमिति गठन गरेको हुँ। त्यो समितिमा पनि रामचन्द्र पौडेल थिएनन्। पछि २०३५ सालमा गोरखपुरमा गिरिजाप्रसाद कोइरालाले बोलाई यिनलाई पनि जिल्ला कार्य समितिको सदस्य बनाउन भनेपछि उनी जिल्ला कार्य समितिको सदस्य बनेका हुन्। म केन्द्रीय समितिको सहमहामन्त्री हुँदा उनी केन्द्रीय सदस्य मात्र थिए। मेरो समग्र परिवार कांग्रेसको नाममा होमिएको हो।
मेरो पिता पद्मराज जोशी २०१८ सालमा जेल पर्नुभएको हो। मेरो छोरा दिपकराज जाशी २०३८ सालमा नेपाल विद्यार्थी सङ्घ तनहुँमा जिल्ला कार्य समिसितको सदस्य हुँदा प्रहरी हिरासतमा परेको र ०४६ सालको जनआन्दोलनमा पनि दमौलीमा हिरासत रहेको थियो। कान्छो छोरा दिनेशराज जोशी पनि ०४६ सालको जनआन्दोलनमा पहिला काठमाडौं र पछि तनहुँमा हिरासतमा रहेका थियो। छोरी रमा जोशी २०४२ सालको सत्याग्रहमा दमौलीमा गिरफ्तार भएकी थिइन्।
मेरी श्रीमती हिमकुमारी जोशीले लामो समयदेखि दमौलीमा पार्टीका कार्यकर्ताहरूलाई निरन्तर सहयोगीको भूमिका निर्वाह गरेकी थिइन्। रामचन्द्र पौडेल दमौलीमा आउँदा झोला बिसाएर मोही, मकै र चिया खाने मेरो घर थियो। अहिले उनी अरवपति भए। त्यसोभन्दा उनलाई होच्याएको भनी अपमान होला। यथार्थ कुरा त्यही हो। उनी मात्र होइन तनहुँमा हाम्रा नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, सी।के। प्रसाई आदि सबै नेता–कार्यकर्ताहरू जाँदा पनि बस्ने घर मेरै थियो।
बीपी कोइराला तनहुँ जाँदा मेरो भूमिकाको बारेमा मैले भनिरहन नपर्ला। त्यही कारण त्यसको लगत्तै म पोखरा जेलमा बस्नुपर्यो। २०३७ साल वैशाख १ गते राजनीतिक दलका नेताहरूलाई आम माफी दिँदा म जेलबाट छुटेँ। पञ्चायतका कठिन दिनमा कांग्रेसका नेताहरूलाई बास दिने कुरा सहज थिएन। त्यसकारण म दावाका साथ भन्दछु तनहुँमा नेपाली कांग्रेसको संगठन निर्माणमा रामचन्द्र पौडेलको भन्दा मेरो योगदान बढी छ।
त्यस कारण राजनीतिको सबै मर्यादा तोडेर ७० को चुनावमा पनि तनहुँको टिकट आफैँ बाँड्छु भनी रामचन्द्र पौडेलले तनहुँको क्षेत्र नं. १ को टिकट बिक्री गरेकै हुन्। स्थानीय निकायको निर्वाचनमा पनि एकलौटी गरेकै हुन्। तनहुँ कांग्रेसको निर्माणमा धेरै मानिसको पसिना बगेको छ। कसैले एकलौटी गर्न खोज्दा त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्दछ।
यस पटकको सङ्घीय संसदको निर्वाचनमा पनि खाली टिकट लिएर मनपरि गरेको परिणाम हो यो पराजय। तनहुँ जिल्लामा कार्यक्रम राखी महामन्त्री सशांक कोइराला तनहुँ जान खोज्दा मेरो जिल्लामा किन जान पर्यो भनी महामन्त्रीलाई प्रवेश निषेध गर्ने, केन्द्रीय सदस्य शेखर कोइराला जाँदा कार्यक्रम सकभर हुन नदिने केन्द्रीय पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र तारानाथ रानाभाट जाँदा वक्तव्य निकाली कार्यक्रम वहिष्कार गर्न निर्देशन दिने यो हैकमले अब कांग्रेस पार्टी चल्दैन। केन्द्रीय नेताहरूको त यो हाल छ भने तनहुँका कार्यकर्ताको अवस्था कस्तो होला। यो विषयमा सम्बन्धित नेताहरूलाई बु्झ्दा यथार्थ कुरा अवगत हुनेछ।
(१३) २०४८ सालको निर्वाचनमा मेरो नाम तनहुँको क्षेत्र नं. २ मा सिफारिस भएकोमा मलाई हराउन क्षेत्र नं। ३ मा पठाउन भूमिका खेलेको, ०५१ को निर्वाचनमा आफू क्षेत्र नं। १ बाट निर्वाचन हार्ने भएपछि मलाई जबर्जस्ती क्षेत्र नं। १ मा पठाई आफू क्षेत्र नं. २ मा लडेको, ०६४ को निर्वाचनमा माओवादी उम्मेदवार सुरेश आलेसँग सम्झौता गरी वागी उम्मेदवार उठाई क्षेत्र नं. १ मा माओवादी र क्षेत्र नं. २ मा कांग्रेसलाई जिताउने सहमति डा. बाबुराम भट्टराईको मध्यस्थतामा भएको हो।
मलाई हराएको मात्र होइन, चुनावको दर्भियानमा बन्दीपुरको भुमर्सेमा मलगायत कांग्रेसका मेरो प्रचारमा हिँडेका कार्यकर्ताहरूलाई मार्न माओवादीसँग मिलेमतो गरी आक्रमण गर्न लाएको र मेरो पीएसओले ४ राउण्ड गोली प्रहार गरेपछि मात्र हामी ज्यान जोगाउन सफल भएका थियौँ। यति मात्र होइन, माओवादी जनयुद्धका बेला तनहुँमा मारिने र विस्थाापित हुने अधिकांश मसँंग नजिकका साथीहरू थिए। त्यस्तो किनभयो, त्यो सबै कुरा हामीले आफ्नो पैतालाले कुल्चेर राखेका छौँ। यस्तो अपराधिक मानसिकताबाट पीडित हामी तनहुँका कार्यकर्ता हौँ।
(१४) तनहुँ जिल्ला जनजातिको बाहुल्य भएको जिल्ला हो। सङ्घीय र प्रदेशसभाको ६ सिटमध्ये ६ जना नै बाह्मण र त्यसमा तीन जना पौडेललाई टिकट दिएपछि चुनाव जितिन्छ ? त्यसमा पनि रामचन्द्र पौडेल तनहुँमा जनजाति विरोधी मानिन्छन्। जनजातिका मानिसहरू विस्तारै कांग्रेसबाट तनहुँमा पलायन हुँदै छन्। यमबहादुर आले तनहुँको दक्षिणी भेगमा मगरहरूलाई कांग्रेसमा ल्याउने प्रमुख व्यक्ति हुन्। तनहुँको नेपाली कांग्रेसको सङ्गठन निर्माणमा उनको अहम् भूमिका छ। आज उनी कांग्रेसमा छैनन्। उनको भाषणको एक अंश पेन ड्राइभ पनि यसैसाथ पेस गरेको छु, यो एउटा उदाहरण मात्र हो।
आज तनहुँ कांग्रेसका धेरै कार्यकर्ताहरू यिनै कारणले डिप्रेसनमा छन्। उर्मिला थापा पूर्व सांसद हाल महाधिवेशन प्रतिनिधि आज बोली बन्द भएर उपचार गराइरहेकी छन्। जनजाति भनेपछि देख्नै नसक्ने हुँदा उनलाई भेट्नसम्म नजाने रामचन्द्र पौडेललाई तनहुँका जनताले के भन्लान् के गर्लान् ?
(१५) यसै सन्दर्भमा गत २०७५ माघ ८ गतेको अधिवेशनको सन्दर्भमा हामीहरू आफ्ना पिरमर्काहरू पोख्न सभापतिज्यू समक्ष जाँदा सभापतज्यिूले रामचन्द्र पौडेलले तनहुँको टिकट म बाड्छु भनेर खाली टिकट लगेको हो भन्नुहँदा हामी त्यहाँ उपस्थित तनहुँँका कार्यकर्ताहरू अत्यन्त मर्माहित भएका छौँ।
तनहुँको समस्या राजनितिक समस्या हो। कानूनी बाटोबाट समाधान निस्कदैन। अझै पनि तनहुँका कार्यकर्ताहरूले न्याय नपाउने हो भने त्रेता युगका दशरथका छोरा रामचन्द्रको यो कलियुगको अवतार हो। रामचन्द्रले जे गरे पनि केन्द्रीय नेतृत्वले केही गर्न सक्दैन भनी तनहुँको जिम्मा जनजातिविरोधी आपराधिक मानसिकता भएका रामचन्द्र पौडेलको जिम्मा लगाउने हो भने म र तनहुँका म समेतका कार्यकर्ताका बारेमा जे निर्णय गर्दा पनि हामीहरूको कुनै गुनासो रहने छैन। हाम्रो मन्जुरी छ।
(१६) यो विषय अहिले अनुशासन समितिको विचाराधीन भएको हुँदा मैले जानकारीका लागि पार्टी पदाधिकारीहरूबाहेक अरू कसैलाई पनि दिएको छैन। सार्वजनिक गर्न आवश्यक भई सार्वजनिक भएमा अन्यथा नलिनु हुनसमेत अनुरोध गर्दछु।
(१७) मेरा उल्लेखित भनाइहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्नुहुन अनुरोध गर्दछु।
(नेपाली कांग्रेस, केन्द्रीय अनुशासन समितिमा गोविन्दराज जोशीले पेस गरेको स्पष्टीकरणकाे संशाेधित अंश )