तथ्यांकै फरक आउने कस्तो बक्स–अफिस ?

बाह्रखरी

काठमाडौं

चलचित्रकर्मीहरूले नेपालमा बक्स–अफिस भरपर्दो नरहेको बताएका छन् । अधकट्टी टिकट भरपर्दो नभएका कारण लागु गरिएको बक्स–अफिस पनि विश्वास गर्न सकिने खालको नभएको निर्माता तथा निर्देशकहरू बताउँछन् । लागु भएको बक्स–अफिसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरूको जोड छ ।

चलचित्र ‘प्रेम गीत–३’ निर्माण सम्पन्न गरेर बसेका निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो चलचित्र रिलिज गर्न विभिन्न सर्त अगाडि सारेका छन् । तीमध्ये उनको एउटा सर्त हो– देशभरका हलमा बक्स–अफिस लागु हुनुपर्छ । र त्यो पारदर्शी हुनुपर्छ । 

“जसले जे दाबी गरे पनि भयो । तर निर्माता साथीहरू नै आधाउधी हलबाट मात्रै बक्स–अफिस रिपोर्ट आउँछ भन्नुहुन्छ । यो लकडाउन अगाडिको कुरा हो,” सन्तोष भन्छन्, “जबसम्म देशभरका सबै हलबाट एकसाथ डिजिटल तथ्यांक आउँदैन र वितरकहरूबाटै तथ्यांक लिनुपर्छ भने यसलाई बक्सअफिस लागु भयो भनेर कसरी भन्नु ?”

लकडाउन सुरु हुनुभन्दा अगाडि आफ्नो चलचित्र रिलिज गरेका निर्माताहरूले पनि चलचित्र वितरकहरूबाटै कलेक्सनको रिपोर्ट लिएको भन्दै सन्तोष प्रश्न गर्छन् ? “सम्बन्धित पक्षले जे दाबी गरे पनि वितरकबाटै हामीले डाटा लिनुपर्छ भने कसरी बक्स–अफिस कसरी लागु भयो भन्नु ।” 

प्रकाशित मिति: : 2020-07-25 08:46:50

प्रतिकृया दिनुहोस्