अटुट सम्बन्ध

बाहिर चुक घोप्टे झैं अन्धकार छ। म आकाशमा उदाएका अनगिन्ति ताराहरू हेर्दै टोलाईरहेकी छु। बिस्तारै बिस्तारै बादल लागेर ती ताराहरु ढाकिदैं छन्, जसरी मेरा खुशीहरू कुनै समय ढाकिदैं गएका थिए ठ्याक्कै त्यसैगरी। ती बितेका पलहरूले अहिले पनि मलाई बेला बेलामा नराम्रोसँग झस्काईरहन्छ। 
***
म जेठी छोरी। मभन्दा पछि जन्मेका सानो भाइ र बहिनी थिए। बुवा ईन्जिनियर हुनुहुन्थ्यो र विमानस्थलमा कार्यरत हुनुहुन्थ्यो। आमा हामी जन्मिनु अगाडिसम्म शिक्षण पेशामा आवद्ध हुनुहुन्थ्यो। हाम्रो जन्मपछि भने हामीलाई समय दिन उहाँले आफ्नो पेशा छोड्नुभयो। सानै उमेरमा आफ्नो बुवा र आमा गुमाउनु भएको हाम्रो बुवाको आफ्नो भन्नु उहाँको बहिनीमात्रै हुनुहुन्थ्यो जो लण्डनमा बस्नुहुन्थ्यो। बुवाको अनुसार फूपु पहिल्यैदेखि आफ्नो परिवारसँग लण्डनमा बस्नुभएको रे। फुपुले बारम्बार लण्डन आउन आग्रह गरेपछि बुवा र आमाले जाने निर्णय गर्नुभयो। 

बुवाले कामको शिलशिलामा प्रायजसो देश भ्रमण पनि गरिसक्नुभएको थियो। त्यसैले आमालाई लिएर जान उहाँलाई कुनै असहज हुनेवाला थिएन। फूपुले नै लण्डन घुम्ने सबै चाँजोपाजो मिलाएपछि उहाँहरु जान तयार हुनुभयो। त्यसैले म भाइ बहिनी हेरेर घरै बसेँ अनि बुवा आमा तीन महिनाको विदेश यात्रामा निस्किनुभयो।

भाइ भर्खर कलेज सकेर स्नातक पढ्दै थियो। बहिनी भर्खरै १२ कक्षामा भर्ना भएकी थिई। म चाहिँ पढाई सकेर आफ्नै क्याफे खोलेर बिजनेस गर्दै थिएँ। फुर्सदको समयमा बुवा, आमा दुबैले क्याफेमा सहयोग पुर्‍याउनु हुन्थ्यो मलाई। सबैकुरा राम्रो थियो। पिर, दुःख, व्यथा भन्ने कुरा के हो मलाई केही थाहा थिएन। ती शब्दहरु मेरा लागि केबल शब्दकोषमै सिमित थिए। 

बुवा आमा बिना तीन महिना पनि हाम्रो लागि तीन वर्ष झैं लागिरहेको थियो। हामी जतिसुकै ठूलो भए पनि सधैं बुवा र आमाको छत्रछायाँमा नै बस्न रूचाउँछौं। बुवा र आमा तीन महिनाको विदेशको बसाई सकेर फर्किने दिन पनि आयो। उहाँहरूलाई विमानस्थलसम्म लिन बुवाको अफिसको गाडी जाने भएर पनि हामीलाई खासै समस्या भएन। बेलुका पाँच बजे आईपुग्नुपर्ने बुवाआमा चढेको प्लेन रातको आठ बजिसक्दा पनि आएन।

ट्रान्जिटबाट प्लेन चढ्नुभन्दा अगाडि त फोन गर्नुभएको थियो। हामी सबैजना आत्तिन थाल्यौं। ठ्याक्कै त्यसैबेला कारको आवाज सुनियो। बुवाआमा आउनुभयो भनेर हामी ढुक्क भयौं। तर.............. त्यहाँ त बुवाको अफिसको ड्राईभर मात्रै थियो। 

अचानक कानमा कुनै आवाज ठोकियो। ‘लण्डनबाट नेपाल आउँदै गरेको प्लेन दुर्घटना। प्लेनमा सवार सबै यात्रुको मृत्यू।’ मलाई त्यसपछि केही होश भएन। होश आउँदा म अस्पतालमा थिएँ। मेरो शिरबाट आर्शिवादका हातहरु सदाका लागि उठिसकेका थिए। 

भाइ र बहिनी मेरो सामुन्ने बसेर रोईरहेका थिए। उनीहरूलाई हेरेँ अनि सोचेँ कमसेकम उनीहरुको त अभिभावकको रुपमा म छु, तर मेरो अब कोही छैन। यदि मैले आफूलाई सम्हाल्न सकिनँ भने मेरा भाइ बहिनीलाई कसले सम्हाल्छ? त्यही सोचेर मैले आफूलाई सम्हालेँ। दुई दिनको अस्पताल बसाईपछि म घर फर्केँ। घर रित्तो रित्तो लाग्न थाल्यो। बुवा आमाको काखमा हुर्केका हामीलाई सारा जगत नै अन्धकार जस्तो लाग्न थाल्यो। हाम्रो आफ्नो भन्ने फूपूमात्रै हुनुहुन्थ्यो। बुवा र आमाको मृत्यूपछि उहाँले हामीलाई बारम्बार लण्डन आउन अनुरोध गर्नुभयो। तर हामीले जान चाहेनौं। मलाई लाग्यो अबको लडाई म एक्लैले लड्नुपर्छ। बाटोमा भेटिने काँडाहरु एक्लैले पन्छाउनुपर्छ।

मैले त्यसदिनदेखि भाइबहिनीको बुवा र आमा दुबै भएर कर्तव्य निभाएँ। भाइ राम्रो ठाउँमा राम्रो स्थानमा काम गर्छ राम्रो कमाउँछ। बहिनी र म मिलेर आफ्नो क्याफे राम्रैसँग चलाईरहेका छौं। आज फेरि त्यो बिगतले मेरो आँखा भरिएको छ। सबैकुरा भएर पनि रित्तो छ जीवन। 

फेसबुकको म्यासेन्जरमा उसको म्यासेज आयो जसको साथले मेरो जीवनमा अलिकति भए पनि मिठास भरिदिएको छ। केही सम्बन्ध यस्ता हुन्छन् जुन नाम बिना नै मिठा हुन्छन्। अनुप र मेरो सम्बन्ध त्यस्तै छ। उसलाई मैले अहिलेसम्म भेटेकी छैन। फेसबुकबाट परिचय भएको अनुपमा म ती सबैकुरा पाउँछु जुन एक असल साथीमा हुन जरूरी छ। मित्रता भन्दा माथि र प्रेमसम्म नपुगेको हाम्रो सम्बन्ध निकै प्रगाढ छ। ऊ नै त्यस्तो व्यक्ति हो जोसँग म दुःख सुखको कुरा बाढ्नसक्छु। क्यानडामा आफ्नो परिवारसँग बसिरहेको अनुप सधैं मेरो बारेमा सोधपुछ गर्छ। मेरो पीडामा मल्हम लगाउने कोशिश गर्छ अनि टाढैबाट भए पनि मेरो आँखामा खुशी ल्याउने प्रयत्न गर्छ। हरेक साँझ ऊसँग एक घण्टा जति म्यासेन्जरमा कल गर्ने मेरो दिनचर्या नै बनिसकेको छ। कुनै दिन उसको फोन आएन भने पनि दिनै खल्लो लाग्छ।

अनुपसँग कुरा गरिसकेपछि म भाइ र बहिनीसँग कुरा गर्न थालेँ। यसपटक मैले मुटुमा गाँठो पारेर बहिनीलाई भनेँ, ‘आरती अब तिमीले विवाह गर्नुपर्छ। तिम्रो नजरमा कोही छ वा तिमीले कसैलाई मन पराएकी छौ भने भन। म तिमीले जो मनपराएकी छौ उसैसँग विवाह गरिदिन्छु।’ सायद आरतीले सोचेकी पनि थिइन होला मैले यस्तो कुरा गर्छु भनेर। आँखाभरी आँशु पार्दै उसले भनी, ‘आजसम्म हामी सँगै मिलेर काम गर्‍यो। सँगै धेरै पल बितायौं तिमीलाई म कसरी छोडेर जान सक्छु दिदी।’ उसको आँखामा आँशु देखेपछि मैले पनि आफूलाई सम्हाल्न सकिनँ। तर सबैको जिम्मेवार आफ्नै काँधमा भएपछि रून पनि त कहाँ पाईदो रहेछ र? गालासम्म झर्न खोजेको आँशुलाई मैले आँखाकै डिलमा थामेर राखेँ। मैले आरतीलाई सम्झाउँदै भनेँ, ‘हेर आरती, तिमीपछि भाइ  पनि बाँकी छ विवाह गर्न त्यसो नभन।’ हाम्रो कुरा सुनेर बसेको भाइले भन्यो, ‘दिदी पालो त तिम्रो आफ्नै हो नि विवाह गर्ने।’ 

यसपटक भने भाइको कुराले आँखाको डिलमा धेरैबेरदेखि थामेर राखेको आँशु गालासम्म झर्‍यो। मैले एक हातले आँशु पुछ्दै भनें, ‘के म तिमीहरुको लागि बोझ भएँ अब?’ मलाई थाहा थियो भाइको मनाशाय त्यो पक्कै थिएन तर नचाहँदा नचाहँदै मुखबाट त्यो वाणी निस्कियो। भाइले अलि डराए झैं गरेर भन्यो, ‘मेरो मतलव त्यो हैन दिदी। तिमी चित्त नदुखाउ न।’ म केही नभनी अर्को कोठामा गएँ। थाहा छैन किन किन मन भारी भयो, ‘केही गरी म विवाह गरेर यो घरबाट गएँ भने के हुन्छ यिनीहरूको? हैन पहिला मैले बहिनीकै विवाह गर्नुपर्छ। भाइले बुहारी ल्याएपछि त यो घर विरानो हुन्छ। उसलाई विवाह गरेर पठाउन पाए म त जसरी नि बाँच्न सक्छु। मैले धेरै फकाएपछि बल्ल बल्ल आरती विवाहको लागि राजी भई। 

त्यसपछि मैले मसँगै स्कूल पढेकी साथी अन्जलीको भाइ अन्जनसँग वहिनीको विवाहको गर्ने निर्णय गरेँ। स्कूल पढ्दादेखि नै म अन्जनसँग प्रभावित थिएँ। सानो भाइ जस्तै लाग्थ्यो। अन्जलीलाई घरमै लन्च खान बोलाएँ अनि साथमा उसको भाइ अन्जनलाई पनि। केहीबेर स्कूलको अनि आफ्नो बाल्यकालको कुरा गरिसकेपछि मैले संकोच मान्दै अन्जलीलाई सोधें, ‘अन्जली यदि तँ माइन्ड गर्दिनस् भने एउटा कुरा भनौं?’ अन्जलीले ओठमा हल्का मुस्कान ल्याउँदै भनी, ‘भन् न यार मैले तेरो कुरा कहिल्यै माईन्ड गरेको छु र।’ उसले त्यति भनेपछि मलाई साहस आयो। मैले हल्का भूमिका बाँधेर भनें, ‘तँलाई त थाहा छँदै छ म अन्जनलाई सानैदेखि आफ्नै भाइ जस्तै माया गर्छु। त्यसैले आज म तँ सँग उसलाई यो घरको ज्वाँई बनाउने अनुमति चाहन्छु।’ मेरो कुरा सुनेर उ निकैबेर उदास रही।

अन्जली उदास भएको देखेर मलाई मैले सोधेको प्रश्नप्रति आफैंलाई दुःख लाग्यो। मैले डराई डराई भनेँ, ‘आई एम सरी अन्जली मैले त खाली आफ्नो मनको कुरा भनेको। तँलाई मेरो कुरा मन्जुर छैन भने पनि केही छैन।’ उसले मेरो कुरा सुन्नासाथ ठूलो स्वरमा हाँस्दै भनी, ‘मैले त मात्रै तलाई एकछिन सोचमग्न बनाउन खोजेको हो। मलाई थाहा छ तेरो संस्कार कस्तो छ र तैंले भाइ बहिनीलाई बुवाआमा बिना पनि कति राम्रो संस्कारमा हुर्काएकी छेस्। तेरो परिवारसँग सम्बन्ध गाँस्नु गौरवको कुरा हो मेरो लागि। म आजै घरमा बाबा, ममीसँग कुरा गर्छु।’ मैले फेरि केही सम्झें झै गरेर भनेँ, ‘तर अन्जनको विचार के छ त्यो पनि त बुझ्नुपर्‍यो। कतै उसको कुनै गर्लफ्रेण्ड छ कि?’ मैले र अन्जलीले कुरा गरुन्जेल अन्जन मेरो भाइसँग उसको कोठामा बसिरहेको थियो। ऊ ठ्याक्कै हामी बसेको ठाउँमा आएर भन्यो, ‘हजुरलाई त थाहा छदैं छ नि दिदी म स्कूल पढ्दादेखि नै सोझो थिएँ। अहिले म मात्रै ठूलो भएको हुँ मेरो त्यो सोझोपन अझै हटेको छैन। मलाई मन्जुर छ आरतीसँग विवाह गर्न।’ 

अन्जनको कुराले अन्जली र म दुबै निकै खुशी भयौं। आरती र अन्जनले एक अर्कासँग कुरा गरे। त्यसपछि परिवारसँग कुरा गरेर छिट्टै अन्जन र आरतीको विवाह गराईदिने बाचासहित अन्जली बिदा भई। त्यसको एक महिनाभित्रै मैले सामान्य रूपमा आरती र अन्जनको विवाह गराईदिएँ। मेरो मुटुको टुक्रा मेरी प्यारी आरती हामीबाट रूँदै रूँदै बिदा भई। 

बहिनी गएपछि भाइ र म मात्रै घरमा भयौं। मैले भाइलाई पनि विवाह गर्न कर गरिरहेँ। मलाई डर लाग्थ्यो उसको विवाहपछि उसको र मेरो सम्बन्धमा तीतोपन आउने हो कि भनेर। मैले विवाहको कुरा गरेपछि उसले आफूले काम गर्ने अफिसकै एक जना स्टाफ मन पराएको बतायो। बहिनीको लागि जति निर्धक्क भएर मैले निर्णय लिन सक्थेँ त्यति भाइको लागि निर्णय लिन सकिनँ। मैले भाइले मन पराएकी केटीलाई घरमा बोलाउन आदेश दिएँ। भाइले मलाई उसको हुनेवाला श्रीमती कृतिसँग भेट्टायो। मैले त्यसपछि ढिलो नगरी कृतिको घरमा जाने निर्णय गरेँ। कृतिको घरपरिवारमा उसको बुवा, आमा, र दुई दाइहरूसँग कुरा गरिसकेपछि उहाँहरु कृतिको र मेरो भाइ आरभको विवाह गराईदिन राजी हुनुभयो। भाइको विवाह पक्का भएपछि म रातभरी निदाउन सकिनँ। मनभरी कुरा खेलिरह्यो के म अब पनि यो घरमा भाइ र बुहारीसँग बस्न हुन्छ? के भन्छ हाम्रो समाजले। समाज त यसै पनि सिसिटिभी क्यामरा जस्तै हुन्छ जसले कतै न कतैबाट अरुको घरमा के भईरहेको छ थाहा पाउँछ। 

बहिनीको झैं भाइको विवाह पनि मैले सामान्य तरिकाले गरिदिएँ। विवाहमा आरती र अन्जन पनि आए। आरती आफ्नो विवाहपछि निकै खुशी देखिन्थी। अन्जन जस्तो समझदार श्रीमान पाएकोमा ऊ आफूलाई भाग्यशाली ठान्थी। सामान्य रूपले विवाह सम्पन्न भएपछि कृति हाम्रो घरमा बुहारी बनेर आई। मलाई सधैं डर थियो भाइको विवाहपछि के हुने हो भनेर। त्यसैले एकदिन मैले हामी तीनै जना बसेर चिया पिउँदै गर्दा भनें, ‘कृति, आरभ तिमीहरूको विवाह भईसक्यो अब यसरी म तिमीहरूसँग बस्नु हुँदैंन त्यसैले म केही समयपछि छुट्टै बस्छु जसले गर्दा हाम्रो सम्बन्ध सधैं यस्तै भईरहोस्। मेरो कुरा सुनेर भाइले केही बोल्न आँटेको थियो उसको कुरा काट्दै कृतिले भनी, ‘कस्तो कुरा गर्नुभएको दिदी हजुरले? हजुर त हाम्रो आमा समान हुनुहुन्छ। सासु र ससुरा त मैले देख्न पाईनँ। तर हजुरलाई देखेर लाग्छ हजुरलाई जन्म दिने आमा साच्चै महान हुनुहुन्थ्यो। त्यसैले बिन्ती दिदी हजुर हामीलाई छोडेर जाने कुरा नगर्नुस्। हजुरले यति दुःख गर्नुभयो र त मैले आज आरभलाई श्रीमान भन्न पाएँ।’ बोल्दा बोल्दै कृतिले आँशु निकाली। भाइले पनि सम्झाउँदै भन्न थाल्यो, ‘त्यसो नभन दिदी। तिमी बरू विवाह गरेर जान्छौं भने ठिक छ तर एक्लै म कतै जान दिन्नँ।’ 

भाइ त मेरो आफ्नै थियो तर भर्खरै विवाह गरेर आएकी बुहारीले म प्रति दर्शाएको यो अपार मायाले मैले आफूलाई थाम्न सकिनँ। फेरि आँखाबाट आँशु बर्सियो तर यसपटक खुशीको आँशु बर्सियो। 

केही दिनदेखि घरकै काममा व्यस्त भएर मैले फेसबुक र म्यासेन्जर केही चलाउन पाएकी थिईनँ। अचानक मलाई अनुपको याद आयो। मैले याद गर्नु र उसको फोन आउनु एकैपटक भयो। मैले फोन उठाउन नपाउँदै उसले भन्यो, ‘यत्रो दिन कहाँ हराएकी थियौ? म्यासेन्जरमा कति कल गरेको थिएँ तिमीले उठाईनौं। म नेपाल आएको छु नि,’ उसको कुराले म निकै खुशी भएँ। 

अनुप नेपाल आएको खबरले म निकै हर्षित भएँ। समय मिलाएर म उसलाई भेट्न गएँ। उसलाई भेट्न जाँदै गर्दा मनभरी अनेक कुराहरू खेलिरहे। फेसबुकको भित्तामा सधैं देखिरहेको अनुपलाई यसपटक मैले प्रत्यक्ष भेट्ने मौका पाएँ। अग्लो कद अनि हल्का लामो कपाल भएको अनुपको व्यक्तित्वले मलाई साच्चै नै आर्कषित गर्‍यो। केहीबेरको भलाकुसारी पछि उसले भन्यो, ‘यो स्वार्थी जमातमा निस्वार्थ बनेर कसैलाई साथ दिने साथी पनि पाउन मुस्किल छ। म तिम्रो त्यो साथी बन्न चाहन्छु जसलाई तिमीले आँखा चिम्लेर विश्वास गर्न सक्छौ अनि मनमा लागेको हरेक कुरा निर्धक्क खुलेर भन्न सक्छौ। तिमी अहिलेसम्म आफ्नो भाइ र बहिनीको जिम्मेवार दिदी बन्यौ। म चाहन्छु आज तिमी मेरो त्यो जिम्मेवार साथी बन जसलाई मैले चाहेर पनि बिर्सन नसकुँ अनि तिम्रो चित्त दुखाउनु अगाडि मैले हजारपटक सोच्नु परोस्। संसारमा प्रेम र विवाह मात्रै पनि सबैथोक होइन। यो मित्रता, यो विश्वास अनि यो नाम बिनाको हाम्रो सम्बन्ध सधैंभरी अटुट रहनेछ। 

यति सबै भनिसकेपछि मैले उसको आँखामा हेरेँ। मेरो जस्तो उसको पनि बोल्दा बोल्दै आँखा रसायो।

प्रकाशित मिति: : 2020-07-25 20:00:00

प्रतिकृया दिनुहोस्