हरियो गोबरले लिपेको आगन, त्यो भन्दा अझ राम्रो हरियो गोबर पोतेको ‘थुन’।
आकारमा डोको जस्तै देखिने तर कहीँ कतै डोकाको जस्तो प्वाल नभएको, ‘थुन’ नाम गरेको सुन्दर वस्तु छ। भर्खर तयार गरेकोले होला गोबरको आलो गन्ध हाम्रो नाकसम्म ठोकिन पुग्यो।
आफू अगाडि रहेको नयाँ ‘थुन’ले गोरचन्द्र साहनीको मुहार चन्द्रमा जस्तो चम्किलो बनाएको थियो।
(प्रिय पाठकहरु उनको नाम गोरचन्द्र भए पनि गाउँलेहरु गोरचुन्न भन्छन्। कथित तल्लो जातकालाई तथाकथित माथिल्लो जातकाले नाम बिगारिदिने हुनाले पनि सुन्दै मिठो लाग्ने गोरचन्द्र बिग्रेर गोरचुन्न हुन गयो। गाउँलेहरु पनि त्यसैरी नै बानी पारेका हुन्। हुँदाहुँदा उनी पनि आफूलाई गोरचुन्न भनि चिनाउँछन्।)
चन्द्रमा जस्तो उनको मुहारको अघि राजेश हमालले ‘रातो टिका निधारमा टलक्क टल्कियो’ भन्ने गीतमा नाच्दा पनि फिक्का थियो। जब उनले आफ्नो जोवनको कहानी सुनाए तब अनुहारको त्यो चम्किइ त एकाएक गायब भयो।
गोरचन्द्रको पुस्ताका धेरै मान्छेहरुमा उमेरको गडबडी देखियो। रत्नसिंह झैं उनले पनि आफ्नो उमेरको सजिलै भेउ पाउन सकेनन् र भने, ‘यै दिन बार भूनि सम्झिन काँ (कहाँ) था (थाहा) पायौंत हजुर,’ आफ्नो उमेरबारेको अनविज्ञतालाई प्रष्ट पार्दै उनी बोले, ‘कोही औंसीको दिन भुन्दा, कोही अक्को दिन भुन्दा, कोही फलानो र तो (तँ) एक्कै साल जुन्म्याका होउ भुन्दा, त्यो साल कइले हो केही था नाई, दे क्यागरी था पाउँ? जुन्म्याका दिन देखि आफै था पाउन्या भएको भाय यति वर्षको भयाँ भुन्दा हुँ।’ उमेर भन्दा बढी जोवनमा गडबडी देखिएपछि उमेरले वेप्रवाहसँग गति लिने रहेछ।
उनीसँगै बसेका सबैको अनुमानित सहयोग जुटेपछि उनको उमेरको पत्तो लाग्यो। उनले अनुमानित ४५ बसन्त कटाएछन्। यि ४५ बसन्तहरुमा सबैभन्दा बढी बसन्त ‘थुन’ बनाउनलाई खर्च भएछ। त्यसैले कसैले साहनी बाडा गएर ‘यता थुन बनाउने को छ?’ भनि सोध्यो भने बच्चाले पनि भनिदिन्छ, ‘गोरचुन्न साहनी।’
‘नानो नाइ झड्या (सानो नाबी काटेको) देखि ठूलो दाँत झड्या’ सम्मले उनी ‘थुन’ बनाउँछन् भनि थाहा पाएका छन्। जुन उनको जोेवन धान्ने व्यवसाय हो। निगालोबाट बनेका सामानहरुलाई साहनी बाडाका धेरैले ‘जोवन धान्ने व्यवसाय भन्दा पनि जोवनलाई घिसार्ने व्यवसाय हो’ भनेका थिए।
हिमाली जिल्ला मुगुमा कोदो, चिनो, कागुनो, मार्से जस्तो मसिना दाना भएका बाली लगाइन्छ। परिश्रम गरेर लगाएको बालीको एक गेडो (दाना) पनि खेर नजाओस भनि मुगुका साहनीले आविस्कार गेरेका हुन, ‘थुन’। मसिनो गरी बुन्ने र त्यसमा गोबरले पोत्ने हुनाले अन्न खेर जान पाउँदैन। यस्तो मजाको सीप पुर्खाहरुबाट पुस्तान्तरण हुँदै गोरचन्द्रसम्म आइपुगेको हो।
निगालोबाट बन्ने ‘थुन’ साहनीबाडाका केही मान्छेलाई गुजारा चलाउने वस्तु भएपनि ‘थुन’ वस्तुबाट माल हुनै पाएन। अर्थशास्त्रको भाषाले भन्छ वस्तु बेचेपछि गुजारा चल्छ, माल बेचेपछि त्यसबाट प्राप्त हुने रकम पुर्नउत्पादनमा लागानी हुन्छ र नाफा हुन्छ। तर साहनी बाडामा ‘वस्तु बेचेपछि गुजरा चल्छ’ भन्ने व्यवहार शास्त्रको भाषा मात्र लागु भएको छ।
किनकि उही ‘थुन’ हो, जो वस्तुबाट माल बन्छ। त्यसका लागि ‘थुन’ बेचेर प्राप्त हुने रकम लगानी र पुनर्लगानीको चक्रमा सामेल भएको हुनुपर्छ। तर साहनी बाडामा यो चक्र पुरा हुन त के सुरु हुन पनि पाएको छैन।
दुई दिन निगालो ल्याउन लाग्नु, दुई दिन बनाउन लाग्नु र एक दिन गाउँगाउँमा बेच्न जाँदा पाँच दिन वित्छ, अन्तिममा त्यसबाट प्राप्त हुने निकै कम मूल्यबाट गुजारा गर्ने कि फेरी लगानीको चक्रमा सामेल हुने बढो दुबिधा छ।
बजारमा एक जना श्रमिकले आफ्नो श्रम बेच्दा दैनिक सात सय देखि एक हजार रुपियाँसम्म ज्याला पाउँछ। गोरचन्द्र साहनीको ‘थुन’ बनाउनलाई निगालो ल्याउने देखि उपयोग हुने वस्तु तयार पारेर गाउँठाउँमा लिएर बेचुन्जेलसम्म पाँच दिन खर्च हुन्छ। त्यस बापत उनले जम्मा सात सय रुपियाँ कमाउँछन्। बजारले निर्धारण गरेको मूल्यसँग तुलाना गर्ने हो भने तीन हजार पाँच सय देखि पाँच हजारसम्म उनको कमाइ हुनु पर्ने हो। तर ‘थुन’बाट प्राप्त हुने रकम बाहेक अरु सबै घाटा भइरहेको छ।
उनको मेहनत अनुसार कमाइ भैदिएको भए केही रकम घर खर्चको लागि छुट्याएर बाँकी रकम पुनर्उत्पादनमा लाग्न सक्ने सम्भावना रहन्थ्यो। तर आशाको त्यान्द्रो एकसरो धागो जस्तै कच्चा भएपछि पुनर्लगानीको सोचमा ‘पहिलो गासमै ढुंगा’ लागेझैं भएको थियो।
उनको श्रमले पाउने मोल गोलमाल छ। ‘थुन’को मोल पाउने बेला उनले कम्तिमा चार दिन बराबरको मोल र समयमा गडबडी आउँछ। यहिबेला अदृश्य रुपमा उनको आयु लुटिन्छ। आयु लुटिएको थाहा नपाउने उनलाई उमेरको छुटेको के थाहाँ हुन्थ्यो र!
‘थुन’ बनाएको दिन गोरचन्द्रको मुहार उज्यालिन्छ र त्यो मनमनै गुनगुनाउँछन्। ‘यतिका दुःख गरेको छु, धेरै नभए पनि पन्ध्र सय त कसो नकमाउँला?’ यति सोच्दा उनी खुब आनन्दित हुन्छन्। त्यो साँझ एक गास कम हुँदा पनि पेट अघाएसरी हुन्छ। घर परिवामा भरासो (खुसी) थपिन्छ। चैनको निद्रा लाग्छ। रात देखिने मिठा सपनाले संसार घुमाउँछन्।
बिहान ‘थुन’ पिठीउमा राख्दा आफूले जन्माएका छोराछोरीको झैं माया लागेर आउँछ। जब कोही किन्न तयार हुन्छ तब सौताको छोराछोरीको भन्दा बढी ‘थुन’को अमूल्यन हुन थाल्छ। एक दुई ग्राहकबाट तर्किन मन लाग्छ। तर ‘दै रुसौली, क्या चुसौली?’ जस्तो व्यवहार खेप्न थालेपछि उनीहरुले भनेकै मोलमा धक्याउन मन लाग्छ। आफ्नो सीप देखि घृणा जागेर आउँछ। जोवन देखि रिस उठ्छ। त्यसबेला उनी बकबक गर्छन्, ‘धिक्कार छ यो चोइट्या मोल नपाउन्या जोवनदेखि।’
उनको पाँच दिनको कमाई जम्मा सात सय भएपछि हात नलागेको बाँकी कमाई जुवा खेलेर हारेसरी पछुताउँदै घर फर्किन्छन्। घर आउँदासम्म जीउ गलेर ङ्खयात्को (जंगली च्याउ) जस्तो भइसकेको हुुन्छ। घरमा समयमै खाना बनाउन लागेकी श्रीमतीलाई ढिलो गरी भनेर आरोप लाउन मन लाग्छ। काममा लागेका केटाकेटीसँग उसै झर्किन्छ, ज्यान। हरकोहीसँग तर्किन मन लाग्छ।
यसरी चलेको जोवन उनीहरुको भाषामा घिसार्ने नै हुने रहेछ। घिस्रिदा घिस्रिदा साल समय कति बित्यो के थाहा? सायद, दुनियामा उनीहरुको उमेरको हिसाब राख्ने क्यालेन्डर नै बनेन। फूल उम्रनलाई झरेका हुन भन्ने आशा क्षणभरमै फुल झर्नलाई उम्रेका हुनमा पुगिजान्छ।
‘यस्तै बेला सोच्ताछौं रारा दह (ताल) क्या गहिरो होला जति हाम्मा दुःख छुन्,’ उनको निराशा पोखिन्छ, ‘राराको निलो पानीमा रमाउन्या संसार हाम्रा निला पीडा कहिले देखला? राजा आइकन (राजा महेन्द्र आएको समयलाई स्मरण गर्दै) रारामात्रै देख्या, हामीकन देख्यानुन्। हाम्मो जोवन देख्यानुन्। अब झुन को देख्न्या छ? आम्ना (आङ्खना) मान्ठ मात्तै देख्न्या राजनीतिका आँखा हामीकन देख्न बनाएकै रैनछुन्।’
जनताको घर आगनको सिंहदरबार भनि टोपलिएको स्थानीय सरकारले हालसम्म साहनीको सीप जोगाउने र निगालोको सरसामानको बजारिकरण गर्ने बारे सोचेको छैन। श्रम गरे अनुसारको मोल नआउने भएकाले जताततै निराशा छ। घर भित्रै मडारिने निराशाको कालो वादलले मनमा घाम लाग्न कहिले दिदैन।
परिणाम साहनीका नयाँ पुस्तामा आफ्नो मौलिक पेसाप्रति कुनै लगाव छैन। रोड खन्ने काममा लाग्न तयार छन्। इन्डियाका गल्लीमा भौतारिएर उमेर बेच्न तयार छन् तर निगालोसँग साइनो गाँसिरहन तयार छैनन्।
‘सरकार हामीकन किडा किर्मिलाजा (किरा कमिला जस्ता) मान्दैन। अनि क्याका बिअ जोवन बाइजान्या, मोल नआउन काम लागनन्,’ उनले तितो ओकले, ‘आजभोली छाछोरी (छोराछोरी) कोइ पुनि डोको, डालो बुन्दैनुन्। सिक्न चायाका पुनि छैनुन्। हामीले यै पेसा रोजिकन केही उपति पाड्यानु (उभो लगिएन)। तीनुकन (उनीहरुलाई) न्यैपुडो टालिराख क्यालै भुनौं।’