काठमाडौँ । पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि सत्तारुढ दल नेकपाले जारी स्थायी समिति बैठक स्थगित गरेर संवादका लागि समय उपलब्ध गराए पनि शीर्ष नेताबीच संवाद अघि बढ्न सकेको छैन । बैठक स्थगित भएको तेस्रो दिन बित्न लाग्दा पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच संवाद हुन नसकेको हो ।
बरु ओलीले बिहीबार प्रमुख प्रतिपक्षी काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । तर ओली र प्रचण्डबीच भेटवार्ता र संवाद हुन नसकेको उनीहरुका सचिवालयले पुष्टि गरेका छन् ।
‘मङ्गलबारयता दुई अध्यक्षबीच कुनै भेटवार्ता र संवाद भएको छैन । दुई अध्यक्षबीचको भेटवार्तालाई हामीले त्यति धेरै नोटिसमा पनि राखेका छैनौँ । भयो भने तपाईंहरुले नै समाचार बनाइहाल्नु हुन्छ’, ओलीका प्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले रातोपाटीसँग भने, ‘भोलि, पर्सितिर हुन पनि सक्छ ।’