‘विगत केही महिनायता नेपाली राजनीतिक जगतमा नेपालको नक्सालाई लिएर ठूलै तरंग पैदा भयो। सडकदेखि सदनसम्म यसले सबैलाई एकै ठाउँमा उभ्याइदियो। जसको प्रत्यक्ष प्रभाव मेरो छोरा विराजमा पनि पर्यो।
महिनौंदेखि लकडाउमा परेको समयलाई उपयोग गर्दै उसले मकैको पातमा नेपालको चुच्चे नक्सा बनायो। भारतद्वारा मिचिएको नेपाली भूमीसहितको नक्सा त्यो पनि पातमा देखेपछि मलाई अनौठो लाग्यो। हुन त म पनि पहिलादेखि पेन्सिलले कागजमा विभिन्न चित्र बनाउँदै आएको थिए। तर पातमा चित्र बनाउने काम देखेपछि मलाई अनौठो लाग्यो।
‘बिगतमा छोराले मैले जस्तै पेन्सिलले विभिन्न चित्रहरु बनाएको देखेपछि लाग्थ्यो, छोरा पनि म जस्तै भएछ। तर जब उसले पातमै विभिन्न आकृतिका चित्र बनायो। त्यसपछि मलाई पनि पिपलको पातमा चित्र बनाउन मन लाग्यो। दिनभरी मरिमेट्दा पनि चित्र बनाउन सकिन। त्यसपछि लाग्यो बाबु त म भन्दा धेरै अगाडि बढेछ चित्रकलामा।’
जुम्ला चन्दननाथ नगरपालिका–२ का भिम बहादुर भण्डारीले बिएल नेपाली सेवासँग यति भन्दै गर्दा छेउमै बसेका उनका छोरा विराज भण्डारी गमक्क थिए। हाम्रो सामाजिक संरचना अनुसार बाबुले छोरोको प्रशंसा अपपादमा मात्र गरेको देख्न पाइन्छ। किनकि बाबुले छोरोको प्रशंसा गर्यो भने छोरो अगाडि बढ्दैन भन्ने मान्यता छ। (छोराको मात्र नभइ आङ्खना छोरीको पनि प्रंशसा गर्दैन।)
बाबुले छोरोको आलोचना गरिरह्यो भने उसमा इख पलाउँछ र प्रगति गर्छ भनेर बुढापाकाहरुले बताउने गरेका छन्। उखानै छ, ‘इख नभएको छोरो र बिष नभएको सर्प हुन्न।’ (तथापी छोरीलाई सामान्य नजर अन्दाज गर्न मिल्दैन।)
बाबुछोरोको सम्बन्धका विषयलाई लिएर गाउँघरतिर विभिन्न किस्सा पाइन्छन्। जसमध्येको एउटा किस्सा छ,
‘एका देशको एउटा घरमा बाबु, आमा र छोरा हुन्छन्। छोरो ठूलो भएपछि काम गर्न थाल्छ। छोराको कामलाई आमा जहिल्यै प्रशंसा गर्छिन्, तर बाबु जहिले पनि आलोचना मात्रै। आमाको प्रशंसाले छोरो उत्साहित थियो भने बाबुको जस नदिने स्वाभावका कारण ऊ निकै निराश।
छोरो विस्तारै चिडिदै गइरहेको थियो। उसलाई बाबुदेखि साह्रै रिस उठेको थियो। बाबुबाट सँधैजसो उस्तै खालको व्यवहार खेप्दा आमासँग गुनासो त बढेको थियौ नै। तर अत्ति हुँदा ऊ एक दिन बाबुलाई मार्ने अवस्थामा आइपुग्छ। साँझ बाबुलाई मार्ने भनेर ढोकाको कुनामा लुकेर बसेको छोरोले आमा र बाबुको संवाद सुन्छ।
आमाले बाबुलाई सँधै आलोचना मात्र किन गर्छौ भनेर रिसाउँछिन्। त्यहिबेला बाबुले भन्छन्, ‘मैले छोराको प्रशंसा मात्र गरे भने ऊ फुर्किदै जान्छ र बिग्रन्छ। मेरो छोरोले राम्रो गरिरहेको छ। म खुसी छु। मेरो पनि मन हर्षले गदगद छ। तर छोरो नबिग्रियोस् भनेर मैले यस्तो गरेको हुँ।’
बाबुलाई मार्ने भनेर बन्चराको बीड समाएर कुनामा बसेको छोरो भावविह्वल हुन्छ। ऊ आएर बाबुसँग माफी माग्छ।’
बिराजको जीवनमा प्रस्तुत किस्सा भन्दा उल्टो भएको छ। बिराजका बाबु उनको प्रशंसा गरिरहेका छन्। कारण छोराले आफूभन्दा राम्रो गर्यो भनेर। ‘यस्तो अवस्थामा छोराको प्रशंसा नगरी बस्न सकिएन,’ उनले भने।
बाबु आमाको प्रशंसा नै बिराजको चित्रकलाको लागि सबैभन्दा ठूलो प्रेरणाको स्रोत हो। हरेकको जीवनमा कोही खास मान्छे हुन्छ, जसले उसलाई अगाडि बढ्नको लागि हौसला दिइरहेको हुन्छ। बिराजका लागि आमा बाबु नै खास मान्छे बने।
‘पहिलो पटक मकैको पातमा नेपालको नक्सा बनाएको थिए। बुबा मम्मीले मन पराउनुभयो,’ उनले भने, ‘त्यसपछि नै अरु बनाउने ऊर्जा मिलेको हो। पछि अरू पातमा पनि नक्सा बनाए। सबैभन्दा सजिलो पिपलको पातमा हुने भएकोले त्यसैमा निरन्तरता दिएको छु।’
बिराज पिपलको पातमा मान्छेलाई देखेकै आधारमा र फोटो हेरेकै आधारमा जस्ताको तस्तै आकृति बनाउँछन्। जसले गर्दा उनी चर्चित मात्र होइन सामाजिक संजालको भाषामा भाइरल बनेका छन्।
विराजले भने, ‘मैले बनाएका लिफ आर्टहरु फेसबुक, इन्ट्राग्राम, टिकटकहरुमा भाइरल छन्। विभिन्न क्षेत्रबाट प्रतिक्रिया आइरहेको छ,’ उनले भने, ‘यसले मलाई थप हौसला मिलेको छ। यसैमा थप केही गरौं भन्ने लागेको छ। म यो कलामा नयाँपन दिन चाहन्छु। फुर्सद हुन्जेलसम्म यसलाई निरन्तरता दिइरहनेछु।’
संसारभर फैलिएको कोरोना भाइसरको प्रभाव नेपालमा पर्ने निश्चित जस्तो भएपछि सरकारले हतारिएर लकडाउन गर्यो। त्यस यता विद्यालयहरू खुलेका छैनन्। सबै तहका अध्ययन अध्यापनमा प्रभाव परेको छ।
झापाको गौरादह कृषि क्याम्पसमा बिएस्सी एजी दोस्रो वर्षमा अध्ययनरत उनको पढाइ पनि रोकियो। रोकिने संकेत पाउने वित्तिकै उनी जुम्ला फर्केका थिए।
सुरूका केही दिन त्यत्तिकै बिताएका उनी भन्छन्, ‘चार दिवारको कोठामा बस्दा बस्दा बोरिङ भइसकेको थिए। त्यही बेला युट्यूबबाट लिफ आर्टको बारेमा जानकारी मिल्यो। त्यसले मलाई निकै तान्यो र मलाई थप सहयोग प्राप्त भयो। अनि त्यसैमा लागे।’
पातमा नेपालको नक्सा बनाउन सुरू गरेदेखि हालसम्म उनले थुप्रै चर्चित व्यक्तिहरुको चित्र बनाएसकेका छन्। हामी उनको घर पुग्दा गौतम बुद्ध, लियोनल मेसी, मदन भण्डारी, केपी ओली, राजेश हमाल मात्र कहाँ होर, हाँस्य कलाकार धुर्मुस पनि ‘म त मर्छु कि क्या हो’ मुडमा खुम्चिएका थिए भने पातमा खरायो, बाघ लगाएतका जनावरहरु नाँचिरहेका थिए।
पिपलको पातमा सजिएका उनीहरुलाई बनाउन बिराजले लकडाउनको सुरूका १०, १२ दिन बाहेक अरु सबै दिन लगाएका थिए। उनी सानैदेखि बाहिर हिँडडुल गर्ने स्वभावका नभएकाले उनले दत्तचित्त भएर काममा लाग्न सकेको उनका बुबाले सुनाए।
‘खासै बाहिर जाँदैन। प्रया यहि काममा लागिरहेको हुन्छ,’ उनले भने, ‘म बाहिर निस्किए भने पिपलको पात ल्याइदिनु भन्छ। बरु आजकाल मेरो काम बढेको छ। जता गएर फर्किदा पनि बाबुको लागि पिपलको पात ल्याएर आउँछु।’
बिराजले हालसम्म पिपल, ओखर, अंगुरको पात र मकैको पातमा प्रसस्त तस्वीर बनाइसकेका छन्। त्यस मध्ये सबैभन्दा सजिलो पिपलको पातमा हुन्छ। ‘पिपलको पातमा प्रसस्त रेसाहरु हुने भएकाले जस्ताको तस्तै आकृति निकाल्न सजिलो हुन्छ,’ उनले भने।
हरेक कलाकार जहिले पनि मौलिकता र नयाँपनको खोजीमा आङ्खनो ध्यान केन्द्रीत गरिरहेको हुन्छ। प्रकृतिमा पाइने विभिन्न स्रोत साधको उपयोग गर्दै तस्वीर होस् वा जीवन जगतका आकृति सजाउने कलाकारहरुको नियमितता जस्तै हुन्छ। यहि क्रममा उनले पिपलको पातमा विभिन्न कलाकृति बनाएका हुन्।
उनले बनाएका चित्रको कारण उनलाई पछ्याउनेहरुको संख्या बढेको छ। फेसबुकमा उनका साथीहरु बढेका छन्। उनलाई धेरैले आङ्खनो स्केज पनि कोरिदिन भनेका छन्। लाग्ने शुल्क तिर्न तयार छौ पनि भन्छन्। तर बिराजलाई शुल्क लिएर काम गर्न अलि अप्ठेरो लागिरहेको छ।
‘पहिलो कुरा म व्यावसायिक कलाकार होइनन्। आफ्नो कलाको मूल्य तोक्न आफैलाई अप्ठेरो लागेको छ,’ उनले भने, ‘पिपलको पातमा बनाएका चित्र बेचेर पैसा लिए भने अरुले के भन्लान जस्तो पनि लाग्छ।’
चित्र देख्नेहरुले व्यावसायिक रुपमा अगाडि बढ्न सुझाव दिइरहन्छन्। तर उनी अझै धेरै र नयाँ नयाँ कुरा सिकेर मात्र व्यावसायिक रुपमा अघि बढ्ने सोचमा छन्।
पातको चित्रकला तुलनात्मक रुपमा असजिलो छ। हालसम्म उनले बनाएका मुर्तचित्र हुन्। त्यस माथि पनि मान्छेका चित्र बढी छन्। यी जस्ताको तस्तै बनाइने भए पनि कागजमा चित्र कोरे जस्तो सजिलो छैन। पातका रेसाहरुमा बढी खेल्नुपर्छ। एउटा रेसामा मात्र थोरै मिस्टेक हुन गयो भने पुरै मेहेनत खेर जान्छ। त्यसैले एकदमै सचेतता आवश्यक हुन्छ।
एउटा मान्छेको आकृति पातमा बनाउनु पर्यो भने चार देखि पाँच घण्टासम्म लाग्छ। अलि सजिलो खाले आकृति दुई तीन घण्टामा पनि बन्छ।
पातमा चित्र बनाउने साधन हुन्छ। ब्लेड भएका पेनहरु प्रयोग गर्ने गरिने कुरा उनले युटुबमा देखेका थिए। एक त जुम्लामा आवश्यक स्रोत साधनको अभाव, त्यसमाथि लकडाउन भएको हुनाले आवश्यक पर्ने सामान नजुटेपछि नांगो ब्लेडले नै पात काट्ने काम गरिरहेका छन्।
जुन निकै असजिलो छ। यसरी चित्र बनाउने क्रममा उनको हातमा कयौ पटक काटिएका दागहरु मेटिएका छैनन्। जसरी पिपलको पातमा चित्र बनाउने र नयाँपन दिने उनको रहर मेटिएको छैन। विराजमा देखिएको चित्र सम्बन्धीको यो सबै लगाव हेर्दा उनी आफ्नो कलालाई विराट बनाउनतिर लागेको संकेत गर्छ।