नेपालले रामको दावी गरेपछि श्रीलंकामा रावणको खोजीकार्य सुरु

नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमा जन्मिएको दावी गरेको दुई साता बित्न नपाउँदै श्रीलंकाले पनि रामायणको खोजीलाई तिब्रता दिएको छ। 

पौराणिक कालको पात्रको विषयलाई लिएर विवाद उब्जिदा श्रीलंका आफूसँग जोडिएको पात्रको खोजीमा भिड्न लागेको हो। 

श्रीलंकाको नागरिक तथा उड्डयन विभागले रामायणले प्रयोग गरेको हवाई मागको शोध गर्ने बताएको छ। सिंहाली भाषामा हालै छापिएको एउटा विज्ञापनमा मानिसहरूलाई राजा रावण र किंवदन्ती बनेको प्राचीन हवाई मार्गको बारेमा कुनै दस्तावेज वा साहित्य भए उपलब्ध गराउन भनिएको छ। 

विभागका पदाधिकारीले आधिकारीक जानकारी संकलनका लागि सोध गर्न लागिएको बताए। रावणको विषयमा थुप्रै कथा छ। रावण र उनको हवाई मार्गको विषयमा पनि यस्तै कहानी रचिएका छन्। ‘हामी सबै कुराको अध्ययन गर्न चाहन्छौं,’ ती पदाधिकारीले भने। 

श्रीलंकाको पर्यटन क्षेत्रमा रावणको ठूलो योगदान मानिन्छ। सिंघाली र बौद्ध धर्मालम्बीहरू रावणलाई आस्थाको रूपमा हेर्ने गर्छन। श्रीलंकालाई रावणको देश पनि भनिन्छ। श्रीलंकाले आफ्नो पहिलो स्याटलाइटको नाम नै रावण–१ राखेको थियो। 

नेपाली प्रधानमन्त्री ओलीले वीरगञ्जको ठोरी नजिकै रामको जन्म भएको हुनसक्ने बताएपछि हाल नेपाल–भारत संस्कृति पनि चिसिएको अवस्थामा छ। ओलीले भारतले नेपालको सांस्कृतिक अतिक्रमण गरेको आरोप पनि लगाएका थिए।
 

प्रकाशित मिति: : 2020-07-21 16:52:13

प्रतिकृया दिनुहोस्