गोयबल्सका यी गोर्खे औतारहरु

रातोपाटी

काठमाडौँ

 

खगेन्द्र संग्रौला

‘एफपी अस्पतालमा चौबीस घण्टासम्म सोधपुछ गर्न कोही आएनन् । अस्पतालमा ट्वाइलेट प्रयोग गर्न नसकिने अवस्थाको थियो । खाना त कुकुरलाई जसरी दिइन्थ्यो । माइकिङ गरेर खाना बाटामा छाडिन्थ्यो । कुकुरलाई पनि यसरी दिँइदैन । माइकिङ गर्दा भनिन्थ्यो— तपाई्रँहरुको खाना बाहिर बाटोमा छ । लिन आउनोस् । नत्र कुकु्रले खाइदिन्छ ।......संक्रमित त्यत्तिकै भागेका र सुसाइड गरेका होइन रहेछन् ।’

भुक्तभोगीको क्वारेन्टिन अनुभव, असार २७, कान्तिपुर

एफपी माने सशस्त्र प्रहरी बल । निधारमा सरकारको सिन्दुर पहिरिएको छ । ‘सत्य सेवा सुरक्षण’— चिनारीपाटीमा संकल्प वचन यस्तो छ । भन्नलाई सत्यको रक्षक उही, जनताको सेवक उही, लोकको सुरक्षाकारी उपकारी उही । सरकारको परम् बफादार आदेशपालक उही । भनुँ भने सरकारको चरित्रको प्रतिविम्ब पनि उही । त्यस्तो सशस्त्र प्रहरी बलद्वारा सञ्चालित अस्पतालको क्वारेन्टिनको गति यस्तो छ । क्वारेन्टिनको यो अत्यासलाग्दो अवस्थाले भन्छ— अपवादलाई छाडेर नेपालका क्वारेन्टिन निसासलाग्दा नर्क हुन्  । क्वारेन्टिन बन्दी यातनागृह हुन् । क्वारेन्टिन बलात्कार कोठी हुन् । क्वारेन्टिन कोरोना भाइरस संक्रमणस्थल हुन् । क्वारेन्टिन छिःछिः–दूरदूरका अखाडा हुन् । क्वारेन्टिन प्रायोजित सरकारी मृत्युशाला हुन् । र, क्वारेन्टिन वास्तवमा सरकारको मति र गतिको झलक दिने ऐना हुन् । त्यस्तो ऐना, जसमा सरकारको निकम्मापन, असंवेदनशीलता, अमानवीयता र भ्रष्ट चरित्र छर्लङ्गै देखिन्छ ।

प्रकाशित मिति: : 2020-07-18 09:55:09

प्रतिकृया दिनुहोस्