मुगु डायरी १५
साहनी बाडो आकारमा सानै छ। कति घर एकअर्कोमा टाँसिएका छन्। केही घर नजिकैको दुरीमा छन्। टाढा भनिएका घरको दुरी पनि एक, दुई मिटरको फरकमा छन्। जुन हिमालको बस्ती विकासको परम्परा हो। जसका कयौं फाइदाहरु छन्। चोर नलाग्ने, संचार गर्न सहज हुने, सहयोग आदनप्रदान हुने, चिसो नलाग्ने आदि कारणले पनि घरहरु नजिक बनाउने गरिएको बुढापाकाहरु बताउँछन्।
पञ्चराम सहानीको हातमा धुवा पुत्ताइरहेको थियो। चुरोट तानीरहेका उनी हामीलाई सहयोग गर्न तम्सिए। ‘ए हालाना, ए फलाना’ भन्दै उनले चार पाँच जनालाई बोलाए। एकैछिनमा हामीले खोजेजतिका मान्छे जुटिहाले।
त्यसरी जुटेकाहरु मध्ये अलि ढिलो गरी पुगेका थिए रत्नसिंह कामी। तर उनको उमेर थाहा भएन। नागरिकतामा के छ भनि सोध्दा उनले ‘कोजानी’(केही थाहा छैन) भने। सँगै भएका अरूले फलानो र यो एकै छाउँल (छिमलका) हुन् भनेपछि केही मेसो आएको हो। तर पनि एकिन त भएन। एक जना अर्कोले ‘म भन्दा दुई वर्ष कान्छो हो’ भने। उनी ५५ वर्षका भएछन्। रत्नसिंह ५३ वर्षका भए। ‘आउ आउ (हो हो) त्यति भया क्यार,’ उनले अनुमानकै भरमा भने।
तर पनि उनको उमेर क्लियर भएन। उनी डोको बनाउँमा सिपालु छन्। त्यो सीप कहिले सिकेर डोको बनाउन थाले स्वयम उनलाई पनि केही थाहा छैन। ‘नानैबाट (सानो हुँदा) डोको बन्न लाग्या हुँ,’ उनले भने, ‘त्यैबेला बीस वर्षको छियाँ (थिए)।’ यहाँ पनि उनका कुरा बाझिए। गाउँघरमा अहिले पनि २० वर्ष सानो उमेर होइन। उनले सानै भनेको उमेर त्यो भन्दा कम हुनुपर्छ।
जिन्दगीकै हिसाब किताब गोलमाल भएका उनी जस्ता धेरै मान्छेलाई आफ्नो उमेरको किन पो प्रवाह हुन पर्यो र? बस बिना हिसाबकिताब वर्षौं जिन्दगीको पैया गुडिरहेको छ। उनको उमेरको तालमेल नमिले पनि सीपको तालमेल भने गज्जबले मिलेको छ। त्यसै तामेलले गर्दा त होनि जुम्लामा समेत साहनी बाडाका मान्छे निगालोको सामग्री बनाउँछन् भनेर चिनिने।
साहनी र निगाला एक अर्काका परिपुरक जस्तो मानेर उनीहरुको चर्चा जति छ त्यो भन्दा कयौं गुणा होचो उनीहरुको सीपको मूल्य पनि चर्चा हुन्छ। रत्नसिंहले बनाएका सामानको मोलको कुरा गर्यो भने उनी भावनामै झोक्किन्छन्। निराशाले छपक्कै छोपिन्छन् र एकाएक उनको स्वर बदलिन्छ। अनुहारले रंग फेर्छ। ‘मोल कति भुन्नु।? किन्या पै रणकुको स्वमुनको कुडा हो,’ माल अनुसारको मोल दिन नरूचाउने ग्राहकप्रति आवेश पोखिन्छ, ‘इच्छा भया पै भुन्याकै मोला दिदा, नभया नदिदा। हाम्मो सीपकन को मान्या (कसले गनेको छ) छिया। यइथै छ, हजुर।’
उनी हामीले साहनी बाडामा भेटाएका मध्ये सबै भन्दा निराश पात्र हुन्। त्यहाँ भएकाहरु ठट्टैठट्टामा कयौं पटक हाँस्दा पनि उनका दन्त हाँसेनन्। अग्लो कद, दुब्लो शरीर, पँहेलो छाला, कपडा धोएर निचोरे जस्तै चाउरी परेको निधार, मैला कपडा, सफा मन। सग्लो सुर्य अनुहारमा पर्दा पनि उज्यालिन नसेकेको अनुहार। उमेर ढल्कदै जाँदा भित्र पसेको गालामा हिमालझैं उठेका दुईवटा मुसाले उनलाई चिनाउँछन्।
थाहा नपाउने गरी धेरै पकट फोटा खिच्दा पनि उनको हाँसो कैद गर्न सकिएन।
सामाजिक संरचनाले सीपका धनी वा आविस्कारकलाई सम्मान दिन नसक्दा पुर्खाहरुबाट नै नैरास्यता उनीहरुको छाया बनेको छ। सीपसँगै नैरास्यता पनि पुस्तान्तरण भयो। परिणाम तमाम रत्नसिंहरु नैराश्यताको छाहारीमा बसेर दुःखको लामो सास फेरिरहेका छन्। मनमा खुसीको पाहारीलो घाम लाग्नु भनेको त एकादेशको कथा जस्तो बनेको छ।
निगालोको काम गर्नु काम मात्र कहाँ होर? निगालोसँग जुहारी खेल्नु पनि हो। जुहारीमा कयौं पटक हार्नुपर्छ। त्यो हराइमा हात घोचिनु त सामान्य कुरा हो। तर जब निगालोका पुत्ता (चोया)ले हातका छाला च्यातिदिन्छ तब हातबाट रगतका छहरा लाग्छन्। जसले उनको घरपारीको भिरमा वर्षाद हुँदा छहरिने झरनालाई बिर्साउछन्।
निगालोले हात च्यात्नु र हिटलरले कन्सल्ट्रेसन क्याम्पमा जिउँदा मान्छे चिर्नु उस्तै भएजसरी उनका पीडा पोखिन्छ। ‘हात न्याहेर (हेर) यी कस्ता भयाछुन्,’ निगालोले घोच्दा घोच्दा रगत पुत्पुताइ चिरा परेका मैला हात देखाउँदै भने, ‘भात खान सकिदैन। माओवादीले लडाइँ गन्या बेला मान्ठकन हात गोडा चिचेर नुन खुर्सानी हाल्दिया पै मान्छे माम्मरी (बेस्सरी) किक्याउँदाछन् भुन्दाछिया। हामीन त्यस्तै छ। गरिकन पन उपती छैन।’
तथापी उनले पुख्यौली पेसा छोडेका छैनन्। उनी एक डोको बनाउन दिनभरी लाउँछन्। एक डोकोको लागि २० देखि २५ निगाला लाग्छन्। निगालो पाउने क्षेत्र निकुन्ज हो। निकुञ्ज भित्रको कुनै पनि चिज उठाउन नपाउने नियमले उनीहरुलाई निगालो ल्याउन बडो सकस पर्छ। त्यहाँका कर्मचारी र सेनाको आँखा छल्न पाए निगालो पाइन्छ। यदि त्यो गर्न नसके जरिवानासँगै ज्यान मार्ने धम्की पाइन्छ।
निगालो घर नजिकै हुँदैन। दुई दिन लाग्छ। आज बिहान गयो भने घर त भोली मात्र घर फर्काइ हुन्छ। उनले निगालो ल्याउन जंगल जाँदाको दृश्यलाई यसरी चित्रण गरे,
‘दैय धाप्सा बिज्दा कि, भालु हुँदो कि, केइ हुँदो कि। निगालो हुन्या ठाउँ निकुञ्जमा पड्छ। आर्मीले भेटाया बुन्दुक हान्दा कि, मान्या (मार्ने) हुन कि, क्या प गन्या हुन। लुकिछिपी चोरीमारा ल्याउन पड्डो छ।
निगालो पाइन्या ठाउँ त कति हो कति टाढा। हुँइ (त्यहीँ) बास बस्ता छौं। दुई दिन लाग्छ। आर्मीले देखेपछि बन्दकु देखाउँछन्। जति चोरीमारा गर्या पुनि काँ काँबाट थाहा पाइहाल्छन्। एक आँठो निगालो काटेको भया पुनि सय रुपियाँ जरिवाना ठास्ताछुन्।
निगालो ल्याउन गयाको बेला जिउ झुरिन्छ। खाना पच्दैन। दे क्या गरम्, हाम्रो त यस्तै छ। यहि नगरी खान लाइन पुग्दैन। अन्त टेक्न्या ठाउँ छैन।
हाम्मो कोही नाइ, केही नाइ। बा डोका बुन्दा छिया। हामीले पनि डोका बुन्न सिक्यौं। अहिले खाना बाटो यहि भयाको छ। हामीकन निगालो ल्याउनलाई गाह्रो नहुन्या भया सजालो हुन्या छियो। साह्रै दुःख गरी निगालो जुटाउँदाछौं। हात धास्त पाडिकन डोका बुन्दाछौ। यति गरी पुनि कोही हामीकन राम्मो व्यवहार गद्दैनुन्।
सरकार कति आया कति गाया क्यै पात्ता नाई। सरकारका मान्ठ कति फेरीया होनन् हामी केही थाहा पाउँदैनौ। व्यवस्ता बदलियो भुन्दाछन्। चुनाव आया बेला गरिबहरुको राम्रो हुन्या छ भुन्दाछुन। आइसम्म केही भयानाई। चुनाव पुनि मस्तै देखिहाल्यौ तीनले भनेको जस्तो केही हुँदैन। अब मन्या (मर्ने) दिन आइगया झुन् क्या होला?
हामीले भोट हालेर वडा देखि केन्द्र सम्मका सरकार बनायौं। कसैले हेर्यानुन। न हाम्मो जोवनको मूल्य छ। न हाम्मा मालको। दुनियाभरीका संस्था यहिँ आउँदाछन्। धर्मका कुडा न्यै गद्दाछुन्। एक फेर हाम्मो सीपको बारेमा कसैले चासो दियाका छैनन्।
सबै ठौर (ठाउँ) तालिमका कुडा चल्दाछुन्। हामीन कसैले तालिम दिएका छैनन्। दिन्या पनि छैनन्। पुरानो सीप ज्या हो त्यही सिकेर गुजारा गर्याका छौं। डोका बुन्या र पेट पाल्या काम मात्र हो। गुजारा गन्र्या काम हो। यस्तै गरी हाम्मा दिन जान्या भैग्या।
जोवन निगालाका काम गद्दै जान लागिगो। यै खानाको बाटो छ। तर निगालो सुख मनुले (विना कुनै तनाव) ल्याउन पाउँदैनौं।
निगालाले च्यातेको जोवन सिलाउन्या सुइयो (सियो) नाई।’
उनी लामो सास तान्दै एकोहोरो बोलिरहे। हामी उनका कुरा सुनीरहयौं। एक बसाइमा उनको जोवन केलाउन सक्ने हामी को नै पो थियौं र? तर उनले जति सुनाए त्यो उनको जोवन बुझ्न काफी थियो। बिहानीले दिनको संकेत गर्छ भनेझैं उनका कुराबाट पनि उनले के के भोगे भनि बुझ्न महाभारतको युद्ध नै गर्न पर्ने थिएन।
उनी हिजो र आज तुलना गर्छन्। आजको पुस्ताले केही भएपनि नयाँ कुरा सिक्न पाएको छ। गाउँगाउँमा स्कुल छन्। हिसाबकिताब गर्न जान्नेका छन्। उनको समयमा यस्तो भइदिएको भए जिन्दगीको वासलातमा किन यति धेरै फरक हुँदो हो? उनी यस्तै सोच्छन्।
‘उइ बेला स्कुल छियानुन्। आँखा उग्ड्यानुन (खोलिएनन्)। अन्धा भयौं। बा–आमा मास्टर भया। तीनुले ज्या सिकाया, त्यही हाम्मो गरी खान्या बाटो भयो,’ उनले भने, ‘हामी ओछ्यान पढ्यौं, स्कुल पढ्यानौं। ती दिन सम्झिकन छाछोरी स्कुल पठाउँदाछौं, केही गुन्दैनुन्। हाम्मा छोरोछोरी पुनि उही घो (बाटो) हँड्न्या भया। हामीले लायाको घोमै ती हँड्न लाग्या। दुःख सिक्न केही बेर लाग्दो रैनछ, हजुर तीनले पुनि सिकिहल्या।’
एक डोकोको मूल्य दुई, तीन सयदेखि चार सयसम्म मूल्य आउँछ। पहिला अन्नमा बिक्री हुन्थ्यो। त्यतिबेला कसैले पैसा दिन खोज्दा पनि ल्याउँदैन थे। अहिले हरेक मालको मोल रुपियाँमा हुन्छ। तर परिश्रम गरे अनुसारको मोल आउँदैन। त्यसमाथि श्रमको मूल्य छैन।
डोको किन्न घरमै कोही आउँदैनन्। गाउँगाउँ बेच्न जानु पर्छ। कहिले काहीँ मात्र अर्डर आउँछ। ‘छकल्या व्यानपक (बहानै) गयपछि बासा (बेलुका) झल (रात) पढ्न्या बेला घर आउँछौं। बासा पल्टि घर फर्किएपछि जाँङडा दुख्छन्। यत्ति नगरी खान पुग्दैन। काम गन्न नसक्न्या भएपछि क्या गरी खाउँला?,’ उनले भने, ‘डोका बोक्तै जोवन जान्या भयो। अरु डोकौनो मालताल बोक्ताछन्, हामी त दुःख बोक्ताछौं।’
उनले कुरा टुंग्याउने बेला दिमागमा एउटा गीतको सम्झना हुन्छ।
कहिले हात्ति कपुर खोला, कहिले हात्ति दाँगमा,
वादल फाटी घाम लागिजा, म दुखिका आँङमा।