थोरै मात्र कविता लेखेर आधुनिक नेपाली कवितामा विशिष्ट स्थान बनाएका कवि श्यामलले कोरोना भाइरसको महामारीमा जम्मा दुइटा कविता लेखे। एउटा त लेखिसक्नासाथै अष्ट्रेलियामा बसेकी छोरीलाई सुनाए। उनको प्रतिक्रिया सुनेर कवि छक्क परे। उनले भनेकी थिइन्, ‘कोरोनाबारे यति गहिरो गरी किन सोचेको बुवा?’
धेरैजसो त उनले कोरोनाको समयमा गरिएको लकडाउनमा फेसबुकेहरूले के कस्तो चर्तिकला गरे भनेर मोबाइलको पर्दामा हेर्ने गरे।
त्यसो त उनलाई राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्षको जिम्मेवारीले कोरोनाबारे घरमा बसेर अनेकथरी चटक गर्ने फुर्सद दिन्नथ्यो, कोरोनाको निजी पारिवारिक र सामाजिक असरबारे बुझ्ने र करीव करीव सवारीशून्य काठमाडौंका सडकमा घुम्ने अवसर भने उनलाई मिलेको थियो। ध्वनि र धुलोको प्रदुषणबाट मुक्त काठमाडौंका सडकमा यात्रा गर्दा शुरूमा उनलाई काठमाडौं सधैं यस्तै भइराखे हुने जस्तो लागेको थियो, तर त्यसो हुने कुरै थिएन। केही दिनमै राजनीतिक प्रदुषकहरूले लकडाउनलाई खिल्ली उडाउन थालिहाले। सडक आवाद हुन थाल्यो। दलका फुच्चे कार्यकर्ताहरू माइतीघर जम्मा हुन थालिहाले।
घरमा श्रीमतीबाहेक अरू कोही छैनन्। छोराछोरी अमेरिका र अष्ट्रेलियाको फुक्काजस्तो लाग्ने तर त्रासमय लकडाउनमा थिए। यस सानो घरमा चिन्ताको वास थियो। वास्तविक पेशेवर कविलाई कविता यस्तैमा फुर्दो हो। तर उनलाई फुर्ने काम गरेन। सामाजिक सञ्जालमा गरिएका नानाथरीका टिप्पणीहरू हेर्न छाडे, कहिलेकाहीँ उत्साही र समयलाई वाहियात खेर नफाल्ने भीष्म प्रतिज्ञा गरेका सदुपयोगवादी कविजनहरूको आशुकवित्व भने देख्न पाए। यसका साथै केही यस्ता कविताप्रेमीहरू पनि उनले मोबाइलको दिव्य पर्दामा भेटे, जसले धारावाहिक कविता वाचन श्रृंखला चलाए।
‘केहीले मेरा कविता पनि वाचन गरिदिएर गुन लगाए’, श्यामल भन्छन् ‘पछिल्लो समयका चल्तीका नामहरू श्रवण मुकारुङ र भोजराज न्यौपानेका वाचन सुनेँ।’ लकडाउनमा कविता यतिमा मात्र सीमित भएन। उनले यस अवधिमा केही उपन्यास र धेरैजसो पत्रपत्रिकाका विद्युतीय संस्करणमा देखिएका कविता पढे। तीमध्ये धनकुटेली नयाँ कवि रोशन परियारको कविता उनलाई अलि ताजा लाग्यो किनभने उनले आफ्नै सिलाइ मसीनको केन्द्रमा आफुलाई राखेर संघर्षको बेग्लै दशाको चित्रण गनेका थिए।
लकडाउनकै बीच यता हाल अमेरिकामा रहेका कवि राजवको समुद्रसम्बन्धी कविताले उनलाई बढी छोएको रहेछ।
‘कुनै कवितामा त्यस्तो छोइने तत्व के हुन्छ?’ मेरो प्रश्नमा कवि श्यामलले भने, ‘काव्यभाषाको संलिष्टतामा कालबोधको तीब्रताले कवितालाई बढी छोइने बनाउँछ। कविता एक दृष्टि हो, जीवनजगतप्रतिको कविको दृष्टि। कुनै वस्तु वा चरित्रलाई हेर्ने वा ग्रहण गर्ने समर्थ कविको अन्तर्दृष्टि बेग्लै हुन्छ, यसको नौलोपनले कवितालाई चित्ताकर्षक बनाउँछ। प्रचुर भाव सम्प्रेषण गर्न सक्ने भाषाको छनोट गर्ने प्रतिभा नभएसम्म उत्कृष्ट कविता बन्दैन।’
यही लकडाउनको अवधिमा उनले पाकिस्तानी उपन्यासकार मोहसिन हमीदको ‘एक्जिट वेस्ट’ पढे। यसमा युद्वको चरम अमानवीय रूप र पश्चिमा समाजको अहंकारी जातीवादी चरित्रको राम्रो चित्रण गरेका छन् हमीदले। यसमा प्रेमजस्तो प्राकृतिक मानवीय स्वभाव विघटित हुँदै गएकोमा गहिरो चिन्ता देखिन्छ। नायिका नादिया र नायक सइदको दुखान्तले हाम्रै समाजतिर फर्केर हेर्न प्रेरित गर्न सक्छ। आफ्नी पत्नीको चिहाननिर उभिँदा मानिसको टाउकोलाई भकुण्डो बनाएर खेलिरहेको देखेको सइदका बाबुजस्ता बाबुहरू नेपालमै छन्। सशस्त्र युद्धका बेला मानिसलाई ज्युँदै गाडिएको वा तत्कालीन सैनिक कार्वाहीका क्रममा भएका कतिपय अन्यायपूर्ण घटनाले हाम्रो लेखनमा ठाउँ पाउन बाँकी रहेको उनको निष्कर्ष छ।
‘बर्बरतापूर्ण भुक्तमान खपिरहेको नेपाली समाजले आफ्नो साहित्यमा अझैं आफूलाई पाइरहेको छैन। नेपाली लेखकहरूले कतै यस्तो प्रयास गरिरहेका पो छन् कि?’ उनलाई यसो लाग्छ, ‘नेपाली समाजको एक वृहत् पाटो मधेस र मधेसका दलितहरू पनि हुन्, बहुपति प्रथाबाट विस्तारै एकपति प्रथातिर संक्रमण भइरहेको हिमाली जाति पनि हुन्, र तिनका संघर्षका कहानी नेपाली साहित्यमा आउन बाँकी नै छ।’
कोरोना कालको नेपाली साहित्यका बारेमा उनको सोच अरुभन्दा अलि बेग्लै छ। प्रभावशाली साहित्य तात्कालिक हुन्न, रचना प्रक्रिया दीर्घकालिक हुन्छ र त्यो तत्कालै नभएर कालान्तरमा देखिन सक्छ। अहिले देखिएका लकडाउन र कोभिडसम्बन्धी रचनाले आकार लिइ नसकेको र त्यो कच्चा पदार्थमै सीमित रहेको उनको बुझाई छ।
पुस्तकका नाममा ‘हतारमा यात्रा’ लगायत तीन कविता संग्रह, ‘रित्तो गाउँ’ नामक एक निबन्ध पुस्तक, एक अनुवाद उपन्यास बहिर ल्याएका कवि श्यामलको एक उपन्यासको पहिलो मस्यौदा सकिएको उहिल्यै हो। अहिले त्यसलाई अन्तिम रूप दिएर प्र्रकाशकलाई बुझाउने उनको योजना छ। तर फुटकर लेख्ने क्रम भने जारी नै छ।
‘कोभिड १९ ले निम्त्याएको लकडाउन र संक्रमणको त्रासका बीच फेरिएको जीवनचर्याका छापको सम्यक अध्ययन भैरहेको हुनुपर्छ। यसले एक गतिमा हिंडिरहेको हाम्रो जीवनशैलीलाई हेर्ने परम्परागत दृष्टिकोणमा फेरबदल ल्याउनेछ र नेपाली समाजका विभिन्न पाटाहरूमा परेको त्यसको असरबारे लेख्ने पर्याप्त ठाउँ बनाएको छ’, श्यामल भन्छन्।
अड्डा अदालत धाएर गुजारा चलाउने, जग्गा दलाली गर्ने वा रातारात सम्पत्ति जोडेर अस्वाभाविक रूपमा धनी हुनेहरूका लागि लकडाउनले निकै ठूलो धक्का दिएको लाग्छ उनलाई। ‘महामारीले एक्कासी तिनको छट्पटी बढाइदियो। ती आफु सडकमा निस्कन नसकेर आफ्ना केटाकेटीलाई सडकमा पठाएर भए पनि लकडाउन उल्लंघन गर्न थाले। बाल मतलबवाला पुस्ताका केही केटाकेटी जसरी अभद्र ढंगले प्रस्तुत भए, त्यसले बुझाउँछ कोही किन छटपटिदैछ,’ उनी भन्छन्।
श्यामल भन्छन्,‘लकडाउनले सबैभन्दा बढी विद्यालय उमेरका बालबालिकालाई प्रभावित गरेको र त्यसले परिवार र समाजमा तरंग उत्पन्न गरेको उनको ठम्याइ छ। सधैं स्कूल कलेज गइरहनेहरू कोठामा सीमित हुँदा परेको प्रभावको अध्ययन गरे रोचक निस्कर्ष निस्कन सक्छ। लकडाउनले ग्रामीण किसानहरूलाई भने उस्तो असर गरेन। तिनले आफै बीउ जोगाएका हुन्छन्, मल बनाएका हुन्छन् र अर्को मानिससंगको भौतिक दूरी पनि कायमै राखेका हुन्छन्। रासायनिक मल र वर्णशंकर विउविजनको भर पर्ने किसानलाई भने कठिनै भो। खेती गर्न छाडेर सानोतिनो व्यापार गर्न वा काम गर्न भनी सहरबजार पसेकाहरूको अवस्था नाजुक भयो। तिनलाई हप्तौं दिन लगाएर गाउँ पुग्ने हतार भयो। कतिले गाउँ फर्केपछि फेरि सहरको मुख नहेर्ने कसम खानुपरेको देखियो। यसबाट बुझिन्छ, हाम्रो चिन्तन प्रणाली र जीवन शैली फेर्नु पर्नेभो। महामारीमा विदेश कति दुःखदायी हुन्छ भन्ने पनि यसबेला बुझियो।’
‘कोरोनाकै कारणले कतिका जीविकाका माध्यम खोसिए भने कतिको प्रेमको भावनामा आगो लाग्यो। कतिको सम्बन्ध सुध्रियो। कतिको टुक्रिने बेला भो। कतिलाई लकडाउनले गर्भवती बनाइदियो। कति महिलालाई सधैं आफ्नो पति घरमा भइरहँदा छट्पटी भएको देखियो। कतिलाई छोराछोरी घरमा भइरहँदा दिक्क लाग्यो। कतिले आत्महत्या गर्नेबारे सोचे। कतिले गरे पनि। कति त मास्क नलगाएर वा स्यानिटाइजर प्रयोग नगरीकनै अंकमाल गर्दै सहर डुलिरहेका छन् र सरकारलाई प्रभावकारी कदम नचालेकोमा धिक्कार्दै छन्’ श्यामल भन्छन्, ‘यसले समाजलाई जस्तो परिणाम दिन्छ, साहित्य त्यहींबाट शुरु हुन्छ।’
कर्णाली प्रदेशको दैलेख जिल्लामा जन्मी हुर्की ४२ वर्षअघि काठमाडौं आई यतै घरजम गरेका कविका विचारमा दलाल पूँजीवादका अनिवार्य खराबी हेर्ने हो भने कोभिड १९ ले ल्याएको लकडाउनमा रहेको समाज हेर्नुपर्छ।
श्यामल भन्छन्, ‘त्यसको विश्व च्याम्पियन संयुक्त राज्य अमेरिकाले नम्बर एक अर्थतन्त्र मर्न नदिने कसम खाइरहेको छ तर ऊ आफ्ना लाखौं मानिसको मृत्यु भइरहेको विषयलाई महत्व दिन मान्दैन। पश्चिमा धनाढ्य मुलुकहरूको स्वास्थ्य प्रणालीमाथि उनीहरू स्वयंले शंका गरे। उनीहरू कोरोनाविरुद्ध होइन, चीनसंग लड्न तम्सदैछन्। पतनशील मूल्यहरुप्रतिको पश्चिमा अनुराग पनि कम अनौठो छैन, पश्चिम फर्केको सर्बियामा मानिसहरु लकडाउन गर्ने तर्खरमा रहेको सरकारलाई नै फेल गराइदिए।’
तर उनले भने झैं कोरोना अवधिको साहित्य नेपालमा र विश्वभर लेखिनेछ, हामी कति उत्कृष्ट र प्रभावकारी लेख्नेछौं, त्यो अहिल्यै भन्न सकिन्नँ।