सागमा पदक जितेका खेलाडीलाई प्रदेश सरकारको सम्मान

प्रदेश १ का १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीलाई सरकारले सम्मान गरेको छ।

१५ मंसिरदेखि २४ मंसिरसम्म नेपालमा भएको सागमा पदक जितेका प्रदेश १ का ८८ खेलाडीलाई प्रदेश सरकारले सम्मान गरेको हो ।

बुधबार खेलाडीलाई सम्मान गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए। खेलकुद क्षेत्रले मुलुकको इज्जत प्रतिष्ठा, नामलाई शिखरको उचाइमा पुर्‍याउने बताउँदै उनले खेल क्षेत्र प्राथमिकतामा रहेको बताए ।

सागमा प्रदेश १ बाट स्वर्ण, रजत र कास्य पदक हात पार्ने ८८ जना खेलाडीलाई प्रदेश सरकारले नगद ८० लाख रुपैयाँसहित सम्मान गरेको हो ।

प्रदेश सरकारले खेल, इभेन्ट र सहभागिताका आधारमा सम्मानको राशी तोकेको थियो। भुटानलाई २-१ गोलले पराजित गरेर स्वर्णपदक हात पारेको फुटबल टोलीका सदस्यलाई जनही ७५ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको छ। प्रदेशबाट फुटबलमा ८ जना खेलाडी सहभागि थिए।

प्रदेश सरकारले स्वर्णपदक हात पार्ने एकलतर्फ ३ लाख रुपैयाँ, रजतलाई २ लाख र कास्यलाई १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो। महिला फुटबलतर्फ रजत पदक हात पारेका ८ जना खेलाडीले जनही ६० हजार नगदसहित सम्मान गरेको छ।

एकलतर्फ स्वर्ण हात पार्ने ६, रजत पदक ४ र कास्यमा १० जनालाई सम्मान गरेको छ। टोलीतर्फ स्वर्ण १५, रजत २२ र कास्य जित्ने ४१ जनालाई प्रदेश सरकारले सम्मान गरेको हो ।

प्रदेश १ बाट सागमा खेलाडीले १० स्वर्ण, १० रजत र २९ कास्य गरी ४९ पदक दिलाएका थिए । सागमा नेपाल कुल २ सय ७ पदकसहित दोस्रो भएको थियो ।

खेलाडीलाई प्रदेश १ मा मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेरले सम्मान गरेका थिए ।

प्रकाशित मिति: : 2020-07-15 18:33:56

प्रतिकृया दिनुहोस्