१७ वर्षको उमेरमा तपाईँहरू आफ्नो छोरीबाट के अपेक्षा गर्नुहुन्छ? यो प्रश्न कसैले हामीलाई सोधेको खण्डमा, निश्चय पनि हाम्रो उत्तर हुनेछ, ‘विचरा अहिले त सानै छे। खेल्ने र कुद्ने समय पनि गएको छैन उसको।’
आज कुरा गरौं, स्वीडेनकी १७ वर्षीय किशोरी ग्रेटा थुनबर्गको। जो जलवायु परिवर्तनको अभियानमा सबैभन्दा ठूलो नाम भइसकेकी छिन्। उनले कोरोना भाइरसको महामारी बीच लकडाउनको अवस्थामा घरमा समय बिताउनुपर्दा स्थानीय एक रेडियोलाई अन्तर्वार्ता दिएकी थिइन्।
जुन अन्तर्वार्ता अहिले निकै चर्चित भइरहेको छ। गत सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा मौसम परिवर्तनलाई लिएर भएको सम्मेलनमा उनले विश्वका केही उच्च अधिकारीलाई भनेकी थिइन्, ‘तपाईँहरूले मेरो बाल्यकालको सपनालाई खाली शब्दजालबाट चोरी गर्नुभयो। कसरी यत्रो आँट गर्नुभयो?’
उनले रेडियो अन्तर्वार्तामा विश्वका केही उच्च अधिकारीले आफूसँग फोटो खिचाउने चाहना राख्ने र इन्स्टाग्राममा ह्यास ट्याग #सेभदप्लानेट लेखेर आफ्नो काम पुरा भएको ठान्ने गरेको बताएकी थिइन्। उनले यो कुरा आफूलाई चित्त नबुझ्ने र यसले भावी पिढीलाई निराश तुल्याएको रेडियो कार्यक्रमबाटै असन्तुष्टी पोखिन्।
३ जनवरी, २००३ मा स्वीडेनको स्टकहोममा जन्मिएकी ग्रेटा सानैदेखि जलवायु परिवर्तनले विश्वमा परिरहेको असरलाई बुलन्दसँग राख्ने अभियानकर्ता हुन्। उनकै कारण सन् २०१८ देखि ‘फ्राइडेज फर फ्यूचर (मौसमका लागि स्कुल स्ट्राइक)’ अभियान विश्वव्यापी बनेको थियो।
ग्रेटाका बुवा अभिनेता हुन्। आमा ओपेरा गायिका। उनलाई सानैमा ‘एस्पर्गर सिन्ड्रोम’ भएको थियो। जसलाई अहिले ओटिज्म स्पेक्ट्रम डिसअर्डर (एएसडी) भनिन्छ। यसले सामाजिक अन्तर्क्रियामा असामान्यता देखाउँछ तर यसका साथै सामान्य बुद्धि र भाषाको विकास पनि हुने गर्छ। ‘एस्पर्गर सिन्ड्रोम’ भएका व्यक्ति एउटै कुरामा गहिरो ध्यान केन्द्रित गर्ने गर्छन्। ग्रेटाके यही कुरा मौसम परिवर्तनको ठूलो अभियान बन्न गयो।
उनले जलवायू परिवर्तनको विषयमा आठ वर्षको हुँदा आवाज उठाउन थालेका थिइन्।
मे २०१८ मा १५ वर्षको हुँदा ग्रेटाले स्थानीय अखबारमा मौसम परिवर्तन सम्बन्धि निबन्ध प्रतियोगिता जितेकी थिइन्। त्यसको तीन महिनापछि अगस्टमा उनी स्वीडेनको संसद भवन अगाडि विरोध प्रदर्शनमा उत्रिइन्।
२०१५ मा पेरिस सम्मेलनमा विश्वका नेताहरूले कार्बन उत्सर्जन कम गर्ने सम्झौतामा हस्ताक्षर नगर्दासम्म उनले आफ्नो विरोध अभियानलाई जारी नै राखिन्। यसले अन्तर्राष्ट्रिय मिडियाको ध्यान तान्न सफल भयो। यतिबेला उनी कक्षा ९ मा अध्यनरत थिइन्।
उनको चर्चा त्यतिबेला चुलिएको थियो, जब उनले सन् २०१८ को सेप्टेम्बरमा स्वीडेनमा निर्वाचन हुँदा जलवायू परिवर्तनको मुद्दा लिएर तीन साता संसद भवन बाहिर ‘क्लाइमेटका लागि स्कुल बन्द’ अभियानको नेतृत्व गरिन्।
यतिबेला उनले आफ्नो स्कूल ‘बंक’ गरेकी थिइन्। पहिले दिन उनी एक्लै हड्तालमा पम्प्लेट बोकेर उभिएकी थिइन्। तर उनले हिम्मत हारिनन्। उनी आफ्नो अभियानमा दृढ थिइन्। दिन बित्दै जाँदा उनीसँग मानिसहरू जोडिन थाले। यो अन्तर्राष्ट्रिय मिडियाका लागि राम्रो मसला भयो।
चुनावपछि उनी स्कुल त फर्किइन् तर शुक्रबार भने उनले कक्षा ‘बंक’ गर्दै आइरहेकी छिन्। उनको त्यो हठ अहिले अभियानको रुपमा चर्चित छ।
उनको कार्यले विश्वका लाखौं विद्यार्थीलाई भविष्यको लागि शुक्रबारको अभियानमा सहभागी हुन प्रेरित गर्यो। बेल्जियम, क्यानडा, अमेरिका, बेलायत, फिनल्यान्ड, डेनमार्क, फ्रान्स र नेदरल्याण्ड जस्ता देशमा पनि शुक्रबार हड्ताल हुँदै आएको छ।
उनको ट्वीटर र फेसबुक अकाउन्टमा हालसम्म हड्तालको ९९ हप्ता सञ्चालन भइसकेको विवरण छ।
ग्रेटालाई जलवायु परिवर्तनको बारेमा कुरा गर्न विभिन्न सभा समारोहमा आमन्त्रण गर्ने गरिन्छ। उनले स्विट्जरल्याण्डको ‘वर्ल्ड इकोनोमिक फोरम’ र युरोपेली संसद साथै इटाली, फ्रान्स, बेलायत र अमेरिकाको व्यवस्थापिकाको अगाडि भाषण दिएकी छिन्। सन् २०१९ को सेप्टेम्बरमा न्यूयोर्कमा आयोजना भएको संयुक्त राष्ट्र संघको मौसम कार्यक्रममा पनि उनी उपस्थित थिइन्। यति बेला लाखौं प्रदर्शनकारी ग्रेटाको अभियानमा जुडेका थिए। १ सय ६३ भन्दा बढी देशका विधार्थी उनको ‘मौसम स्ट्राइक’ अभियानमा सहभागी भए।
उनलाई जलवायु परिवर्तन सम्बन्धी केही व्यक्तिको दृष्टिकोण र व्यवहार बदल्न श्रेय दिने गरिन्छ। यसलाई ‘ग्रेटा प्रभाव’ को रुपमा पनि व्याख्या गर्ने गरिन्छ।
स्वतन्त्र विचारकी धनि ग्रेटालाई न्यूयोर्क शहरमा भएको संयुक्त राष्ट्र संघको कार्यक्रमपछि धेरैले आलोचना पनि गरे। ब्राजिलको मिडिया ‘जैर बोलसनोरो’ ले उनलाई ‘ब्राट’ को उपमा दिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ‘उनको क्रोध व्यवस्थापनको समस्यालाई रोक्नुपर्ने’ भन्दै खिसी उडाएका थिए।
बीबीसीलाई दिएको एक अन्तर्वार्तामा ग्रेटाले भनेकी थिइन्, ‘फरक हुनु भनेको वरदान हो।’ उनी आफ्नो कमजोरीलाई नै आफ्नो शक्ति मान्ने गर्छिन्। उनलाई २०१९ मा टाइम म्यागाजिनले ‘पर्सन अफ द इयर’ बाट सम्मानित गरेको थियो भने उनी नोबेल शान्ति पुरस्कारको मनोनयनमा परेकी थिइन्।
ग्रेटा अहिले पनि विश्वका शक्तिशाली राष्ट्र तथा व्यवसायिक घरानाहरु कार्बन उत्सर्जन घटाउने कुरामा त्यति सकारात्मक नभएको बताउँछिन्। र यसले चाँडो निकास पाउनुपर्ने उनको भनाई छ। उनको विरोधकै कारण स्वीडिस सरकारको मौसमतर्फ ध्यान तानिएको थियो। उनले विश्वभरका विद्यार्थीलाई आफ्नो देशमा पनि यस्तै माग राख्न आग्रह गरेकी छिन् ।
२०१९ मा मौसमको लागि विश्वव्यापी ‘स्कुल हड्ताल’ हुँदा नेपाल पनि अछुतो रहन सकेको थिएन। नेपालमा पनि जलवायु परिवर्तनको बिरूद्ध प्रदर्शन भएको थियो। जसलाई ‘फ्राइडेज फर फ्यूचर इन नेपाल’ नामाकरण गरिएको थियो।
ग्रेटाले जुन उमेरमा आफ्नो नयाँ सोचबाट विश्व समुदायको ध्यान खिच्न सफल भएकी छिन्। यस्तै ध्यान अन्य किशोरीले पनि तान्न सक्छन्। तर त्यसका लागि आफूप्रति आत्मविश्वास हुनु जरूरी छ।
यो पनि हेर्नुहोस्