पुरा कवीनां गणनाप्रसङ्गे कनीष्ठिकाधिष्टितकालिदासः।
अद्यापि तत्तुल्य कवेरभावात् अनामिका सार्थवती बभूव।।
(भावार्थः उहिले एक पटक कविहरूको मूल्यांकन (गणना) गर्न लाग्दा सर्वश्रेष्ठ भनी एक नम्बरमा कवि कालिदास भन्दै कान्छी औंला भाँचेछन्। त्यसपछि औंलो भाँच्न दोस्रो नम्बरका कवि खोज्दा फेलै परेन रे! त्यसैले त्यो हाम्रो साहिंली औंलालाई ऐलेसम्म पनि संस्कृतमा 'अनामिका' अर्थात् 'नामै नभएको' भनिन्छ, इत्यादि।)
हाम्रो नेपाली पुस्तकहरूको चर्चा गर्ने भनी शुरू गरिएको स्तम्भ, यो 'पुस्तक सम्पदा' मा संस्कृतका कवि कालिदासको प्रसङ्ग जोडिन आइपुग्नुको कारण हो– संस्कृतको त्यो श्लोक नेपाली किताबका सन्दर्भमा पनि एउटा भानुभक्तको रामायणमा कताकता लागू हुन्छ कि जस्तो लाग्न थाल्यो मलाई। भनूँ न भानुभक्तको सातकाण्डी रामायण समग्र पहिलो पटक १९४२ सालमा छापिएर प्रकाशित हुनुभन्दा निकै वर्ष पहिलेदेखि नै त्यस पुस्तकले नेपाली जनमानसलाई एक प्रकारले गाँजिसकेको रहेछ। त्यसो नहुँदो हो त कुनै साइनो सम्बन्ध नभएका पूर्व ४ नम्बर भोजपुरका एक जना पोखरेल बाजे र शहर राजधानीको भोसिको टोलमा जन्मेका अर्का भट्ट बाजे एकैजसो समयमा त्यो 'सातकाण्डी' को खोजी गर्दै किन भौंतारिन्थे?