हिजोआज मेरो लागि पत्रकारिता लेखन औंशी/पूर्णे जस्तै भएको छ। पत्रकारिता नै पेशा नबनाएको अहिलेको अवस्थामा लेखिरहनु बाध्यता पनि रहेन। मन परेको बेला लेख्यो, मन नपरेको बेला लेखेन। अझ यस। भनौं, लेख्नु भनेको मेरो लागि केही थान गाली र केही थान ताली कमाउने माध्यम मात्रै हो भन्दा पनि हुन्छ।
पछिल्लो समय सामाजिक सञ्जालको जबर्जस्त उपस्थितिले पत्रकारिताका यावत् शव्दावलीको परिभाषा नै परिवर्तन गरिदिएको छ। कुनै समय सूचनालाई समाचार बनाउने काम पत्रकारले मात्र गर्थे, आज त्यो काम सञ्चारकर्मीले नै गर्न थालेका छन् । सूचना ब्रेक सामाजिक सञ्जालमा हुन्छ, ट्रायल बलुन पनि त्यही हुन्छ, एजेण्डा सेटिङ पनि त्यही। त्यसैको आधारमा दोस्रो संस्करणको लेखन मात्र सञ्चार माध्यममा हुन थालेको छ । सूचना राजमार्गको रफ्तारमा त्यो काम पनि ई-कारिता नै गतिशील देखिन्छ । यी यावत् कुराले सनातनी पत्रकारिताको पाराडाइम नै सिफ्ट गरिदिएको छ जसलाई एकजमानामा अखबारीकारिता भनिन्थ्यो।
अहिले पत्रकारितामा मूलधार र बैकल्पिक पत्रकारिताको मुद्दा पनि बल्झेको छ। छापा, रेडियो, टेलिभिजन र ई-कारिता नै मूलधारको पत्रकारिता मानिदै आएकोमा सामाजिक सञ्जालको जबर्जस्त उपस्थिति त्यो मान्यतामाथि चुनौति तेर्साइ दिएको छ । परम्परागत मूलधारे पत्रकारिता धेरै कुरामा रक्षात्मक स्थितितिर धकेलिएको छ। विरासतबाहेक धेरै कोणबाट यसले मूलधारको मिडिया हुने चरित्र गुमाइसकेको छ। तैपनि हिङ नभए पनि हिङ बाँधेको टालो भनेझै सनातनी मूलधारको मिडिया अस्तित्वको लडाइँ लडिरहेको छ।
यस्तो अवस्थामा आफूलाई मूलधारको पत्रकार ठान्नेहरूले पनि आफ्नो परिभाषा फेरेर प्रस्तुत हुन जरूरी छ। समय र प्रविधिअनुसार 'अपडेट' र 'अपग्रेड' हुन सकेन भने पत्रकारिता पनि अन्तत: डाइनोसार नै हुने हो। हुन त केही अग्रज पत्रकार मित्रहरू पत्रकारिता गर्न छोडेको दशक बितिसक्दा पनि आफूलाई पत्रकार नै भनिरहेको पाउँछु। उनीहरूको तर्क छ, पत्रकार कहिलै भूतपूर्व हुदैन। म उनीहरूको विचारको सम्मान गर्छु तर म त्यस्तो ठान्दिन। वर्तमानमा जे काम गरिन्छ, अहिलेका लागि बढीमा हुने त्यही नै हो। विगतको काम सन्दर्भ मात्र हुने र त्यसलाई वर्तमानको सन्दर्भमा भूतपूर्व नै भन्नुपर्ने हो जस्तो लाग्छ मलाई।
अहिले पनि म सगौरव नेपाली नागरिक हुँ। त्यसैले म नेपालका गतिविधिप्रति निरपेक्ष छैन। म आफ्नो जन्मभूमीलाई ज्यादै माया गर्छु तर म यो भन्दिन कि नेपालको भौगोलिक प्रोक्सिमिटीमा रहेका भन्दा बढी गर्छु। मौका पाउँदा देश छोडेर हिडेको मानिस हुँ। देशलाई आवश्यक पर्दा त्यहाँ रहेकाले जे जति योगदान गर्न सक्छ, म यहाँ बसेर त्यति गर्न सक्दिन। यही कुरामा मेरो यहाँका अति नेपालवादी मानिससँग कुरा मिल्दैन। त्यसमा पनि अमेरिकी नागरिक भैसकेका राष्ट्रियताका हिसाबले भूतपूर्व नपालीले देखाएको अति नेपालवाद त काउसो जस्तै लाग्छ।
म पत्रकारितालाई आजको सन्दर्भमा हेर्छु। यसरी हेर्दा यो पनि अरू फाँट जस्तै कामको एउटा सामान्य फाँट मात्र हो; यो कुनै विशिष्ट फाँट रहेन अब। राज्यको चौथो अंगको सन्दर्भ पनि अब पुरातन भैसक्यो। राज्य संयन्त्र, परिपाटी र समाजका यावत क्षेत्रको पाराडाइम सिफ्ट भैसकेको अवस्थामा पत्रकारिता मात्रै गतिहीन भएर एकै ठाउँमा बस्नुपर्छ भनेर रोइलो गर्ने जमाना हैन यो। अग्रज पत्रकार विजयकुमारले भन्ने गरेको शव्दावली 'वैश्य युग' मा राज्यका अंगहरूको परम्परागत वरियतामाथि प्रश्नचिन्ह झुण्डिसकेको छ।
एकातिर मूलधारका सनातनी मिडिया खुम्चिरहेको अवस्था अर्कोतिर च्याउसरीको ई-कारिता, अहिले पत्रकारितामा कालो र सेतो रङ्ग नै छैन, मात्र ग्रेलाइनमा खेल्ने काम भैरहेको छ। यस्तो अवस्थामा व्यावसायिक रूपमा पत्रकार नरहेको त्यो पनि अमेरिकामा रहेको म जस्तो भूतपूर्व नेपाली पत्रकारले लेख्ने के?, यो आफैंमा एउटा चुनौतिले भरिएको प्रश्न हो। सूचना लेखौं, त्यो सामाजिक सञ्जालमै आइसक्छ, त्यसैलाई अरू बढाएर व्यावसायिक पत्रकारले लेखिहाल्छन्। हजारौं मिडिया आउटलेटमा त्यही आउँदा एउटै सूचनाको भद्दा पुनरावृति या कपी पेस्ट संस्करण मात्र हुने अवस्था छ।
यस्तो अवस्थामा लेख्ने भनेको 'सूचना उही, कोेण फरक' मात्र हो। यसो गर्नका लागि सम्बन्धित विषयको गहन अध्ययन आवश्यक हुन्छ, रोचक भाषा शैली चाहिन्छ। अबको समयमा अर्कै काम गरेर बाँच्नुपर्ने अवस्थाका म जस्ता भूतपूर्व पत्रकारका लागि त्यसो गर्न व्यावहारिक हुदैन र सम्भव पनि छैन। जबर्जस्ती गर्नस एक किसिमले पत्रकारितामाथिको ज्यादति हो। त्यही पढ्ने, पढाउने र त्यसैको पूजा गर्ने म जस्तो पत्रकारिताका आस्तिकका लागि त्यो काम गर्नु त टाढाको कुरा, सोच्नु पनि अनैतिक हो।
'सूचना उही कोेण फरक' लेखन आफैंमा चुनौतिपूर्ण लेखन हो। यस्तो लेखनमा प्रोक्सिमिटीको ठूलो अर्थ हुन्छ। विदेशमा रहेका म जस्ता भूतपूर्व पत्रकारका लागि भौगोलिक प्रोक्सिमिटी त्यही देश भए पनि मनको प्रोक्सिमिटी त्यही देश हुन सकेको छैन। भाषागत समस्या त छ नै, स्रोत र साधनको पनि अभाव रहन्छ। त्यो सबै जुटाएर लेखे पनि पाठक को हुन् अर्थात् कसका लागि लेख्ने भन्ने हुन्छ। पत्रकारिता पाठकसँगको संवाद हो, बिना पाठक त्यो एक किसिमको मनोवाद मात्र हुन्छ र त्यसको कुनै अर्थ नै हुदैन। परदेशमा बसेर यतैको ई-कारिता गर्नु भनेको फेसबुकमा सेयर गरेर आफ्नै साथी संगतीसँगको पहुँचसम्म मात्र पुग्नु हो। त्यसको पाठक परिधि साँघुरो हुन्छ र विचार सम्प्रेषण गर्ने उद्देश्य हो भने त्यो लगभग पूरा हुदैन । केही संख्याका लाइक, कमेन्ट र सेयरमै सिमीत हुन्छ।
पत्रकारिता पनि एक किसिमको प्यासन अर्थात् नशा हो। एकपटक जानेर/नजानेर, क्षमता भएर/नभएर जे भएर पनि पत्रकार भएको मानिस त्यो क्षेत्रबाट बाहिर हुन सक्दैन। त्यसैको दशी प्रमाण हो, अहिलेको नेपाली डायस्पोरिक पत्रकारिता। कुनै समय नेपाली पत्रकारितामा रहेको ठूलो संख्या अहिले विश्वभर छरिन पुगेको छ। जहाँ पुगे पनि उनीहरूमा त्यो नशा बाँकि नै छ र त्यही नशाले अहिले डायस्पोरिक ई-कारिताको च्याउखेती सुरू भएको हो। कुनै पनि अर्थमा आर्थिक रूपमा आत्मनिर्भर हुनै नसक्ने यो नशाले धेरै भूतपूर्व पत्रकारको दैनिकी बिथोलिएको छ, लक्ष्य र गन्तव्य दिग्भ्रमित छ। अमेरिकाको कुरा गर्ने हो भने त यहाँ एक परिचित पत्रकार एक ई-कारिता आउटलेट जस्तो अंकगणित छ। यो एक किसिमको 'पागलप्रेम' भन्दा बढी केही पनि हैन।
यस्तो अवस्थामा मजस्ता पत्रकारिताको नशा लागेका नशावाजले के लेख्ने त ? फेरि पनि यो एक अहम् प्रश्न बाँकि नै छ।
मेरो पुराना मित्र पेशल पोखरेल अमेरिकातिरै छन्। कुनै समयको साप्ताहिक विमर्शको सहप्रकाशन विमोचनका ट्रेन्ड सेटर पत्रकार पेशलले कतै आग्रह गरेको सुनेको थिएँ, ' ‘प्रिय साथीहरू ! अब बाहिर निस्कौं। समाचार र सामयिक टिप्पणी त तत्कालका निम्ति हुन्। तिनले आँत भरिंदैन । लेखौं साहित्य। लेखौं आत्माख्यान।' कुनै कालखण्डका उम्दा कविसमेत रहेका पेशल गतिला निवन्ध र सुन्दर यात्रावृतान्त पनि लेख्ने हैसियत राख्छन्। पछिल्लो समय उनले पस्केका केही राम्रा साहित्यिक सामग्री पढ्ने मौका पनि पाएको छु। त्यसका लागि धन्यवाद पेशल।
म चाहन्छु, जीवनपर्यन्त राष्ट्रियताले पनि नेपाली नै हुन सकुँ। यदि सकिन भने जन्मभूमिसँग माफी माग्दै त्यसदिन उप्रान्त नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने खालको कुनै टिप्पणी गर्ने छैन।म सचेत छु, त्यतिबेला मैले गर्ने टिप्पणी एक देशको नागरिकले अर्को देशको सार्वभौमसत्तामाथि गरेको टिप्पणी हुनेछ। म मेरो जन्मभूमिमाथि त्यस्तो टिप्पणी गरेर कपुत हुने छैन।
पेशलको कुराले मलाई पनि नछोएको हैन। तर, मैले जीवनमा साहित्यिक लेखन विरलै गरेको छु। म राम्रै पाठक र औसत समीक्षक मात्र हुँ जस्तो लाग्छ। उमेरमा प्रेम नगर्ने र कविता नलेख्ने कोही हुदैन भन्ने संकथनको आधारमा भन्दा मैले प्रेम गरे कि गरिन, त्यो त म भन्न सक्दिन तर कविता भने केही थान लेखेको थिएँ। उम्दा कवि श्रवण मुकारूङ, भीष्म उप्रेती, कृशु क्षेत्रीले मेरा कवितालाई राम्रै भनेकाले मसँग त्यो सम्भावना थियो कि जस्तो चाँहि लाग्छ। मेरा केही अखबारी लेखन रूचाएका समीक्षक डा. कृष्णहरि बरालले पनि मलाई आख्यान लेख्न हौस्याउनु भएको मलाई सम्झना छ। तर, अखबारी लेखनमै लागेर मैले त्यो सम्भावनाको लगभग अन्त्य गरें। यतिबेला म उनीहरूलाई गलत बनाएकोमा क्षमायाचना गर्छु।
भनिन्छ, पत्रकारिता हतारको साहित्य हो, यसो भन्दा मैले पनि अनगिन्ती साहित्य लेखेँ भन्न सकुँला । छापादेखि रेडियो, टेलिभिजन,अनलाइन सबै माध्यम र लगभग सबै बिटमा पनि। तैपनि मेरो परिचय स्टेरियोटाइप बन्यो, एक चलचित्र पत्रकार/समीक्षकको। मैले त्यो परिचयलाई अरू थुप्रै पद र विधाले परिवर्तन गर्न खोजें, तैपनि मेरो समकालीन पुस्तामा म त्यसो गर्न असमर्थ रहें।अहिलेको अवस्थामा भने म गुमनाम भैसकेको छु। पछिल्लो छिमलको नेपाली चलचित्रकर्मका लागि अब म गुगलिङको विषय भैसकें।
तर, मलाई यसमा दु:ख छैन। यो स्वभाविक विकासक्रमको नियम नै हो। मलाई लाग्छ, मैले आफ्नो इनिङ पूरा गरें। जतिबेला मैले आफ्नो जन्मभूमि केही समयका लागि छोडेर अमेरिका आउने निर्णय गरें, त्यतिबेला मेरो पत्रकारिताले तीन दशक नाघिसकेको थियो भने उमेर पनि पाँच दशक उकालो लागिसकेको थियो। मैले जे गर्न सकें, गरें। जब मेरो इनिङ समाप्त हुँदैगएको अनुभूति हुन थाल्यो। म देशका लागि बोझ हुनुभन्दा केही समय परदेशतिर लागेर आत्मनिर्भर हुन सही ठानें। अहिले म जीवनको अर्को इनिङमा एक जिम्मेवार श्रीमान् र एक पिता हुन संघर्ष गरिरहेको छु। ५० वर्षको उमेरमा थाकेको तन र भावुक मन लिएर आएको मानिस म, अमेरिकामा कति दुखेको छु, त्यो म जस्तो हैन, म भएर मात्रै अनुभव गर्न सकिन्छ। त्यही अनुभव गरिरहेको छु म।
अहिले पनि म सगौरव नेपाली नागरिक हुँ। त्यसैले म नेपालका गतिविधिप्रति निरपेक्ष छैन। म आफ्नो जन्मभूमीलाई ज्यादै माया गर्छु तर म यो भन्दिन कि नेपालको भौगोलिक प्रोक्सिमिटीमा रहेका भन्दा बढी गर्छु। मौका पाउँदा देश छोडेर हिडेको मानिस हुँ। देशलाई आवश्यक पर्दा त्यहाँ रहेकाले जे जति योगदान गर्न सक्छन्, म यहाँ बसेर त्यति गर्न सक्दिन। यही कुरामा मेरो यहाँका अति नेपालवादी मानिससँग कुरा मिल्दैन। त्यसमा पनि अमेरिकी नागरिक भैसकेका राष्ट्रियताका हिसाबले भूतपूर्व नपालीले देखाएको अति नेपालवाद त काउसो जस्तै लाग्छ मलाई। मानिस जे हो, त्यही मात्र देखिनुपर्छ भन्ने ठान्छु म। म देश फेर्न सकिन्छ, जन्मभूमी हैन भन्ने मान्यता राख्छु। संसारमा जन्मभूमी, देश र राष्ट्रियता एउटै भएका मानिस पनि छन्, त्यो भिन्न भिन्न भएका मानिस पनि छन्। धेरैलाई लाग्छ, यी तीनवटै एउटै हुन्। तर, त्यो यथार्थ हैन। यही क्रममा कसैले देश फेर्यो भने त्यो पुरानो देशका लागि देशद्रोही हुन्छ भन्ने म ठान्दिन।
म आफूचाँहि जीवनपर्यन्त जन्मभूमी, देश र राष्ट्रियता एउटै राख्न सकुं भनेर कामना गर्छु। यदि सकिन भने जन्मभूमिसँग माफी माग्दै त्यसदिन उप्रान्त मेरो जन्मभूमी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने खालको कुनै अभद्र टिप्पणी गर्ने छैन। म यस कुरामा सचेत छु कि त्यतिबेला मैले गर्ने टिप्पणी एक देशको नागरिकले अर्कै देशको सार्वभौमसत्तामाथि गरेको टिप्पणी हुनेछ। मलाई मेरो जन्मभूमिमाथि त्यस्तो टिप्पणी गरेर कपुत हुनु छैन। रह्यो नेपाली रहने कुरा, मलाई संस्कारले, जातिले, भाषाले नेपाली रहिरहन कसैले रोक्न सक्दैन। त्यसका लागि भाषा, संस्कार, खाना, भेषभूषा बचाउने अतिरिक्त मेहेनत मैले र मेरो अर्को पुस्ताले गर्नुपर्ने हुन्छ। म कामना गर्छु, त्यो शक्ति मलाई प्राप्त होस् ।