राजा साहेब! सेते दमाइको सालिक बन्दैछ

विगतमा भुरेटाकुरे राजाहरुले शासन गरेको जिल्ला मध्ये दैलेख पनि एक थियो। शासकहरुको हली बनेर दलितहरुको पुर्खाले वर्षौदेखि उनीहरुको सेवा गर्दै आए। जसमा नौमुले गाउँपालिका –१ का सेते दमाइको पुर्खा पनि पर्थ्यो।

जब  पृथ्वीनारायण शाहको नेपाल एकिरणको अभियान सम्पन्न भयो तब भुरेटाकुरे राजाहरुको शासन सदाको लागि च्यूत भयो। विगतमा राजा साहेब भनिएका ठकुरीहरुको रवाफ छुटै खालको रह्यो। उनीहरुको रवाफ, हली बनेका दलितहरुको अघि सधैजसो सगरमाथाको चुचुरो नै छोउला झैं हुन्थ्यो।

उनीहरुको त्यस्तो रवाफको शिलशिला नेपालबाट संवैधानिक रुपमा नै राजसंस्थाको अन्त्य हुँदा पनि कायम छ। अब उक्त रवाफलाई छोराको प्रेम विवाहका कारण सहिद बन्न पुगेका सेते दमाइको सालिकले गतिलो जवाफ दिने भएको छ।

सेते र उनका पुर्खाहरु सामन्तवादी समाजको संरचनामा हुँदा अशिक्षित हली बने पुग्थ्यो। तर उनका सन्तानहरु पूँजिवादी समाजका भएकाले अशिक्षित हली बनेर मात्र नपुग्ने भयो।

पूँजिवादी समाजको सामाजिक संरचनालाई सकेसम्म उच्च नभए न्युनतम भए पनि शिक्षित मजदुरहरुको आवश्यकता भएकाले गाउँगाउँमा शिक्षालय खुले। जसको परिणाम सेते दमाइका छोराछोरीहरुले जस्ता नयाँ पुस्ताले शिक्षाको स्वाद लिन थाल्यो।

सेते दमाइका छोरा सन्त बहादुर दमाइले पढ्दा पढ्दै प्रा.वि तह पार गरेर मा.वि तहमा प्रवेश गरे। उनले विद्यालय शिक्षाको तह मात्र कहाँ पार गरेका थिए र? उनीसँगै उनको उमेरले पनि विभिन्न तह पार गर्दै थियो। जब उनी विपरित लिंगप्रति आकर्षित हुने स्वभाव भएको किशोर अवस्थामा पुगे तब उनी हिजोदेखि राजासाब मानिएका ठकुरीकी छोरी राजकुमारी शाही प्रति आकर्षित हुन पुगे।

कानुनले त्यो अवस्थाको विवाहलाई मान्यता नदिएको भए पनि समाजमा उनले त्यस्ता विवाह थुपै देखेका थिए। किशोरावस्थाले उनीहरुलाई विवाह नगरी बस्न नदिए पछि आज भन्दा नौ वर्ष अघि अथार्त २०६८ साउन २८ मा उनीहरुले भागी विहे गरे।

०००

कथित तल्लो जातको छोरोले हिजोका भुरेटाकुरे राजाका सन्तानकी छोरीलाई भगाएपछि ठकुरीलाई जलन मात्र कहाँ होर? त्यो सँगै उनीहरुमा नौ रेक्टर स्केलको भूकम्प नै गयो।

त्यसैको धक्काले हुत्तीएर राजासाबहरु सेते दमाइको आँगनमा पुगे। शानको रुपमा रहेको राजासाबको रवाफलाई हवाला दिएको महशुस गरेका उनीहरुले सेतेको घरमा एकाएक खानतलासी गरे।

केटाकेटी गाउँमा बस्न सक्ने वातावरण थिएन। सामाजिक बहिस्कार र गम्भीर आक्रमणको सिकार हुनुपर्ने थाहा भएर उनीहरु स्व–बिस्थापित भइसकेका थिए।

‘दमाइको छोरोले नाक काट्यो। हामी मान्छे काट्छौं’ भनेर प्रतिशोध पालेर बसेका राजा साहेबहरुले अन्तिममा सन्त बहादुरका बाबु सेते दमाईलाई नै निशाना बनाए। परिणाम भदौ १३ गते राजा साहेबहरुको चक्कु र खुकुरी सेते दमाइ र सन्तका जेठा दाइ नरबहादरका छातिमा रोपिए।

गम्भीर घाइते उनीहरुलाई उपचारको लागि दैलेख सदरमुकामको अस्पतालमा पुर्‍याइयो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत लगियो। तुलनात्मक रुपमा कम घाइते भएका नरबहादुर बाँचे भने सन्तका बा सेते दमाइले छोराको प्रेमको नाममा २०६८ भदौं १४ मा प्राण त्याग गरे।

०००

अन्तरजातीय विवाहका कारण हत्या जस्तो अपराधिक कदम चालिएपछि उक्त घटनाको सडक, सदन लगाएत चौतर्फी विरोध भयो। घटनाको छानविन गर्न गठित तत्कालीन संविधान सभाको ‘महिला, बालबालिका तथा समाज कल्याण समिति’को स्थलगत अध्ययन भयो।

यो सँगै सभासद विनोद पहाडीको नेतृत्वमा बनेको ‘जातीय विभेद अध्ययन अनुगमन उपसमिति’ले पनि घटनाको अध्ययन गर्‍यो। यी दुबै समितिको अध्ययन पश्चात  पीडितलाई न्याय र १० लाख क्षतिपूर्ति दिनेसम्मको काममा सरकारलाई बाध्य बनायो।

विगत देखि हालसम्म अन्तरजातीय विहेका कारण पीडित बनेकाहरु मध्ये चाँडो न्याय पाएको यो नै नेपालमा पहिलो घटना हुन पुग्यो। 

घटना घटेलगतै जिल्ला स्थित कृयाशिल पत्रकार अमर सुनारको अध्यक्षतामा ‘सेते दमाइ सहिद घोषणा संघर्ष समिति’ पनि गठन भएको र त्यसले निरन्तर खबरदारी गर्दै आइरहेको थियो।

जातीय विभेदका कारण हत्या जस्तो जघन्य अपराध भइसकेपछि स्वभावैले सरकारी संयन्त्र अन्तर्गतको सुरक्षा निकाय खटिनुपर्ने हो। तर राज्य संयन्त्रमा पहुँच नभएको समुदाय पीडित बनेको हुनाले दोषिलाई कारबाहीको लागि सडक देखि सदनसम्म संघर्ष अगाडि बढाउनु परेको तिता अनुभूतिहरु त्यसबेला संघर्ष गरिरहका सभासद पहाडी र पत्रकार सुनारका छन्।

उक्त घटनामा संलग्न रहेका ९ जना दोषी मध्ये घटनाको मुख्य योजनाकार बिन्दकला शाही थिइन् भने  खुकुरी प्रहार गर्नेमा जीवन शाही र कृष्ण खत्री थिए। तत्कालीन जिल्ला अदालतका न्याधिश राधाकृष्ण भट्टको एकल इजालासले ती तीनै जनालाई २०६९ जेठ ३० गते २०–२० वर्ष जेल सजायाको फैसला गर्‍यो। उनीहरु हाल जेल सजाय भोगिरहेका छन्।

उक्त फैसला अनुसार घटना स्थलमा प्रत्यक्ष संलग्न रहेका दुई जना १६ वर्ष ननाघेका नाबालक भएकाले उनीहरुलाई १० वर्षको लागि बाल सुधारगृहमा पठाइएको थियो। उनीहरुलाई ५० प्रतिशत कैद मिनाह भएपछि हाल घर फर्किएका छन्।

सेते दमाइको हत्यामा सूचना सम्वाहक बनेका र हत्या अघि पटक–पटक सेते दमाईको परिवारलाई कुटपिट गर्दै आएका अरु ४ जना बालकहरुलाई जिल्ला अदालतले सफाइ दिएको थियो। तर २०७० वैशाख २४ गते पुनरावेदन अदालतले उनीहरु समेत गरी ९ जनालाई एक–एक वर्ष जातीय विभेद कसूरमा कैद गर्ने फैसला गर्‍यो।

पुनरावेदन अदालतका तत्कालिन मुख्य न्यायाधीश दीपकराज जोशी र न्यायाधीश रत्न बागचनको इजलासले जिल्ला अदालतको अघिल्लो फैसलामा जातीय विभेद कसूर समेत ठहर गर्‍यो।

आरोपित पक्षले गरेको पुनरावेदनमा सर्वोच्च अदालतले समेत तलका अदालतको फैसला सदर गरिदियो। तलदेखि माथिसम्मका अदालतले पीडितलाई न्याय दिलाए।  

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानले २०७५ साउन १४ गते गरेको अन्तिम फैसलामा हत्या जस्तो जघन्य अपराधिक घटना भएको  बेला सहभागी नभएका तर त्यस अघि सेते दमाईलाई कुटपिट गरेका ४ जना बालकहरुलाई जातीय विभेद कसूरमा सफाई दिइएको छ।

०००

पछिल्लो समय जातीय विभेदका कारण घटेका घटनाहरुको विरुद्धमा खरो आवाज उठाइरहेकी प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्के कै पहलमा आगामी वर्ष सरकारले सेते दमाईको सालिक बनाउन १० लाख रुपैंयाँ विनियोजन गरेको छ।

हिजो न्यायको लागि संघर्षमा होमिएकाहरुलाई यो खबरले खुसि बनाएको छ। संविधानसभा सदस्य विनोद पहाडीलाई त्यसबेलाको संघर्षले उपलब्धि हासिल गरेको लाग्छ। सेतेको सालिक बनाउन बजेट विनियोजन भएको जानकारी पाउँदा आफूलाई अत्यन्त खुसी लागेको उनले बताए।

‘राज्यले सेते दमाइको सालिक बनाइदिनु सेतेको सम्मान हो,’ मुक्ति समाजका केन्द्रीय सदस्य गोपाल नेपालीले खुसी प्रकट गरे।

त्यस्तै खुसी लागेको प्रतिनिधिसभा सदस्य पार्वती बिशुन्केले बताइन्। ‘जिल्लाको जातीय विभेदको ठूलो घटना स्मरणीय गराउन सालिक बनाउने बजेट पारेकोमा गौरव लागेको छ,’ उनले भनिन्।

यसले राजा साहेबहरुको उचो कद गिरेको छ। राजा साहेबहरुले दास भनेको मान्छे सालिक भएको छ।

अन्तरजातीय विवाहको कारण बर्बर याताना पाएर मृत्यु वरण गरेका सेते दमाइको सालिकले आम दलित प्रति सम्मान भाव व्यक्त त गर्ने नै छ। यो सँगै जातको आधारमा रवाफ देखाउदै अपराध गर्ने अपराधिहरुलाई सधै घृणा जगाइरहने छ भन जातीय बर्बरताको इतिहास सुरक्षित राख्ने छ।

प्रकाशित मिति: : 2020-07-12 15:15:00

प्रतिकृया दिनुहोस्