‘यो तिम्रो गाँजा खाने ठाउँ हो?,’ उज्यालो मुहार, धपक्कै बलेकी युवतीको मिठो बोलीले म झस्किएँ। ‘यहाँ नखाएर कहाँ गएर खाउँ त मैया? घरमा त गाली गरिहाल्छन् नि?’ मेरो मुखबाट प्रतिप्रश्न फुत्कियो।
उसले मलाई माथिदेखि तलसम्म हेर्दै भनी, ‘हेर्दा त खानदानी परिवारको जस्तो देखिन्छौ त। फेरि यो के पारा हो? अर्काको गाडी पार्क गरेको ठाउँमा आएर गाँजा खाने?’ मनमनै सोचेँ, ‘वाफ् रे! यो केटी त कति डेन्जर हो? भेट्न पाएको छैन थर्काउँछे त।’ एकछिन फेरि मेरो लठ्ठीएको आँखामा हेरेर उसले भनी, ‘मेरो गाडीमा बस म तिमीलाई कतै लैजान्छु।’
मैले यसपटक आश्चार्य मान्दै भनेँ, ‘तिम्रो गाडीमा म किन बस्नु?’ उसले ठूला ठूला आँखा पारेर म तिर हेरी। म चुपचाप उसको गाडीमा बसेँ। तर उसले मलाई कहाँ लिएर जाँदैंछे भन्ने कुराको मलाई कुनै हेक्का थिएन। न्यूरोडको एउटा विशाल भवनको पार्किङमा भेटेपछि उसले मलाई गाडीमा राखेर शहिदगेट, थापाथली, कुपण्डोलहुँदै पुलचोकसम्म लिएर गई। पुलचोकको एउटा एक तल्ले घर अगाडि लगेर गाडी रोकी। गाडी रोकेर आफू ओर्ली अनि म बसेको साईडको ढोका खोल्दै बाहिर निस्किन ईशारा गरी।
मैले सोधें, ‘यो मलाई कहाँ लिएर आएको? अब त भन। मसँग त यस्तो व्यवहार गर्दैछौ कि, तिमी मलाई वर्षौदेखि चिन्छौ।’ ऊ चुपचाप अघि अघि हिँडी म उसको पछिपछि लागेँ। ऊ त्यो एकतल्ले घरको गेटभित्र पसेपछि सानो जाली ढोका देखियो। त्यहाँबाट भित्र कोठाको ढोकाको साईडको बोर्डमा लेखिएको थियो, ‘मनोपरामर्शदाता सन्जना बराल।’ बोर्डमा निकै बेर आँखा अडिएको देखेर उसले भनि, ‘हिँड भित्र,’ मैले उसलाई प्रश्न गरेँ, ‘को हो यो सन्जना बराल?,’ उसले हाँस्दै भनि ‘मै हो नि, अरू को हुनु र? म चुप रहेँ।
कोठाभित्र पसेपछि उसैले फेरि कुरा सुरू गरी, ‘चिया, कफि केही पिउँछौ?’ मैले कफि रोजेँ। उसले फोन डायल गरेर खै कताबाट हो दुई कप कफि मगाई। त्यतिन्जेल म भित्तामा टाँसिएको उसको फोटो र प्रमाणपत्रहरू हेरिरहेको थिएँ। उसले मेरो ध्यानलाई आफूप्रति आर्कषित गर्न खोज्दै भनि, ‘भन तिम्रो के समस्या छ?,’ म अक्मकाएँ स…मस्या? ‘के कुन समस्या’ म अक्मकिएको देखेर उसले फेरि भनी ‘कमअन.... तिम्रो मुहारले बताईरहेछ कि तिमी समस्यामा छौ।’ उसले फेरि सोधी ‘म्यारिड हौ?’ मैले अनुहार खुम्चाउँदै भने, ‘र्दुभाग्यवस् हो।’
उसले निधार खुम्चाउँदै आश्चार्य मानेर भनी ‘र्दुभाग्यवस्? किन नि?’ मैले रोक्न खोज्दा खोज्दै जिब्रो चिप्लियो ‘अनम्यारिड भएको भए तिमीसँग विवाह गर्थें नि।’ बोलिसकेपछि आफैंलाई असहज महसुस भयो पहिलोपटक भेटेकी केटीसँग त्यसरी कुरा गरेकोमा। यसपटक उसले झिँजो मानेको आभास भयो मलाई ‘ल भयो यो सबै कुरा छोड तिम्रो नाम भन।’
ऊ एउटा कुर्सीमा बसेकी थिई अनि उसको ठ्याक्क सामुन्ने म अर्को कुर्सीमा थिएँ। ऊ सँग पुलचोक पुग्ने बेलासम्म मैले तानेको गाँजाले छोडिसकेको थियो। उसले फेरि बोलाई। म उसको त्यो सुन्दर मुहारमा मोहित भईसकेको थिएँ। मैले झस्किदैं भने, ‘म सागर...।’ मेरो नाम सुनिसकेपछि उसले मलाई गहिरेर हेरी अनि नम्र भएर सोधी, ‘म हरेक साँझ जुम्बा क्लास जाँदा तिमीलाई त्यतै वरिपरी देखिरहेकी हुन्छु। मैले धेरैपटक तिमीलाई गाँजा तानीरहेको देखेकी छु। के समस्या छ तिमीलाई? मलाई खुलस्त भन। अरूलाई कुरा लुकाए पनि मलाई तिमी कुनै कुरा लुकाउन सक्दैनौं।’ यसपटक किन किन उसको बोली मलाई आत्मीय लाग्यो। मैले उसलाई मेरो कथा सुनाउन सुरू गरेँ।
‘म सानैदेखि सबै कुरामा पोख्त थिएँ। कुनै पनि प्रतियोगिता होस् मैले भाग लिएर कहिल्यै दोस्रो हुन परेन। म सधैं प्रथम हुन्थेँ। पढाईमा पनि निकै तिक्ष्ण थिएँ। ममि, ड्याडीको ईच्छा मलाई सिए (चार्टर अकाउन्टेन्ट) बनाउने थियो। उहाँहरूकै ईच्छा अनुरूप म सिए पढ्न दिल्ली गएँ। म पढ्ने कलेजमा असाध्यै ट्यालेन्ट केटी थिई। कक्षामा ऊ जहिल्यै प्रथम हुन्थी अनि म सधैं दोस्रो। नेपाल हुँदा कहिल्यै दोस्रो हुनुको अनुभव नगरेको मैले दिल्लीमा गएर दोस्रो हुनुपर्यो यो। मलाई ऊ प्रति ईर्श्या पलाउन थाल्यो। भित्रभित्र जति जलन भए पनि म बाहिर उसँग राम्रैसँग बोल्थेँ। ऊ पनि नेपाली नै थिई। हेर्दा जति राम्री र आर्कषक भए पनि ऊ प्रति प्रतिसोधको भावना मेरो मनमा पलाउन थाल्यो। ऊ र म बाहिर बाहिर घनिस्ट हुँदै गयौं।
एक दिन मैले उसलाई डिनरको लागि रेस्टुरेन्ट लिएर गएँ। उसलाई बिर्यानी मनपर्छ भनेर बिर्यानी अर्डर गरेँ। उसको अंग्रेजी साह्रै राम्रो थियो। हामी प्राय अंग्रेजी मै कुरा गर्थ्यौं। त्यस दिन उसले र मैले डिनरसँगै ड्रिंक्स पनि गर्यौं। रात निकै परिसकेको थियो। त्यसैले उसलाई मैले होस्टेल नगएर कुनै होटलमा गएर बस्न अनुरोध गरेँ। उसले सायद पहिलो पटक पिएकी थिई। मलाई थाहा थियो उनीहरूको परिवारमा पिउने चलन थिएन। मलाई त बदला लिनु थियो त्यसैले मैले उसलाई जबरजस्ती पिउन लगाएँ।
रेस्टुरेन्टबाट निस्किँदा रात निकै परिसकेको थियो त्यसैले मैले होस्टेल जानुको साटो उसलाई होटेलमा लिएर गएँ। आफूलाई मन लागेको गरेँ। उसको शरीरसँग खेलेँ। ऊ चुपचाप बसेपछि ममाथि झन् ऊर्जा पैदा भयो। उसले कुनै प्रतिकार गरिन। भोलिपल्ट बिउँझिदा मलाई भयंकर ठूलो गल्ती गरेको महसुस भयो।
उसलाई जब भोलिपल्ट ड्रिंक्सले छोड्यो उसले मलाई रन्किने गरी गालामा हानी। मलाई त्यसपछि उसले यो कुरा कलेजमा भन्दिन्छे भन्ने कुराले सताउन थाल्यो। म कलेजमा उसको अगाडि पर्नै सकिनँ। बिस्तारै बिस्तारै मेरो मनोबल घट्दै गयो। आफ्नो गल्तीलाई बिर्सन मैले गाँजा पाउने ठाउँसमेत पत्ता लगाएर गाँजा तान्न सुरू गरेँ। त्यहीबाट बानी लाग्यो।
बिस्तारै म दुब्लाउँदै गएँ। मलाई दिल्ली बस्नै मन लागेन। अपराधवोधको कारण मैले बिचमै पढाई छोडेर नेपाल फर्कें। त्यसदिनदेखि ऊसँग मेरो कुरा भएन। त्यतिकै सेलायो मेरो प्रतिसोधको भावना अनि चार्टर अकाउन्टेन्ट बन्ने सपना पनि। म नेपाल फर्केर आएपछि कतिदिनसम्म त ड्याडी ममी कोही पनि मसँग राम्रोसँग बोल्नु पनि भएन। उहाँहरूलाई म गाँजा तान्छु भन्ने कुरा पनि बिस्तारै थाहा हुन थाल्यो। मेरो खस्किँदै गएको अवस्था देखेर उहाँहरूले मेरो विवाह गरिदिने विचार गर्नुभयो। ममिहरूले जति केटी देखाए पनि मलाई मन पर्दैनथ्यो। उहाँहरुरू आजित भईसक्नुभएको थियो मसँग।
नेपाल फर्केको दुई/तीन महिनापछि मेरो लागि ड्याडीले आफ्नो साथीलाई भनेर केटी खोज्नुभयो। उहाँले खोजेको केटी मलाई मनपर्यो। उसको नाम ममता अनि घर भैरहवा थियो। ममताको बानी मलाई साह्रै मनपथ्र्यो। ममतालाई भेटेपछि मैले गाँजा छोड्ने कोशिश गरेर यसको बारेमा ऊसँग केही पनि भनिनँ। हामी बिच कुराकानी हुन थालेपछि निकै भव्य तरिकाले एकदिन उसको र मेरो कुराकानी छिनियो। मैले उसको मायामा सबै बिर्सिदैं गएँ। तर खै किन हो किन मेरो भाग्यमा खुशी यस्तो अतिथि बनेर आउँथ्यो जसलाई मैले स्वागत गर्न नपाउँदै जिन्दगीको ढोकाबाट हराईहाल्थ्यो।
विवाहको एक हप्ता अगाडि मात्रै ममताको स्कुटर दुर्घटनामा परेर मृत्यु भयो। उसको मृत्युले म यति विक्षिप्त भएँ कि मैले केही सोच्नै सकिनँ। धेरै मुस्किलले मैले गाँजा छोडेर आफूलाई नयाँ बाटोतिर लैजादैं थिएँ तर फेरि त्यो घटनाले मलाई बिच बाटोमै रोकिदियो। म न दायाँ मोडिन सकें न बाँया। त्यसपछि फेरि आफूलाई सम्हाल्दै लगेँ। विवाहको कार्ड छापिसकेकोले ममि ड्याडीलाई मेरो विवाह जसरी पनि हुनैपर्छ भन्ने थियो। मैले विवाह गर्न नचाहँदा नचाहँदै मेरो विवाह भयो यसपटक ममिको साथीको छोरी निर्जलासँग। एक त मेरो विगतले गर्दा मैले उसलाई अपनाउन सकेको थिईनँ। त्यसमाथि ऊ आफ्नै मनोमानी गर्थी। उसको र मेरो बिचमा कहिल्यै पनि त्यो सम्बन्ध भएन जुन एउटा श्रीमान र श्रीमतीको बिचमा हुनुपथ्र्यो। अहिले पनि उसमा कुनै परिवर्तन आएको छैन। उसलाई जतिखेर मन लाग्छ त्यतिखेर माईती गईदिन्छे। मेरो कुरामा उसको खासै चासो हुँदैंन। म बिरामी हुँदा पनि उसले वास्ता गरिदिन थिई। ऊ आफनो ईच्छापूर्तिको बारेमा मात्रै सोच्छे।
मेरो कुरा सुनेर सन्जनाले सोधिहाली ‘भनेपछि बच्चा बच्ची भएनन्?,’ मैले टाउको हल्लाएँ उसले कुरा बुझिहाली।
त्यो दिन उसैले मलाई राति घरसम्म ड्रप गरिदिई। उसले मलाई परामर्शको लागि दैनिक एक घण्टा अफिसमा बोलाउँथी। म सधैं उसले बोलाएको समयमा जान्थेँ। निर्जला चाहीँ मेरो सोधखोज केही गर्दिन थिई। म पनि निर्धक्क बाहिर निस्किन्थेँ। एउटै घरमा बसेर पनि निर्जला र मेरो सम्बन्ध कहिल्यै परिचित जस्तो हुन सकेन।
एक रात खाना खाएर सुत्ने तरखर गरिरहँदा निर्जलाले निकै कर्कस आवाजमा भनी ‘मेरो त खप्पर नै फुटेको रहेछ जो हजुरसँग विवाह गर्न आईपुगेँ। न हजुरको कमाई छ न केही छ। खाली सासु ससुरा हेर्यो, घरको कामदार बनेर बस्यो बस् त्यति हो मेरो जिन्दगी। यस्तो श्रीमान पर्नुभन्दा त बरू म सिंगल नै बसेको भए हुने,’ मेरो स्वर ठूलो भयो, ‘निर्जला मुख सम्हालेर बोल।’ साच्चै भन्ने हो भने म कहिल्यै पनि निर्जलासँग खुशी हुन सकिनँ। सम्बन्ध बलियो बनाउन माया मात्रै भएर हुँदैंन एकअर्काप्रति सम्मान र ईज्जत पनि हुन जरूरि छ। त्यो कुरा निर्जलाले पनि मलाई दिन सकिन अनि सायद मैले पनि उसलाई दिन सकिनँ।
भोलिपल्ट उसले मसँग डिभोर्सको माग गरी। सम्बन्ध अगाडि बढ्नै नसक्ने भए पछि परिवारको सल्लाह अनुसार निर्जला र मैले सहमतिमै एकअर्कासँग डिभोर्स गर्यौं। निर्जलासँग त्यस्तो नजिकको सम्बन्ध कहिल्यै नभए पनि कानुनी रूपमा डिर्भोस हुँदा मेरो मन विचलित भयो। सोचेँ सायद मेरो भाग्यमा ‘प्रेम’ नै लेखिएको छैन होला।
मसँग डिभोर्स गरेको एक महिनाभित्रै निर्जलाले विवाह गरेको खबर मेरो कानसम्म आईपुग्यो। केही नातेदारहरु यस्ता हुन्छन् कि कुनै घाउले आफूलाई दुखोस् वा नदुखोस् तर उनीहरु बारम्बार अरुको घाउ कोट्याउन अग्रसर रहन्छन्।
कतै जाने मन नभएर त्यसदिन घरै बसेर पढिरहेको थिएँ। सन्जनाले म्यासेज गरेर बोलाई। म्यासेजमा लेखिएको थियो ‘यसपटक अफिसमा परामर्शको लागि होइन। म मात्रै साथी बनेर तिमीसँग कतै भेट्न चाहन्छु। तिमी स्वयम्भु आउ म तिमीलाई त्यतै पर्खिरहेको हुन्छु।’
म हतार हतार बाईक लिएर स्वयम्भु गएँ। मलाई देख्नासाथ उसले मलाई अंकमाल गरी अनि आँखाभरी आँशु झार्दै भनी, ‘आजसम्म जे भयो त्यो बिर्सिदेउ। अबको दिन सुनौलो बनाउ। तिमी आफ्नो पढाईलाई निरन्तरता देउ। म तिमीलाई जीवनभरी साथ दिनेछु।’
उसैको ईच्छा अनुसार म फेरि छोडिसकेको सि.ए को पढाईलाई निरन्तरता दिन थालेँ। सि.ए को पढाई सकेर नेपाल आएँ। सन्जनाको माया र साथले मैले गाँजालाई बिर्सिसकेको थिएँ। मैले आफ्नो पढाई सकेर आउनेबेलासम्म उसले कसैसँग विवाह नगरी मेरो बाटो पर्खेर बसिरही। मैले सबैथोक बिर्सेर नयाँ बाटो रोजेँ जुन बाटोमा म र सन्जना अनेक खाल्डाखुल्डी पार गर्दै निरन्तर हिडिरह्यौं।