राप्ती सोनारी गाउँपालिका–८ बाँकेकी शोभी थारूलाई घर चलाउन मात्र होइन कपडा, चुरापोते लगायत आफूलाई आवश्यक पर्ने सामान किन्न श्रीमान्को मुख ताक्नुपर्दैन। “आफूलाई मन लागेको सामान र छोराछोरीको कापी–कलम किन्न मसँगै भएको पैसाले पुग्छ, छोराछोरीको फि पनि आफैं तिर्छु, बूढोसँग पैसा माग्न नपरेपछि त जे काम गर्न पनि साहस आउँदो रहेछ”, उनी भन्छिन्।
घरमा सञ्चालन गरेको होमस्टेले शोभीको जीवनमा ठूलै परिवर्तन ल्यायो। उनलाई सानातिना काम गर्न श्रीमान्सँग सल्लाह गर्नुपर्दैन। न त भर नै पर्नुपर्छ। उनका अनुसार होमस्टेबाट मासिक रु.१० हजारदेखि १५ हजार बचत हुन्छ। तर बन्दाबन्दीमा भने आम्दानी शून्य भएको छ।