संयुक्त राष्ट्रसंघले जंगली जनावरको ज्यान लिने वा उनीहरुलाई उत्पीडनमा पार्ने काम गरिरहे कोरोना भाइरस (काेभिड–१९) संक्रमणभन्दा पनि झनै खतरनाक महामारीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
खतरनाक महामारीबाट जोगिन जीवजन्तुलाई नमार्न र प्राकृतिक स्रोतसाधनको दोहन नगर्न पर्यावरणसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको इन्भाएरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्युटका विशेषज्ञहरुले सुझाव दिएका हुन्।
संयुक्त राष्ट्रसंघको विशेषज्ञहरुका अनुसार केही वर्षयता जनावर र पक्षीबाट मानिसमा सर्ने बिरामी लगातार बढ्दै गएको छ। विज्ञानको भाषामा यस्ता विरामीलाई ‘जुनोटिक डिजिज’ भनिन्छ। कोभिड–१९ जस्तै इबोला, वेष्ट नाइल भाइरस र सार्स पनि जूनोटिक डिजिज हुन्, यी सबै पहिले जनावरमा देखिएर त्यसपछि मानिसमा सरेका हुन्।
‘कोरोना भाइरस जस्ता महामारी आउनुमा पर्यावरणमा क्षति, प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन, जलवायु परिवर्तन र जंगली जनावरको उत्पीडन मुख्य कारण हुन्,’ इन्सटिच्युटको रिपोर्टमा लेखिएको छ।
संयुक्त राष्ट्रसंघको रिपोर्टका अनुसार प्रोटिनको बढ्दो मागका कारण मानिसले जनावरहरुको ज्यान लिइरहेका छन्। तर यदि मानिसहरुले पर्यावरण र जंगली जीवजन्तुलाई बचाएनन् भने यस्तै अन्य महामारीको सामना गर्नुपर्ने पर्यावरण र स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन्।
घरपालुवा तथा वन्यजन्तुमा अधिक निर्भर रहेका तथा गम्भीर विकास समस्या रहेका समुदायहरु विशेष गरी जोखिममा पर्ने गरेको संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमका कार्यकारी निर्देशक तथा युएनका उपमहासचिव इङ्गर एन्डरसनले बताइन्।
उनले भनिन्, ‘पछिल्लो ५० वर्षमा मासुको उत्पादन २६० प्रतिशतले बढेको छ। कतिपय समुदाय त घरपालुवा र जंगली जीवजन्तुमै निर्भर छन्। हामीले खेतीपाती त बढायौं तर प्राकृतिक स्रोतको अन्धाधुन्द दोहन पनि गरिरहेका छौं। जंगली जनावरको बासस्थान नष्ट गरिरहेका छौं, उनीहरुलाई मारिरहेका छौं।’
उनका अनुसार बाँध, सिंचाइ, उद्योग कलकारखाना र खेतबारी पनि मानिसमा हुने संक्रामक रोगको लागि २५ प्रतिशत जिम्मेवार छन्।विशेषज्ञहरुका अनुसार जनावरबाट हुने अलग–अलग विरामीको कारण विश्वभर करिब २० लाख मानिसको ज्यान जान्छ।
उनले भनिन्, ‘कम तथा मध्यम आय भएका देशमा हरेक वर्ष स्थानीय रुपमा पाइने जूनोटिक डिजिजका कारण २० लाख मानिसको ज्यान जाने गरेको छ।’
पछिल्लो केही वर्षयता मानिसमा जनावरबाट सर्ने रोग अर्थात् जुनोटिक डिजिज बढेको छ। इबोला, बर्ड फ्लु, सार्स जस्ता रोग यसै श्रेणीमा पर्दछन्। पशुपक्षीमा मात्र हुने यी रोगको शिकार अहिले मानिस भइरहेको छ।
यस्ता रोगहरुले स्वास्थ्यसँगै आर्थिक नोक्सानी पनि ठूलो गर्ने गर्छन्।
एन्डर्सनले भनेकी छन्, ‘हरेक वर्ष कम्तिमा २० लाख मानिसको मृत्यु ग्रन्थीसम्बन्धी रोग, चौपायाबाट हुने टिबी र रेबिज जस्ता जुनोटिक रोगका कारण भइरहेको छ। त्यतिमात्रै होइन, यी बिरामीबाट आर्थिक क्षति पनि हुने गरेको छ। पछिल्लो शताब्दीमा हामीले नोवेल कोरोना भाइरसका ६ प्रमुख महामारी देखेका छौँ। पछिल्लो दुई दशक अर्थात कोभिड–१९ पूर्व जूनोटिक डिजिजका कारण १०० बिलियन अमेरिकी डलर बराबरको क्षति भएको थियो।’
विशेषज्ञहरुले रिपोर्टमा भूमिको दीगो व्यवस्थापन, जैविक विविधतामा विस्तार तथा वैज्ञानिक अनुसन्धानमा लगानी बढाउन प्रतिवेदनमा सुझाव दिइएको छ।
एन्डर्सन भन्छिन्, ‘यदि हामीले इकोसिस्टमसँग खेलवाड गरिरह्यौं, जंगली जीवजन्तुलाई हानी पुर्याइरह्यौं भने आगामी दिनमा जनावरबाट मानिसमा सर्ने रोग अझै बढ्ने छ।’
उनका अनुसार भविष्यमा कोरोना भाइरस संक्रमण जस्ता खतरनाक रोगलाई रोक्न मानिस पर्यावरण र जीवजन्तुको रक्षाका लागि गम्भीर हुनु पर्ने छ।