सङ्कटमा अवसर देखेपछि...

बन्दाबन्दीले सुवास श्रेष्ठको सोचलाई रोकेन। व्यवसायमा अनुभवी उनले नयाँ जुक्ति रचे। सङ्कटलाई अवसरमा बदले। बागलुङ नगरपालिका–२ का उनले  रु ५० लाखको लगानीमा ‘ब्राउन आइज मार्ट’ खोलेर नयाँ व्यवसायमा हात हाले।

उनको लगानीमा सञ्चालित ‘ब्राउन आइज पार्टी प्यालेस’, रेष्टुराँ, सिनेमा घर, जिमखाना र नृत्यशाला अहिले बन्द छन् । चल्तीका व्यवसाय कोरोनाका कारण एकाएक थलिएपछि उनले नयाँ योजना बुने। ‘पार्टी प्यालेस, रेष्टुराँदेखि मेरो सबै व्यवसाय अहिले ठप्प छ’, उनले भने, ‘बन्दाबन्दीले आर्थिक रूपमा समस्या हुन थालेपछि नयाँ उपाय निकालेँ।’ उनले घरायसी सामान जस्तो स्थितिमा पनि किनमेल हुने देखेर ‘मार्ट’ खोलेको प्रतिक्रिया दिए।

अदालत रोडस्थित ‘मार्ट’ मा खाद्यान्न, तरकारी, शृङ्गार, डेरीजन्य उत्पादनलगायत घरायसी सामग्री उपलब्ध छन्। “स्वदेशदेखि विदेशी ब्राण्डसम्मका सामान राखेका छौँ’, उनले भने, ‘बच्चाका खेलौना, उपहार पनि थप्ने योजना छ।’

उक्त ‘मार्ट’ बाग्लुङ बजारकै ठूलो रहेको उनको जिकिर छ। ‘मार्ट’ तीन हजार स्क्वायर फिटमा बनेको छ। चार जना कर्मचारी राखेर सेवा दिइरहेको उनले बताए। आउँदा दिनमा ग्राहकको मागअनुसार घरघरमै सेवा पुर्‍याउने लक्ष्य लिइएको छ। पहिलेदेखि सञ्चालनमा रहेका व्यवसाय कहिले खुल्ने कुनै निधो नभए पनि श्रेष्ठ नयाँ व्यवसायको प्रवद्र्धनमा लागेका छन्। कोरोना सङ्कट मत्थर भएपछि सबै व्यवसाय पुरानै अवस्थामा फर्कने उनको विश्वास छ ।

‘अरु व्यवसाय पनि विस्तारै खुल्दै जाला अहिलेलाई समयको मागअनुसार मार्टमा लगानी गरेँ’, उनले भने। उनले सामान किनबेच गर्दा आवश्यक सावधानीसहित भौतिक दूरी अपनाउने गरिएको बताए।

उमेरले बल्ल ३३ वर्ष टेके पनि आँट र मेहनत भयो भने उद्यमी बन्न उमेरले छेक्दैन भन्ने उदाहरण उनी बनेका छन्। उनले सञ्चालन गरेको व्यवसायमा १२ करोड लगानी छ। विसं २०५७ तिर बागलुङमा नृत्य प्रशिक्षण केन्द्र खोलेर व्यवसाय शुरु गरेका उनले बागलुङ, म्याग्दी हुँदै पोखरासम्म व्यवसाय विस्तार गरे। उनले गत वर्षमात्रै पोखरामा छ करोडमा ‘ब्राउन आइज पार्टी प्यालेस’ खोलेका थिए।

बागलुङमा सोही नामको ‘पार्टी प्यालेस’ विगत चार वर्षदेखि सञ्चालित छ। दुई ‘पार्टी प्यालेस’सँगै अन्य व्यवसायमा गरी करिब ५० जनाले रोजगारी पाएका थिए। अहिले व्यवसाय बन्द हुँदा रोजगारी पनि गुमेको छ। उनलाई दिदी मीना, श्रीमती सनमसहित परिवारका सदस्यले व्यवसायमा सघाउने गरेका छन्। ‘ससुराली परिवारकोतर्फबाट पनि मलाई सहयोग छ’, उनले भने, “सबैको साथ र हौसलाले व्यवसाय चलेको छ ।” 

हालसम्म गरेका व्यवसायबाट आफू सन्तुष्ट रहेको उनको भनाइ छ। ‘जस्तोसुकै समस्यामा पनि म आत्तिन्न बरु जोखिम उठाएर अघि बढ्छु’, उनले भने। देशमै आत्मनिर्भर बन्ने सोच र उद्देश्यले व्यवसायमा होमिएको उनको भनाइ छ। रासस

प्रकाशित मिति: : 2020-07-06 13:33:03

प्रतिकृया दिनुहोस्