मैदाको पिठो, दूध, घिउ, चिनी मिसाएर मुछी विभिन्न आकारमा तेलमा तारेर बनाइने परिकार हो, खाप्से। यो परिकारलाई ल्होछारको प्रसादका रूपमा लिइन्छ। ल्होछारमा पूजा गरेपछि खाप्से प्रसादका रूपमा खाने चलन भए पनि सधैभरी खाजाका रूपमा मिठो मानेर खाने गरिन्छ खाप्से।
यही खाप्सेको व्यापारबाट सानो परिवार पाल्दै आएका बुद्ध सिंह तामाङको हिजो आज ब्यापार चौपट छ।
अरूबेला साझ बिहानसमेत फुर्सद नपाउने यी ३६ वर्षे युवा आजकल निकै फुर्सदिला भएका छन्।
कपनस्थित खरिबोटमा सटर भाडा लिएर पछिल्लो एक वर्षदेखि खाप्सेको व्यापार गर्दै आएका तामाङलाई लकडाउनसँगै व्यापार नभएर हैरान छ।
मासिक १५ हजार तिर्ने गरि सटर भाडामा लिएका उनी यही ब्यापारबाट पहिले घरभाडा तिरेर पनि राम्रै बचत गरेका थिए। तर पछिल्लो ३ महिनादेखि उनलाई घरभाडा तिर्नै मुस्किल भएको छ। नेपाल सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम लागि गरेको लकडाउनका कारण आफूले व्यवसाय चलाउन नपाएको भन्दै उनले हिजोआज व्यापार नै नहुने गुनासो गरे। 'लकडाउन हुनुभन्दा अगाडि व्यवसाय राम्रै चलेको थियो। तर अहिले त्यसको आधा पनि छैन्,’ उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘तीन महिनासम्म पसल पुरै बन्द थियो। घर धनीले पनि आधा महिनाको सटर भाडा छुट गरिदिएका छन्। पुरै महिनासम्म छुट गरे त हुने तर घर धनीलाई पनि समस्या हुन्छ। त्यसैमा नै चित्त बुझाएको छु।’
असार ३ गतेदेखि मात्रै आफूले पसल खोलेको भन्दै उनले हिजो आज समय बिताउन मात्र पसल खोलेको जस्तो भएको बताए। विगतका दिनमा आफैं १५० केजीसम्म खाप्से बनाएर बेच्ने उनले अहिले २५ केजी बेच्न पनि कठिन भएको बताउँछन्।
विगत दिनमा धेरै खाप्से बनाएर उनले अरू पसलमा पनि बेच्ने गरेका थिए। अहिले ५० केजी खाप्से बनाए पनि ३/४ सम्म बिक्री नहुने गुनासो गरे। 'पहिलेका दिनहरुमा दिनमै १७ हजारसम्मको खाप्से बिक्रि हुन्थ्यो। अहिले ३/४ हजारको पनि व्यापार हुँदैन,' उनले भने।
एक प्याकेट खाप्सेलाई उनले एक सय रूपैयामा बेच्दै आएका छन्। लकडाउनका कारण अन्य व्यापारीले आफ्नो समानको मुल्य बढाए पनि आफूले भने पहिलेकै मुल्यमा बेच्ने गरेको उनले बताए। 'होलसेल रेट नै एक सय रूपैयाँ हो,' तामाङ्गले भने।
जारी लकडाउनका कारण सर्वसाधारण मुश्किलमा परेको बताउदैं उनले भने, ‘मान्छेले काम गर्न पाएका छैनन्। दाल भात खाने पैसा त कमाउन सकेका छैनन्। कहाँबाट किन्छन् होला र खाप्से?'