बौद्ध समाजका लागि असार पूर्णिमा बुद्धद्वारा पहिलो पल्ट धर्मचक्र प्रवर्त्तन भएको दिन मात्रै नभएर बोधिसत्व (भविष्यमा बुद्ध बन्ने सत्व) गर्भ प्रवेशको दिन पनि हो ।
असार पूर्णिमाको अर्को नाम गुरुपूर्णिमा पनि हो । यस दिन गुरु वेदव्यासको जन्म भएको मान्यता हिन्दू धर्मावलम्बीमा छ र उनैको सम्मानमा गुरुपूर्णिमा मनाइएको भनाइ छ । ठीक यही दिन गौतम बुद्ध (इ.पू. ५६३–४८३) ले पहिलो पल्ट धर्म देशना गरेका थिए र त्यसैको सम्झनामा धर्मचक्र प्रवत्र्तन दिवस मनाउने चलन छ । तिब्बती बौद्ध परम्परामा ‘चोकोर दुछेन’ भनी छैटौं महीनाको चौथो दिनमा मनाइन्छ। संयोग नै भन्नुपर्दछ, हिन्दू समाजमा जस्तै यस दिन बौद्धहरू पनि गुरुको महिमा गाएर गुरुपूर्णिमा मनाउँछन् तर सन्दर्भविशेष भने अलग अलग रहेको छ।
बौद्ध समाजका लागि असार पूर्णिमा बुद्धद्वारा पहिलो पल्ट धर्मचक्र प्रवर्त्तन भएको दिन मात्रै नभएर बोधिसत्व (भविष्यमा बुद्ध बन्ने सत्व) गर्भ प्रवेशको दिन पनि हो । असार पूर्णिमाका दिन कपिलवस्तुमा ठूलो उत्सवको आयोजना हुने परम्परा रहेको र यही दिन मायादेवीले राति स्वप्नमा सेतो हात्ती गर्भमा प्रवेश गरेको सपना देखेकी थिइन् भन्ने सन्दर्भ बौद्ध ग्रन्थहरूमा पाइन्छ । दश महीनापछि लुम्बिनीमा बोधिसत्वको जन्म भएको थियो भने उनै बोधिसत्वले २९ वर्षको उमेरमा गृहस्थ जीवन त्याग गरेका थिए। यस घटनालाई बौद्ध समाजमा ‘महाभिनिष्क्रमण’ भन्ने गरिन्छ।
बौद्ध साधनाका क्रममा ऋद्धिबल (अलौकिक शक्ति) प्राप्त हुनुलाई साधारण कुरा मानिन्छ। अर्हत्व (मुक्ति) प्राप्त भिक्षुहरूमा नै पनि यस्तो क्षमता प्राप्त भइसकेको हुन्छ। तर बुद्ध ऋद्धिप्रातिहार्य प्रदर्शनमा खासै महत्व दिंदैनथे र भिक्षुहरूलाई पनि अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र यस्तो प्रदर्शन गर्नमा रोक लगाएका थिए।