ट्रम्पको दवावपछि टर्कीले छोड्यो नासाको वैज्ञानिक

४ वर्षदेखि टर्कीमा ‘हाउस अरेस्ट’ परेका नासाका एक अमेरिकी वैज्ञानिक मंगलबार अमेरिका फर्किएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा जानकारी दिँदै नासा वैज्ञानिकलाई छुटाउन एउटा सम्झौता भएको बताएका थिए। 

नासाका वैज्ञानिक सेरकन गोलगे मध्य राती एउटा व्यवसायिक उडानबाट वाशिङ्टन फर्किएका थिए। टर्की र अमेरिकाबीच पछिल्लो समय बिग्रिएको सम्बन्धका कारण नासाका वैज्ञानिक टर्कीमा फसेका थिए। यी वैज्ञानिकलाई आतंकी संगठनसँग सम्बन्ध भएको आरोप टर्कीले लगाएको थियो। 

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै टर्कीले जुन हर्कत गरिरहेको छ, त्यसले उसको अर्थव्यवस्था खराब हुने बताएका थिए। सन् २०१९ मा टर्कीका समकक्षी एर्दोगनसँग व्हाइट हाउसमा वार्ता भएपछि ट्रम्पले आफ्नो वैज्ञानिक छिटै घर फर्किने बताएका थिए। ट्रम्पले अमेरिकी वैज्ञानिकलाई थुनामुक्त गर्ने टर्कीको निर्णयको स्वागत गरेका छन् र उनले व्यक्तिगत रूपमा धन्यबाद भनेका छन्। 

४० वर्षीय सेरकन अमेरिकाको ह्युस्टनमा बसोबास गर्छन। उनी नासाको मंगल मिशनको तैयारीका लागि काम गरिसकेका वैज्ञानिक हुन्। सन् २०१६ मा दक्षिणी टर्कीमा आमाबुवालाई भेट्न जाँदा उनलाई पक्राउ गरिएको थियो। टर्कीले आतंकवादीको सूचीमा राखेको गुलेन आन्दोलनसँग उनी सम्बन्धित भएको आरोप लगाएको थियो।

प्रकाशित मिति: : 2020-06-30 17:06:32

प्रतिकृया दिनुहोस्