जुम्लाको तातोपानी गाउँपालिका–२ का महेश डाँगी ३ वर्ष मलेसिया बसे। उनी मलेसिया हुँदा दैनिक १८ घण्टा ड्यूटी गर्थे। मुश्किलले पाइएका ६ घण्टामा खाना बनाउने, र सरसफाइ गर्दा ३-४ घण्टा मात्र ओछ्यानमा हुन्थे। त्यसमाथि घरपरिवारको यादले बेचैन बनाउँथ्यो। आफ्नै जिन्दगीदेखि उदेक लागेर आउँथ्यो।
कोरोना फैलिनुभन्दा केही महिनाअघि मात्र उनी नेपाल फर्किए। मरिगए विदेश नजाने सोचेका महेश स्वदेशमै रोजगारीका उपाय अपनाइरहेका छन्। विदेशमा गरिने दैनिक १८ घण्टाको ठाउँमा १०-१२ घण्टा मात्रै स्वदेशमा खटिए रोजगारीका लागि भौतारिनु नपर्ने सोच उतै पलाएको थियो। मेसो मिल्यो तरकारी खेती गर्ने।
तातोपानी–२ कै रमेश डाँगी ४ वर्ष कतार बसेर फर्किए। उनी अहिले कतारको नाम समेत नलिउ भन्छन्। ‘चार वर्ष साह्रै निस्ठुरी भएर बिताएँ,’ उनले बिएल नेपाली सेवालाई भने, ‘कान समातेको छु, अब विदेश जान्न भनेर। जति हुन्छ देशमै गर्ने योजना हो।’
विदेशबाट फर्केपछि उनी घर छोडेर कतै गएका छैनन्। उता हुँदा उनलाई गाउँमै तरकारी खेती गर्ने सोच पलाएको थियो। सुरुमा गाउँ आउँदा साथि नभेटिए पनि अहिले साथि भेटेपछि उनी तरकारी खेतीमा व्यस्त हुन थालेका छन्।
तातोपानी–२ का अर्का युवा भरै बुढा ३ वर्ष मलेसिया काम गरेर घर फर्किए। ‘विदेशमा गर्ने दुःख गाउँमै गर्दा आम्दानी पनि हुने। आफ्नै परिवारसँग बसेर खान पाइने सोच उतै बनेको हो,’ उनले भने।
तर साझा रूपमा लगानी गरेर सामुहिक खेती र सामुहिक लाभ लिने जमात नभेटिएकै कारण रोकिएका उनले अहिले सोच मिलेको मज्जाको टिम भेटाएर व्यवसायीक तरकारी खेतीमा जमेर लागेका छन्।
महेश, रमेश, भरै, पदम डाँगी र अर्जुन कठायतसहित पाँच जना युवाले दुई हेक्टर जमिनमा सामुहिक तरकारी खेती सुरु गरेका छन्।
कोरोना कहरका बीचमा स्वदेश फर्किएका युवाहरु बेरोजगार हुने सम्भावना बढेको छ। त्यससँगै सबै तहका सरकारका आफ्ना-आफ्ना सिमाका कारण युवाहरुले रोजगारी पाउनेमा संसय उत्पन्न भएको छ।
हरेक वर्ष असारमा आफ्नो पार्टी झोले र आसेपासेलाई मात्र पोस्न पल्केका जनप्रतिनिधिले नीति तथा कार्यक्रम र बजेटमा रोजगारीको जतिसुकै बखान गरे पनि लक्षित वर्गले सेवा लिन पाउनेमा शंका गर्ने थुप्रै ठाउँहरु छन्।
यी व्यवहार र कार्यशैलीले विदेशबाट फर्किएका युवाहरुलाई रोजगारी दिन सक्नु तीनै तहक सरकारलाई चुनौती छ।
‘सरकारले रोजगारी देला नदेला हामी तरकारी खेती गरिरहेका छौं,’ महेशले भने, ‘यसबाट रोजगारी सृजना हुने र स्थानीय बजारमा सस्तोमा तरकारी किन्न समेत पाइनेछ।’
व्यवसाय थालेको केही समयपछि यी युवाहरुले करिब १५ जनालाई रोजगारी दिने लक्ष्य राखेका छन्।
उनीहरुको तरकारी बारीमा बन्दा, आलु, मटर, प्याज, टमाटर, भन्टा, फर्सी, गाजर, लसुन, मुला लगायतका विभिन्न खाले तरकारी फल्न थालेका छन् भने केही तरकारी स्थानीय बजारमा जान थालिसकेको छ। ‘तिला अर्गानिक वाईल्ड एण्ड एग्रो’ नामक कृषि फर्म दर्ता विदेशबाट फर्केर स्वदेशमै श्रम गर्ने उनीहरुकै हो।
कोरोना कारण आयत निर्यात प्रभावित बनेपछि स्थानीय बजारमा स्थानीय उत्पादन नै पुर्याउने लक्ष उनीहरुको छ। रमेश भन्छन्, ‘धान जौ फल्ने दुई हेक्टर जमिन लिजमा लिएका छौं। मौसमी र बेमौसमी खेती गर्दै व्यवसायलाई निरन्तरता दिने र स्थानीय बजारमा स्थानीय उत्पादनको खपत गराउने योजना छ।’
आजभोलि उनीहरुका दिन तरकारी बारीमा गोडमेल गर्दै जान्छन्। ‘विदेश जानु अघि हामीले यस्तो विषयमा ध्यान पुर्याउन सकेनौं। अहिले माटोको सुगन्ध थाहा पाएका छौं। यसैले हामीलाई अगाडि बढाउनेछ,’ उनीहरु सबैको एकै आवज छ, ‘विपत्तिले आफ्नै खेतबारीमा इलम गरि आत्मनिर्भर बन्नुपर्छ, भन्ने पाठ सिकाएको छ।’
कोरोना माहामरीले गरिब मुलुकमा चरम खाद्य संकट हुन सक्ने चेतावनी विज्ञहरुले दिइरहेको समयमा कृषि मन्त्री घनश्याम भूसालले भोकमरीबाट बच्न कृषि कर्म नियमित राखौं भनिरहेका छन् भने कर्णाली प्रदेश सरकारले पनि बाँजो उपयोग गर्ने नीति लिएको छ। यसै कुरालाई आत्मसाथ गर्दै जुम्लाका युवाहरु व्यवासायिक तरकारी खेतीमा लागेका छन्।
त्यसैले सुरुमा बजारीकरणमा केही समस्या भए पनि यसबाट लाभ लिन सकिन्छ भन्ने उनीहरुको विश्वास छ। ‘भविष्यमा तरकारी पकेट क्षेत्र निर्धारण गर्न हामीले कम्तीमा पनि २० वर्षसम्म तरकारी खेतीलाई निरन्तरता दिने सोच बनाएका छौं,’ भरै बुढाले भने।
यो व्यवसायमा प्रतिव्यक्ति दुई लाख ५० हजार लागत रहेको छ। सुरुमा बीउ खरिद, फर्मको घेरा बार, किटनासक विषादी, कामदार खर्च लगायतमा सो रकम खर्च भएको महेशले बताए।
वर्षमा करिब २० देखि २५ लाख आम्दानी गर्ने लक्ष्य अनुसार तरकारी खेती थालिएको रमेशले थपे। लगानीको दायरा विस्तारै बढाउँदै उत्पादन तथा रोजगारी बढाउने सामुहिक सपना रहेको उनले सुनाए।
जुम्लामै नमुनाका रुपमा सुरु गरिएको व्यवसायिक तरकारी खेतीलाई सरकारले अनुदानको व्यवस्था गर्न सके धरैले रोजगारी पाउन सक्ने उनीहरुको राय छ। महामारीमा कृषिमा लगानी गर्दा खाद्य संकट टर्ने विज्ञहरुको सुझाएका छन्।
विज्ञहरुको सुझावलाई आत्मसाथ गर्दै तातोपानी गाउँपालिकाले आगामी आव २०७७/०७८ का लागि कृषिमा एक करोड बजेट विनियोजन गरेको छ। उत्पादन बढाएर सम्भावित जोखिम कम गरि आत्मनिर्भर हुन कृषिमा पर्याप्त बजेट विनियोजन गरिएको अध्यक्ष नवराज न्यौपानेले बताए।
‘व्यवसायीक रुपमा कृषिमा जुटेका युवालाई अनुदान दिने, कृषिमा यान्त्रीकरण गर्ने नीति लिएका छौं,’ उनले भने, ‘तातोपानी गाउँपालिकाले जग्गा बाँझो राख्न नपाइने नीति लिएको छ।’
पछिल्लो समय जिल्लामा बाँझो जग्गा उपयोग गर्नेको संख्या बढिरहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। ‘बाँझो जग्गा उपयोगका साथै व्यावसायिक तरकारी खेतीमा पनि ध्यान दिइएको छ,’ उनले भने, ‘यो वर्ष पचास हेक्टर जमिनमा तरकारी खेती भइरहेको छ।’