साउन ७ गतेसम्म बन्दाबन्दी हुने भयो नेपाल

नेपालमा बन्दाबन्दी साउन ७ गतेसम्म बढाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। बैठकले अहिलेकै अवस्थाको बन्दाबन्दीलाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले असार १ गते देखि बन्दाबन्दी खुकुलो गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार अहिले स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्बन्धी काम, उत्पादनशील उद्योग, निर्माण उद्योग, सबै प्रकारका ढुवानी र पुस्तक पसललगायतका सेवा खुला गरिएको छ । यही अवस्थालाई कायम राख्दै बन्दाबन्दीको अवधि बढाइएको हो। 

यसैगरी साउन ७ गतेसम्म नै हवाइ उडान बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको बताइएको छ। तर, एक मन्त्रीले यसबारेमा छलफल गरिएको भए पनि निर्णय नलिइएको बताए । 

प्रकाशित मिति: : 2020-06-29 21:11:13

प्रतिकृया दिनुहोस्