कोरोना निको पार्ने औषधि बनेको भन्दै भ्रम छरेको आरोपमा रामदेवसहित ५ जनाविरुद्ध उजुरी

कोरोना भाइरस (काेभिड–१९) विरुद्ध औषधि बनाएको भन्दै भ्रम छरेको आरोपमा योगगुरु रामदेवसहित पाँच जनाविरुद्ध उजुरी परेको छ।

योगगुरु रामदेवसहित उनीद्वारा स्थापित पतञ्जलि आयुर्वेद लिमिटेड सीईओ बालकृष्ण आचार्य, त्यसैका कर्मचारी अनुराग वार्ष्णेय, नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज एन्ड रिसर्च (एनआईएमएस) का अध्यक्ष बलवीरसिंह तोमर र निर्देशक अनुरागसिंह तमोरविरुद्ध प्रहरीमा उजुरी परेको हो।

पतन्जलि आयुर्वेद लिमिटेडले हालै तीनदेखि सात दिनमै कोरोना निको पार्ने भन्दै ‘कोरोनिल र स्वासरी’ नामको आयुर्वेदिक औषधि प्रचारप्रसार गरेको थियो।

पतञ्जलिले जयपुरस्थित एनआईएमएससँग मिलेर १०० जनामा यो औषधि परीक्षण गरिएको र कोरोना निको पार्ने देखिएको दाबी गरेको थियो।

केही व्यक्तिले गरेको गुनासाका आधारमा जयपुरस्थित ज्योति नगर प्रहरी स्टेसनमा वकिल बलवीर जाखडले शनिबार उनीहरूविरुद्ध उजुरी दर्ता गरेका हुन्। 

रामदेवसहित पाँच व्यक्तिविरुद्ध भारतीय दण्ड संहिताको धारा ४२० (धोखाधडी) र औषधि एवं चामत्कारिक उपचार (आपत्तिजनक विज्ञापन) अधिनियम, १९५४ को धारा ४ (७) बमोजिम उजुरी गरिएको हो।

उजुरीमा भनिएको छ,‘उक्त औषधि भारतको स्वास्थ्य मामिला हेर्ने केन्द्रीय आयुष मन्त्रालयको स्वीकृतिबिनै सार्वजनिक गरिएको हो।’

तर मन्त्रालयले रामदेवको कम्पनी पतन्जलिलाई त्यसबारे बिस्तृत छानविन नभएसम्म सो प्रचार बन्द गर्न निर्देशन दिसकेको छ। र मन्त्रालयले उत्तराखण्ड प्रदेश सरकारलाई पनि पतन्जलिलाई ‘कोरोनिल’ उत्पादन गर्न दिइएको लाइसेन्सको प्रति र अन्य विवरण उपलब्ध गराउन भनेको छ।

पतन्जलिको मुख्य कार्यालय उत्तराखण्ड प्रदेशको हरिद्वारमा रहेको छ। त्यसैगरी, सो मन्त्रालयले सम्बन्धित निकायहरुसँग उसलाई दिएका लाइसेन्स लगायतका विवरण तथा स्वीकृतिबारेका जानकारी मागेको छ।

यद्यपी वकिल जाखडको आरोप छ, ‘न केन्द्र न राजस्थान सरकार कहीं पनि दर्ता नगरी बिनाप्रमाण कोरोना निको पार्ने भन्दै कोरोनिल औषधि सार्वजनिक गरेर आम जनताको जीवनमा खेलबाड गरिएको छ।’

प्रहरीका एडिसनल कमिसनर अशोक गुप्ताले आइतबार दिएको जानकारीअनुसार उनीहरूविरुद्ध उजुरी परे पनि अहिलेसम्म कोही पक्राउ गरिएको छैन।

प्रकाशित मिति: : 2020-06-29 08:21:15

प्रतिकृया दिनुहोस्