१ सय ६८ केजीकी सुत्केरी मेरिना भन्छिन्- मृत्युको मुखबाट जितेर आएजस्तो भएको छ (भिडियाे)

सेतोपाटी

काठमाडाैं

‘हाम्रो समाजमा मोटो मान्छेलाई बच्चै हुँदैन भनेर हेप्ने गरिन्छ, त्यो गलत हो’ ३१ वर्षीया मेरिना हमालले दोस्रो सन्तानका रुपमा छोरी जन्माएपछि सेतोपाटीसँगको कुराकानीमा भनिन्।

सम्भवत नेपालमा पहिलो पटक १ सय ६८ केजी तौल भएकी महिलाले स्वस्थ बच्चा जन्माएकी छन्। तर उनलाई यो समाजले मोटो भनेर हेयको दृष्टिले हेरेको भने पटक्कै चित्त बुझेको छैन।

वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टोलीले सफलतापूर्वक ती महिलाको शल्यक्रियामार्फत् बच्चा निकालेको हो।

डा. शर्मा नेतृत्वको चिकित्सकीय टोलीले करिब १ घण्टा १० मिनेट लगाएर नर्भिक अस्पतालमा शल्यक्रिया गरेको थियो।

‘मैले स्वस्थ बच्चा जन्माएकी छु, म पहिला धेरै आत्तिएकी थिएँ, बाँच्दिनँ होला भन्ने लागेको थियो’ मेरिनाले भनिन् ‘पहिलो बच्चा जन्माउँदा यति गाह्रो भएको थिएन। दोस्रो पटक कठिन भयो। मलाई डा. नुतन शर्माकै साथले सुरक्षित अनुभव भएको हो।’

आफूलाई मोटो छु भनेर हिनभावले सोच्न नहुने र बाहिर समाजमा निस्कनुपर्ने उनको सुझाव छ।

विदेशमा आफूभन्दा धेरै मोटा मानिस हुने भए पनि नेपालमा आफूलाई देख्दा हास्ने, फोटो र भिडियो खिच्नेजस्ता आचरण देखिएको उनले बताइन्।

प्रकाशित मिति: : 2020-06-28 22:17:24

प्रतिकृया दिनुहोस्