अछाममा क्वारेन्टाइनमा बसेर घर गएका एक व्यक्तिको मृत्यु

अछाममा क्वारेन्टाइनमा बसेर घर गएका एक व्यक्तिको मृत्यु भएको छ। 

रामारोशन गाउँपालिका ५ स्थित एक विद्यालयको क्वारेन्टाइनमा बसेर घर गएका सोही ठाउँका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।उनी जेठ २७ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए।

गाउँपालिकाका स्वास्थ्य शाखा निरीक्षक प्रभुनाथ देवकोटाका अनुसार असार १० गते आरडीटी टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीसहित १७ जनालाई होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाएको देवकोटाको भनाइ छ।

देवकोटाले भने, ‘शनिबार दिउँसो करिब १२/१ बजेको समयमा अचानक उनको स्वास्थ्यमा समस्या भएको जानकारी आयो। श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने तथा पखाला लाग्ने भएछ। त्यसपछि जिल्ला अस्पताल अछाम पठाएका थियौं। तर त्यहाँ बेड खाली नभएका कारण बयलपाटा अस्पताल पुर्‍याएका थियौं।’

उनले उपचारको क्रममा आइतबार बिहान साढे ८ बजेतिर मृत्यु भएको जानकारी दिए।

कोरोना परीक्षणका लागि मृतकको स्वाब संकलन गरी धनगढी पठाइएको उनले बताए।

मृतकको शवलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवस्थापनको तयारी भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-06-28 19:24:47

प्रतिकृया दिनुहोस्